नेपालमा तथ्याङ्क बन्छ कि मिथ्याङ्क ?



मित्रलाल सापकोटा

पछिल्लो समय नेपालमा कतिपय क्षेत्रमा निकै सुधार भएको भनेर सरकारहरुले र केही खटाइएका आइएनजीओमार्फत तथ्याङ्क बनाएर प्रस्तुत गरिएको छ । कपूस सरकारका भरियाहरुले यस्तै तथ्याङ्कहरु समाजिक सञ्जालमा राखेर देशमा निकै प्रगति भएको कामैकाम भएको, सरकारले उधुमै गरेको जस्तो गरि प्रचारबाजी गर्दैछन् । हिजोको अवस्था नियालेका केहि व्यक्तिहरुले यसमा तुलनात्मक टिप्पणी गर्दा उनीहरुलाई तथानाम भन्ने र वर्तमान सत्ताका ताबेदारहरु बाहेक नेपालमा न हिजो कोहि जन्मेको थियो न भविष्यमा कोही जन्मिन्छ भन्ने जस्तो गरि भन्ने गरेको पनि पाइयो । नेपाल आजका कम्यूनिष्ट पूँजीवादी समाजवादीहरु जन्मिनु भन्दा पनि पहिल्यैदेखि थियो । देशकै रुपमा थियो । कुनै कालखण्डमा आजको भन्दा सम्पन्न पनि थियो । शक्तिशाली पनि थियो । याहाँका जनताले आज भन्दा खुशीका साथ आत्मनिर्भरताका साथ गरि खाएका थिए भन्ने कुरा कपुसहरुले जतिसुकै तथ्याङ्क प्रस्तुत गरेपनि छोपिन सक्दैन । नेपालको स्वाभिमान, नेपालको अन्तिराष्ट्रिय छवि, नेपालीको गरिखाने बानी, नेपाली कृषिमा रहेको मौलिक प्रविधिको प्रचलन र आत्मनिर्भरता, नेपालीमा रहेको देशप्रेम, आज यिनीहरुको शासनकालमा भन्दा सयौं गुणा राम्रो र मजबुत थियो भन्ने कुरा इतिहास र त्यस बेलाका तथ्याङ्क, पुराना व्यक्तिहरुले देखेको भोगेको अनुभवका आधारमा भन्न सकिन्छ ।

मैले यसो भनेर नेपाल र नेपालीहरु सधैं इतिहासको बन्दी बन्नुपर्छ भन्न खोजेको कतै होइन तर अहिले जुन रुपमा नेपालका पुराना राम्रा कुराहरुकलाई बङ्ग्याउने, गलत प्रचार गर्ने र वर्तमानमा मिथाङ्क प्रस्तुत गर्ने गरिएको छ त्यस सन्दर्भमा इतिहासलाई सन्दर्भको रुपमा प्रस्तुत गर्नैपर्ने भएको गरिएको हो ।ज नेपालीको प्रतिव्यक्ति आय बढेको भनिएको छ । समय अनुसार भएको विज्ञान र प्रविधिको विकास, वैदेशिक रोजगारीमा गएका नेपालीले भित्र्याएको विप्रेषण आदिले मौद्रिक रुपमा केहि बढेको त हो तर जुन रुपमा बढ्यो भन्ने तथ्याङ्क छ त्यो पुरै सत्य हुँदै होइन । यो कसरी बढ्यो र तथ्याङ्क कसरी बन्छ त्यो पनि हेर्न जरुरी छ ।

नेपालको कुल अर्थतन्त्रको लगभग ८० प्रतिशत हिस्सा १०–२० वटा ठूला मारवाडी घरानाको कब्जामा रहेको छ । त्यसपछिको १० देखि १५ प्रतिशत हिस्सा ती भन्दा साना र औसत नेपालीहरु भन्दा माथि रहेका व्यक्तिहरु र राजनीतिक नेताहरुको कब्जामा रहेको छ । अब बचेको ६–७ प्रतिशत अर्थतन्त्रको हिस्सामा ९५ प्रतिशत आम नेपालीसँग छ । तर जब प्रतिव्यक्ति आय गणना गरिन्छ त्यसमा ती माथिल्लो ९५ प्रतिशत हिस्सा ओगटेका ५ प्रतिशत जनसंख्याको पनि आम्दानी सबै नेपालीको आयमा औसत बितरण हुन्छ । यसले तथ्याङकीय हिसाबले त प्रतिब्यक्ति आय बढेको देखाउँछ तर धरातलीय हिसाबमा आम नेपालीको आय बढेको हुँदैन । समग्रमा वास्तविक आयको समानुपातिक वितरणको हिसाबले प्रतिव्यक्ति आय पहिला भन्दा घटेको छ ।

