विहानविहानै
डा. गोविन्दशरण उपाध्याय ।
एकातिर नेपाल विश्वको प्राचीनतम संस्कृति भएको देश हो भन्दै गौरव बखान गर्ने तर मार्क्स–माओ, लिंकन, जर्ज वासिंटनको पूजा गर्ने
दोश्रोतिर नेपाल धर्म, संस्कृति, ज्ञानको अखण्ड साधनास्थल हो भन्दै भाषण ठोक्ने तर रेफरेन्स दिंदा अक्सफोर्ड, क्याम्ब्रिजलाई मात्र विश्वास गर्ने
तेश्रोतिर, भोट दिने बखतमा मार्क्स र अक्सफोर्डका भक्तहरूलाई दिने अनि, हाम्रो धर्म, संस्कृति, परम्परामा आधात भयो, धर्म परिवर्तनलाई प्रश्रय मिल्यो भन्दै चिन्ता गर्ने
चौथोतिर समसामयिक नेपालको प्रगतिको लागि प्राचीन इतिहासबाट सिकाई र विदेशीहरूले गरेको ‘विकासबाट’ शिक्षा प्राप्त गरेर मात्र हुन्छ । विहान उठ्ने वित्तिकै आफैले चुनेर पठाएका नेताले ‘सबै ध्वस्त पारे’ भन्दै सत्तोसराप गरेर कुनै परिवर्तन हुँदैन । पाँचौंतिर, विकृतिहरूको बखान सुनेर हाम्रा बालबालिकाहरूले आफ्नो मन, बुद्धि र बसाई विदेशतिर फर्काइसकेका छन् । खासगरी सुकिलामुकिलाहरूको बृद्धवस्था छोराछोरीका फोटाहरू फेसबुकमा हेर्दै एक्लाएक्लै वित्ने सुनिश्चित छ ।
को सँग गुनासो गरौँ ! यहाँ गुनासाका भारी छन् । नेताहरूले जनतालाई खराव देख्छन्, जनताले नेतालाई ! हामी नेपाली यस्तो देशको नागरिक बनेको छौँ जसले नेपालको राजनीति देश निर्माणका लागि हो कि विध्वंसका लागि बुझ्न सकिरहेका छैनौं वा बुझेर पनि बूझ पचाएका छौँ ?
हजारपटक सकारात्मक दृष्टिकोणले चिन्तन गर्दा पनि पनि निश्चय गर्न नेपाली राजनीति देशका लागि हो कि विदेशका लागि भेउ पाउन सकेको छैन । गणतन्त्रका झोलेहरूले गणतन्त्रको पक्ष लिन्छन्, राजतन्त्रका झोलेहरू राजाको कुरा गर्छन् । जनताले निराशा पाउँछन्, आलोचनाका लागि अर्को मसाला पाउँछन् ।
अन्त्यमा, नेपाली जनताले गर्न जानेको आलोचना र नेपाली नेताले दिन जानेको सुशासनको आश्वासनमात्र हो भन्ने बुझ्न किन यतिबिघ्न अफ्ठ्यारो भएको हो । गणतन्त्र, लोकतन्त्र, प्रजातन्त्र, राजतन्त्रको गुण गाएर देशमा सुधार हुँदैन । सुधारको लागि सुधारिएको भोट र आत्म मन्थन नै हो, प्रतिमान परिवर्तनको दिशा नै हो ।