सिद्धान्तकार : बालकृष्ण सम



डा. गोविन्दशरण उपाध्याय ।

बालकृष्ण सम राणा परिवारमा जन्मिए –यो उनको अपराध होइन । उनले राणा परिवारमा पाउने सुविधा पाए त्यो उनको अधिकार हो । अरू पनि राणाहरू थिए – बालकृष्ण राणा भन्दा धनी थिए, रवाफिला थिए तर तिनले समको बाटो समातेन् । समले केवल १२ क्लास पास गरेका हुन् तर आजको मितिमा १३ जनाले तिनका कृतिहरूमा पिएचडी गरिसकेका छन् । यो गौरव उनले राणा भएर प्राप्त गरेका होइनन्, लेखक, नाटककार, कविताकार तथा निवन्धकार बनेर प्राप्त गरेका हुन् ।

बालकृष्ण समको निधन हुँदा नेपालमा टेलिभिजन आएको थिएन । इन्टरनेट हुने त कुरै भएन । बालकृष्ण सम इतिहास बनेका छन् । उनी सम्झन लायक इतिहास हुन् । उनका समकालीन र उनलाई देख्न नपाएका समालोचक, आलोचक र प्रसंशकहरूका दृष्टिकोण फरक होलान् ।उनी बौद्धिक आलोचनाका पात्र बने पनि गतार्थ बनेका छैनन् । माघ २५ गते समको जन्मजयन्ती मनाइने छ । विद्वानहरूले आ–आफ्नो सुझबुझ अनुसार बालकृष्णको चर्चा गर्ने छन् । दर्शनशास्त्रमा अभिरुचि राख्नेहरूले ‘नियमित आकस्मिकता’का प्रणेताका रूपमा समलाई सम्झिनु पर्छ । हो, विश्वविद्यालयमा प्राध्यापन गर्ने दार्शनिकहरूका लागि ‘नियमित आकस्मिकता’ दर्शनशास्त्रको शास्त्रीय कसीमा ‘खरो’ नहोला तर नेपाली आकाशबाट ‘सिद्धान्त निर्माण’ गरेको घोषणा गर्ने उनी पहिलो पात्र हुन् ।

बालकृष्ण समको जीवन विश्व राजनीतिमा मार्क्सवाद र पूँजीवादको द्वन्दभित्र परेको थियो । मार्क्सवादी सोभियत युनियनको अन्त्य हुँदा बालकृष्ण सम संसारमा थिएनन् तर नेपाली राजनीति, शिक्षा तथा संस्कृतिका क्षेत्रमा मार्क्सवाद र पुँजीवादले पारेको प्रभाव तथा नेपालका स्थानीय संस्कृतिसंग ती दूवै विचारधाराहरूको द्वन्द राम्ररी बुझेका थिए । त्यसैले होला, उनी पुँजीवादी, साम्यवादी वा परम्परावादी केही भएनन् । उनी ‘मान्छे र विज्ञानको भक्त’ भएर मरे । साम्यवादीहरूले ‘भौतिकवादीका रूपमा, पुँजीवादीहरूले मानवतावादीको रूपमा र परम्परावादीहरूले ‘मौन आध्यात्मिक साधक’का रूपमा बूझे ।

आज बालकृष्ण सम जे–जस्तो रूपमा उपस्थित छन्, त्यो उनको लिखितम् नै हो । उनका ‘लिखितम’बाट जसको जस्तो दृष्टिकोण, विश्वास र बुझाई छ, त्यसैगरी समको ब्याख्या गर्ने छन् । यो प्रक्रिया चलिनै रहन्छ । मेरो दृष्टिकोणमा भने समको समग्र जीवन दर्शन चारजना व्यक्तिहरूको वरिपरी घुमेको छ – महर्षि पतंजली, महात्मा बुद्ध, कवि सेक्सपीयर र मनोबैज्ञानिक फ्रायड । नियमित आकस्मिकतामा प्रष्टसँग उनले उपर्युक्त व्यक्तिहरूका मौलिक सिद्धान्तहरूले जीवन दर्शन निर्देशित भएको बताएका छन् । बालकृष्ण समले कार्लमार्क्सको आलोचना गरेका छैनन् न् प्रशंसा नै गरेका छन् । यसैगरी उनले जर्ज वासिग्टनलाई ‘प्रजातन्त्रका पिता’ पनि मानेका छैनन् न आलोचना नै गरेका छन् । साथै, नेपालकै मौलिकताप्रति पनि उनी त्यतिधेरै आकर्षित छैनन् । उनले विश्वका सबै असल सिद्धान्तहरूबाट असल सार ग्रहण गरे । उनी मार्क्सवादी, प्रजातन्त्रवादी, मौलिकतावादी सबैभन्दा बढी ‘मौलिक मानवतावाद’का पक्षमा उभिए । उनले आफ्नो भौतिक जीवनलाई महत्व दिएर आम नेपालीहरूलाई आफ्नो एकमात्र शरीरलाई माया गर्नु पर्ने सन्देश दिए भने बुद्धलाई आदर्श मानेर “माध्यममार्ग“ अवलम्बन गर्न सुझाए ।