कम्यूनिष्ट पूँजीवादी र समाजवादीहरुको तथ्याङ्क बनाएर जनतालाई बेहकुफ बनाउने यो बडो गज्जबको तरिका रहेको छ । जनताको आधारभूत आवश्यकता र जनताको गरिखाने जीवनस्तरमा यिनीहरुलाई कुनै परिवर्तन आउनु पर्दैन । जनवादी केन्द्रियताको नाममा यिनका केहि नेताहरु सम्पन्न भए देश नै सम्पन्न भएको ब्याख्या गर्ने कम्यूनिष्टको चरित्र नै हो । केही निश्चित ब्यापारीहरुको कब्जामा देशको अर्थतन्त्र एकत्रित हुनुलाई विकास र समृद्धि भन्नु पूँजिवादीहरुको चरित्र हो । पार्टीको ट्याग लगाएर जसलाई जे मनलाग्यो, जसले जसलाई धम्क्याउन र लूट्न सक्यो धम्क्याउने र लुट्ने विचार नमिले कुट्ने समाजवादीहरुको चरित्र हो ।

यिनीहरु कसैलाई पनि देशको लागि स्वेदशमा आफ्नै जनताले अन्न उत्पादन गरेको हुनुपर्दैन । विदेशीका समान बेच्ने बजार बनाएर यहाँ शहरीकरणको चर्चा गरिन्छ । देश शहरै शहर भएको, शहरिया जीवन बढेको तथ्याङ्क प्रस्तुत गरेर विकासको न्यारेटिभ तयार गरिन्छ । नेपालको आवश्यकताको अध्ययन अध्यापन गराइँदैन । विदेशको इतिहास, विदेशीको भाषा सँस्कृति, विदेशी उत्पादनका कथाहरु, विदेशीको भूगोलको प्रशंसा गर्ने भाष्य निर्माण गरेर त्यहि पढाएर नेपाली बालबालिकाहरुलाई साक्षर बनाइन्छ तर शिक्षित कहिल्यै बनाइँदैन । यहाँ नेपालको आवश्यकता अनुरुपको प्राविधिक शिक्षा, नेपालको मौलिक विज्ञानको निरन्तरता र यसको विकासको शिक्षा, नेपाली बिऊविजन, वनस्पति, पशुनश्लको संरक्षण र यसको स्वेदशी प्रविधिमा सुधारका ज्ञानहरु पढाइँदैन । आफ्नो मौलिक चिज कसरी मासेर अरुको बजार तयार गर्ने भन्ने शिक्षा पढाएर शिक्षामा शिक्षाको विकास भएको तथ्याङ्क बनाइन्छ ।

देशमा अहिले यिनै कपुसहरुले नै निकै चर्चामा ल्याएको भ्रष्टाचारको कथा पनि नियोजित प्रोपगेण्डा मात्रै हो । यिनीहरुले जसरी भ्रष्टाचार कम भयो, भ्रष्टाचारका फाइल खोलेका छौं भनेर डम्फू बजाइरहेका छन् त्यो सब जनतालाई गलत कुरा पस्केर आफु चोखिने प्रपञ्च मात्रै हो । आफु र आफ्ना काला करतुतहरु लुकाउने योजना हो । सत्तामा रहिरहन भागबण्डा मिलाउन बार्गेनिङ मिलाउने कुकर्म मात्रै हो ।

