नदेखिने पोसाक !
डा. गोविन्दशरण उपाध्याय ।
एकादेशमा एउटा राजा थिए । उनी नयाँ पोसाकका निकै सौखिन थिए । नयाँ लुगाका लागि जस्तिसुकै मूल्य तिर्न तयार हुन्थे । यो कुरा एकजना अमुक मान्छेले थाहा पायो । उ राजाकहाँ आयो र भन्यो ‘मैले बनाएको पोसाक अद्भूत हुन्छ । जीवनमा भ्रष्ट्राचार नगरेका मान्छेले मात्र देख्न सक्छन् ।महाराजले एस्तो पोसाक लगाउनै पर्छ ।’ महाराजले सम्बन्धित व्यक्तिले मांगेजति मूल्य दिए । पोसाक तयार गर्न एक महिना लाग्यो । कारखानाभित्र जाने, निरीक्षण गर्ने अधिकार राजालाई पनि थिएन ।
तोकिएको समयमा नै’जीवनमा भ्रष्ट्राचार नगरेका मान्छेले मात्र देख्न सक्ने’ पोसाक तयार भयो । बडो तामझामका साथ सो पोसाक राजदरवारमा ल्याईयो । रिकापीमा सजाएर त्यो पोसाक राजा सामु राखियो । सबै दरवारीया, कर्मचारी, कार्यकर्ता सबैले एकस्वरमा भने ‘हामीले यस्तो महीन र अद्भूत पोसाकको दर्शन गर्न सक्यौं । हामी सबै धन्यधन्य भयौं । केवल सदाचारीले देख्ने सक्ने पोसाक साच्चिकै गजव छ ।’
पोसाक तयार पार्ने कालिगढले भन्यो “यो पोसाक महाराजले पहिरिएर, रथमा सवारी भएर जनतालाई दर्शन दिनु पर्यो ।“ महाराज तयार भए । कालिगढ़ले महाराजको शरीरमा पोसाक लगाइदिएको स्वाँग पारे ।
पोसाक धारण गर्दैगर्दा महराज सोच्दै थिए ‘सायद म भ्रष्टाचारी भएकोले पोसाक नदेखिएको होला !’ दरवारीयाहरूले राजालाई नाङ्गो देखिरहेका थिए । राजदरवारभित्र भएका हरेकले सोचे ‘भ्रष्टाचारीले यो पोशाक देख्न सक्दैन ।’
सबैले एकस्वरमा भने ‘महाराजको जयहोस् ! यहाँको शरीरमा पोसाक अति सुहाएको छ । यो पोसाक बनाउने कालिगड पनि अद्भुत रहेछ ।
पोसाक लगाएका महाराज रथमा सवार भएर, गजक्क पर्दै शहर घुम्न निस्किए । के प्रजा, के भारदार सबैले त्यो अद्भूत बस्त्रको प्रसंशा गरिरहेका थिए ।
बाटोमा धेरै बालबालिका थिएनन् । राजाको रथ नजिकै आएको देखेर आफ्ना बुवासँग उभिएको एउटा १०–१२ वर्षको बालकले चिच्याएर भन्यो ‘राजा भएर नांगै रथमा हिड्ने !! कति लाज पनि नलागेको ! राजा तिमी नांगै छौँ !!’
राजाले बालकले बोलेकोकुरा प्रष्टसंग सुने । आफ्ना सिपाहीलाई आज्ञा दिए “यस्तो महँगो र अचम्मको पोशाक नदेखेर मलाई नाङ्गो देख्ने यो केटालाई तुरुन्त थुन । यस्ता भ्रष्ट्राचारीका लागि हाम्रो राष्ट्रमा कुनै ठाउँ छैन ।’ केटा झ्यालखानामा जाकियो । उसको आफ्नो बाबुले समेत सहयोग गरेन ।
…………..
राजा जस्ताको तस्तै गजक्क परेर महलमा फर्किए । सत्य नाङ्गो थियो तर सबैले देखेको सत्य, केटाले बाहेक कसैले बोलेनन् ।
कथाको अन्त्य हुने कुनै छाँट छैन किनभने राजाहरूले हरेक दिन त्यही पोसाक लगाएर सभामा आउने छन् । सबैले जयजयकार गर्ने छन् । जय नेपाल, हामी सबै नेपालीको भलो होस् ।