आधुनिक विज्ञान र प्राचीन सिद्धान्तकारहरूलाई जोडेर ‘नियमित आकस्मिकता’को बौद्धिक महल खडा गरेर बालकृष्ण समले सिद्धान्तकारको पक्तिमा आफुलाई उभ्याएका छन् । पढ्दा, सम विज्ञानका बढी नै भक्त भएको प्रतीत हुन्छ तर सेक्सपियर र बुद्धलाई सँगै उभ्याएर उनले मानवीय ‘भावना र चेतना’को पनि उत्तिकै सम्मान गरेका छन् । दार्शनिक दृष्टिकोणले नियमित आकस्मिकता आत्मउच्च्देदवादी वा ‘गङ्गा गए गङ्गाराम जमुना गए जमुनाराम’ जस्तो दार्शनिक सिद्धान्त प्रतीत हुन्छ तर उनले आफ्नो बौद्धिक विश्वमा ‘नियमित आकस्मिकता’ विश्वदृष्टिकोणको निर्माण गरेर आफू र सम्पूर्ण विश्वलाई त्यससँग जोडे । यस्तो खूवी सिद्धान्तकारमा मात्र हुन्छ, सबैमा हुँदैन ।

नेपाली प्रगतिवादले समलाई आफ्नो ठान्दैन किनभने उनी मार्क्सवादीको परिचयबाट टाढा रहे । समाजवादीहरू पनि बालकृष्ण समलाई आफ्नो ठान्दैनन् किनभने उनी ‘सैद्धान्तिक समाजवाद’भन्दा व्याबहारिक समाजवाद “सम“को बाटो रोजे । नेपाली धार्मिक वृत्तले पनि बालकृष्ण समप्रति अपनत्व ग्रहण गर्दैनन् किनभने उनले धर्म र धार्मिकतासँग जोडिएका अन्धविश्वासहरूको कटु आलोचना गरे, आफूलाई नास्तिकको कित्तामा उभ्याए ।

बालकृष्ण समले धर्मबाट जिसस क्राइस्टलाई बोक्नुको सट्टा बुद्धलाई अपनाए । किनभने बुद्धले सधैं सहअस्तित्वको वकालत गरे । बालकृष्ण समले अपनाएका पतंजली धार्मिक गुरू होइनन् ।उनी भौतिक स्वास्थ्य र मानसिक स्वास्थ्यका अभियन्ता हुन् जसले मानव–समाजलाई स्वास्थ्य रहने सीप सिकाए । फ्राइडले आम मान्छेको मानसिकता प्रदर्शित गर्छन् जुन प्रवृत्तिले गर्दा मान्छेको संसार पुस्तापुस्तामा अगाडी बढ्छ । स्वास्थ्य जीवन पतंजलीबाट, कल्पनाशील विचार सेक्सपियरबाट, दुःख नरूचाउने चेतना बुद्धबाट र सृष्टिको निरन्तरताको पाठ फ्रायडबाट लिएर समले ‘नियमित आकस्मिकता’ गढे ।

बालकृष्ण समको दृष्टिकोणमा विश्व, चेतना, मानव समाज र यसको प्रगति विकास र विनाश सबै ‘नियमित आकस्मिकता’ गणितीय सूत्रमा सुनिश्चित छन् । यदि ईश्वर छ भने त्यो पनि नियमित आकस्मिकताको कारण छ र छैन भने पनि नियमित आकस्मिकताकै कारण छैन – भन्ने समको विचार निकै क्रान्तिकारी छ । बालकृष्णको नियमित आकस्मिकता दार्शनिक रूपमा पूर्वनिर्धारित अनिवार्य शक्तिहरू जसले मानवीय सङ्कल्प स्वतन्त्रतालाई अस्वीकार गर्छ तर पनि यो दैवी सिद्धान्त र भौतिकवादी सिद्धान्तहरूजस्तो कठोर छैन । दैवीहरूले भौतिकवाद र भौतिकवादले दैवीवादको निराकरण गर्छन् तर नियमित आकस्मिकताले आकस्मिक नियमिततामा भर पर्छ ।

–हाम्रो समाजले ‘सिद्धान्तकार’ बन्ने आत्मविश्वास गुमाइसकेको छ । दुर्भाग्यवस हाम्रा विश्वविद्यालयहरूले ‘तिमीहरू सिद्धान्त विनिर्माण गर्न सक्दैनौ । सिद्धान्त निर्माण गर्ने काम र क्षमता अक्सफोर्ड, क्यम्बिजहरूसंग छ वा मार्क्स–इंगलहरूसंग छ’ भन्ने आत्मअवमूल्यन गर्ने शिक्षा प्रदान गरिरहेको परिवेशमा बालकृष्ण समले ‘नियमित आकस्मिकता’को विनिर्माण गरे । नेपालीमात्र होइन, यो दक्षिण एसियाली क्षेत्रका लागि गौरवको विषय हो । भारतीयहरूले वैदिक पुनर्जागरणका पक्षमा स्थापित सिद्धान्तहरूको समसामयिक व्याख्या गरेका छन् । केहीले पुनर्व्याख्यालाई अस्वीकार गरेका छन् । तर बालकृष्ण समले पुराना र नया, त्यो पनि पूर्वर पश्चिम दूवैतिरबाट ग्रहण गरेर ‘नियमित आकस्मिकता’ बनाएका छन् । बालकृष्ण सम नवीनतम दार्शनिक सिद्धान्तका नेपाली प्रतिपादक हुन् । हामीले गौरव गर्नुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा

माओवादीको ‘जनयुद्ध’ र सर्वोच्चको आदेश

ऋषि कट्टेल । माआवादीले सबैभन्दा धेरै अपनत्व लिएको र जनयुद्धको सबैभन्दा ठूलो उपलब्धी

मातृभाषामा विज्ञान खै ?

डा. गोविन्दशरण उपाध्याय । मैले धेरै पटक उठाएको र आफैंले भोगेको कुरा हो–नेपाली