पहिलो कुरा यो आज भ्रष्टाचारका फाइलको कुरा गरिरहेका छन् त्यो कसले गरेको भ्रष्टाचार हो ? के आम नेपालीले गरेको भ्रष्टाचार हो त ? यिनै कपूसका नेता र यिनैले पालेपोसेका ठेकेदारहरुले गरेको भ्रष्टाचार होइन र ? २०४६ साल यता जे जति पनि काण्डहरु भए चाहे त्यो लाउडा काण्ड, धमिजा काण्ड, टनकपुरको २७७ मीटर जमीन बेचेर समझदारी भन्ने काण्ड, महाकाली पञ्चेश्वर बेचेर त्यसको बिजुली सेटेलाइटबाट बेचेर खर्बौ रुपैंया नेपालीलाई आम्दानी हुन्छ भन्ने काण्ड, सासंद खरिदबिक्रि सुरासुन्दरी हङ्कङ थाइल्याण्ड काण्ड, द्धन्दको नाममा हातहतियार खरिद काण्ड, डारफोर यूएन मिशनको लागि आर्शनल भ्याकल खरिद काण्ड, प्रहरीको खुराक र पोशाकमा घपला काण्ड, खोलानाला बिक्रि काण्ड, १२ बुँदे देश बेचुवा दिल्ली सम्झौता काण्ड, क्याण्टोनमेन्टमा अर्बौ झ्वाम पार्ने काण्ड, द्धन्दको नाममा बैंक फोर्ने र सार्वजनिक सम्पत्ति चोर्ने काण्ड, संसद किन्न चीनसँग पैसा माग्ने काण्ड, सेक्यूरिटी प्रेस खरिद काण्ड, चीनसँग जहाज खरिद काण्ड, वाइड बडी न्यारो बडी जहाज खरिद काण्ड, यति ओम्नी काण्ड, हेलिकप्टरमा केक लिएर उडेको काण्ड, हुलाकी राजमार्गं सधैं उहि ठेकेदारलाई दिने तर काम कहिल्यै नहुने काण्ड, कालोसूचीका र कहिल्यै गतिलो काम नगर्ने ठेकेदारलाई सधैं काम दिने काण्ड, देशैभरि राजनीतिक कार्यकतालार्ई तलबभत्ता दिने काण्ड, साझा यातायात देखि सबै सार्वजनिक संस्थान डुबाउने र कमिशन खाएर कौडीको भाउमा दुई नागरिकता भएकाहरुलाई टक्र्याउने काण्ड, कोरोनामा औषधी खरिद घपला काण्ड, एनसेल कर छूट काण्ड, ठूला औधोगिक घरनालाई बिजुली र कर माफ काण्ड, हत्याराहरुलाई आम माफि काण्ड, बलात्कारी कहिल्यै फेला नपर्ने काण्ड, रसायनिक मल कहिल्यै समयमा नआउने काण्ड, सार्वजनिक र गुठीका सम्पत्ति अमुक पार्टी कार्यकर्ता लगाएर कब्जा गराउने काण्ड, ललिता निवास काण्ड, यूनिटी लाइफ र सहकारीहरुमा ठगी काण्ड, नेपालीलाई भूटानी र बंगलादेशीलाई नेपाली बनाएर विदेश छिराउने काण्ड, भारतीयलाई नेपाली नागरिकता दिने सातदलीय संयन्त्र र नागरिकता कानून काण्ड, छोरीज्वाइँ छोराबुहारी सम्धी सम्धन सबैलाई सत्तासीन बनाउने काण्ड, समानुपातिक सांसद टिकट बिक्रि काण्ड, रातो पासपोर्ट बिक्री काण्ड, अर्थमन्त्रालयको सीसीटिभीको तार नै काटेर अवैधानिक व्यक्तिलाई करको दर मिलाउन खटाएर देशको राजश्वमा लूट मचाउने काण्ड, देशभित्रै सेनेटरी प्याड बनाउने अवस्था हुँदाहुँदै पनि नेताको छोराको आयात ब्यापार चलाउन र कमाउनका लागि प्याडमा भन्सार छूट गर्ने काण्ड, आयल निगम र वायुसेवा निगममा भर्ती देखि मिलोमतो काण्ड, एयरपोर्टमा बत्ति निभाएर जीप भरेर सुन भित्र्याउने देखि भ्रमणमा भन्दै विदेशतिर जाँदै वा भरिया लगाउँदै क्वीन्टलका क्वीन्टल सुन ल्याउने काण्ड, बुढीगण्डकी आयोजना काण्ड, नेपाल ट्रस्टको जग्गा भाडा र ब्यवस्थापन काण्ड, गोकर्ण रिसोर्ट काण्ड, बन्द भएका संस्थानका नाममा बजेट छुट्याउँदै कार्यकर्ता पाल्दै गर्ने काण्ड, एमालेका ५१ भ्रष्टाचार काण्ड, होलीवाइन काण्ड, सेज निर्माण काण्ड, विश्वविद्यालय ध्वस्त काण्ड, नयाँ विश्वविद्यालय निर्माणको नाउँमा ब्रम्हलूट काण्ड, भ्यूटावर काण्ड, स्थानीय पालिकामा कानून बनाएर बजेट दुरुपयोग काण्ड, नेता र कार्यकर्ताको उपचारका नाममा सरकारी बजेट वितरण काण्ड, विदेशी पोस्ने नेपाल रित्याउने नितिगत निर्णयका अनगिन्ती काण्डहरु । यस्ता कति हो कति काण्ड छन् जुन काण्डहरु यिनै कम्यूनिष्ट पूँजीवादी र समाजवादीका नेता, यिनका आफन्त र यिनीहरुले संरक्षण गरेकाहरुले नै गरेका छन् ।

यहाँ वास्तविक दोषिलाई कहाँ र कहिले सजाँय भएको छ ? यिनीहरुको ३३ बर्षको शासनमा कतिजनाले यस्ता काण्डहरु मचाए यसको फेहरिस्त बनाएरै साध्य छैन । सबै यिनीहरु मिलेर भाग लगाउने र आफ्नो मान्छे खटाएर सबै चोख्याउने धन्दा चलेको चल्यै त छ ।
पछिल्लो समय अर्को तथ्याङ्क पनि आएको छ लोकतन्त्रमा सुधार आयो भन्ने । पहिला त नेपालमा भएको लोकतन्त्रको चर्चा गर्नैपर्छ । यहाँको लोकतन्त्र लेख्न र बोल्न मात्रै पाउने हो, त्यो पनि नसुनिने बोलाइ र लेखाइ मात्रै हो । केही तोकिएका मिडिया भाइहरु तयार गरेर सत्तासँगको भागबण्डामा लेख्ने र बोल्नेलाई कसरी लोकतन्त्रमा लेख्ने र बोल्ने अधिकार सुनिश्चत भएको भन्ने ? जनताले बोलेको लेखेको जहाँ सत्ताले सुन्दैन त्यसलाई लोकतन्त्रमा लेख्न र बोल्न पाएको अधिकार कसरी भन्ने ?

नेपालमा त राजनीतिक व्यक्ति लोकतान्त्रिक हुन छोडेको छ । संस्थाहरु झन अलोकतान्त्रिक भएका छन् । हरेक ठाँउमा चुनिने र उम्मेदवार बन्ने व्यक्तिगत स्वतन्त्रता खोसिएको छ । पहिला टिकट बेचिन्छ । आफन्त छानिन्छ । निर्वाचन सिण्डिकेट तयार गरेर लडिन्छ । सरकार भागबण्डा गरेर चल्छ । सरकार टिकाउन हत्यारा, अपराधी बलात्कारी भ्रष्ट सबैलाई आम माफि दिएर सरकारमा राखिन्छ र सरकार टिकाइन्छ । अनि लोकतन्त्रमा सुधार आएको भन्ने कुरा कसरी सत्य हुन्छ ? निर्वाचन मै सहमती र भागबन्डाको संस्कारले लोकतन्त्रमा सुधार भएको त भन्नै मिल्दैन । पार्टीहरुको सिण्डिकेट बनाएर, भागबण्डा मिलाएर गरिने निर्वाचनले वास्तविक लोकतन्त्रको प्रतिनिधित्व गर्न सक्दैन । आरक्षण, कोटा, भागबन्डा आदिबाट गरिएको चुनिएकोलाई लोकतान्त्रिक प्रक्रिया सुध्रेको भनेर तथ्यांक बनाउने काम सहि हो त ? यसरी नामको लोकतान्त्रिक भएको देखिएको मात्रै हो यहाँ लोकतन्त्रको नाउँमा केहि व्यक्ति र परिवारले जुन बाँडीचुँडी खाने काम भएको छ त्यसलाई लोकतन्त्र र यसमा आएको सुधार भन्नै सकिन्न ।

अर्को तथ्याङ्क आएको छ, आर्थिक गतिविधि र स्थिति सुध्रेको । यो पनि पुरै ठिक होइन । जनसंख्याको ठूलो हिस्सा पलायन भएको छ । गाउँ खाली भएको छ, शहर र विदेशतिरको पलायनले उत्पादन घटेको छ । विशेष गरि कृषि उत्पादन त झनै दयनीय भएको छ । बीऊबिजन देखि पशुनश्ल सबै आयातमा निर्भर छ । खाद्यान्न संकट चुलिएको छ । स्थानीय उत्पादन र मोटो खाद्यान्न मासिएको छ । नेपाली मौलिक उत्पादन र यसका परिकारहरु नेपालको पर्यटनको स्वाद बन्न सकेको छैन । विदेशी रक्सी, पेय पदार्थ, उनीहरुका उत्पादन र यसैबाट तयार गरिएको पत्रुखानालाई बेचिएको छ । आन्तरिक उपभोगको लागि मात्रै खर्बौ रुपैंया बाहिरिएको छ । यसले केहि चुनिएका आयातकर्ताहरुको समपत्तिमा अकुत बृद्धि भएको छ । विदेशीको बजार बनेर नेपालको आर्थिक गतिबिधि बढेको भन्ने मिथाङ्कलाई कसरी तथ्याङ्क भन्ने ?
गुगलबाट हेर्यो भने नेपालमा जङ्गल बढेको देखिन्छ । यसैलाई सरकारले नेपालमा जङ्गल बढाएको, पर्यावरणमा सुधार ल्याएको, ग्रीनहाउस ग्यास कटौतीमा भूमिका खेलेको जस्तो अर्को तथ्याङ्क बनाएको छ । विकासका नाममा आफ्ना डोजरहरु चलाउन र राज्यकोषमा लूट मचाउन पहाडहरु कोपरेर छियाछिया पारिएका छन् । पानीका मूलहरु सुकाइएका छन् । पर्यावरणीय हिसाबले महत्वपूर्ण रहेका भञ्ज्याङ चौतारी पाटी पौवा, पोखरीहरु, वर पीपलका बोटहरु मासिएका छन् । चुरे मासिँदै छ । तराइमा आउने सबै खोलानालाका ढुङ्गा, गिट्टी बालुवा निकालेर तराइलाई सुख्खा बनाउने र बाढिको प्रकोप बढाइएको छ । यसलाई पर्यावरणमा भएको सुधारको तथ्याङ्क कसरी भन्ने ?

नेपालमा मिथाङक तयार गर्ने सरकारले पालेका एजेन्सीहरु छन् । केहि विदेशी गैरसरकारी संस्थाहरुको धन्दा नै यस्तै मिथ्याङ्क बनाउने रहेको छ । यहाँ अनुसन्धान पछि हुन्छ पहिला के र कसका लागि भ्रम छर्ने परिणाम निकाल्ने भन्ने निक्र्यौल गरिन्छ । कसको अनुकुलको तथ्याङ्क बनाउनु छ त्यही अनुरुपको अनुसन्धान गर्ने र वास्तविक तथ्याङ्कलाई मेनुपुलेट गर्ने काम प्रसस्तै हुन्छ । यसैको कडीको रुपमा पछिल्ला केही तथ्याङ्कहरु आएको बुझ्न कठिन छैन । सत्ता र विदेशी कसैको स्वार्थ नपरेको कुरामा भने केहि तथ्याङ्कहरु सत्य पनि होलान तर नेपाल र नेपालीको आधारभूत आवश्यकता र नेपालको मुल कुल धर्म सँस्कृति भाषा सभ्यता नेपाली मौलिकता नेपाली मौलिक प्रविधि, नेपालको विकास, यहाँको राज्य व्यवस्था, सुशासन, शिक्षा, कृषि, अर्थतन्त्र र पर्यावरणमा आउने अधिकांश तथ्याङ्कहरु प्रायोजित नै हुने र नेपाल र नेपाली यर्थाथ भन्दा फरक हुने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मनमोहन सिंह आर्थिक सुधारक र विश्वका एक मूर्धन्य अर्थशास्त्री तथा विनयशील मानव

डा. बाबुराम भट्टराई । भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको दुःखद निधनमा नेपालले एक

पदम गिरीको प्रश्नः भीम रावलले पार्टी हितविरुद्ध गतिबिधि गरिरहँदा पनि रमिता हेरेर बस्ने ?

काठमाडौं । नेकपा एमालेका नेता पदम गिरीले पार्टीका पूर्वउपाध्यक्ष डा. भीम रावललाई पार्टीेबाट

कसरी अब्राहमिक रिलिजनहरू घृणावादका स्रोत हुन् ?

रुक्मिणी देवी । आज क्रिसमस मनाइदै छ । यो पर्व सबै इसाईले मनाउँदैन्

नेपाल–कोरिया सम्बन्धको नयाँ मार्गचित्र

-डा. शिवमाया तुम्बाहाम्फे नेपाल कोरियाबीचको सम्बन्ध ऐसतहासिक रहेको छ । सन् ३७२ मा