रामदानको उपवास र मुस्लिम
मौलवी मोहन ( मोइन) अहमद ।
१. यो वर्षको रमदान नेपालको विक्रम सम्वत् अनुसार दुई वर्षमा विभाजित भएको छ । नयावर्ष २०८० को शुभकामना आदानप्रदान गरिरंदा हामी मुस्लिमहरू रमदानको पवित्र उपवास पनि गरिरहेका हुन्छौं । अल इस्लाम वेबसाइट (https://www.alislam.org/) का अनुसार रमदान मुस्लिमहरूको एकमहिने अत्यावश्यक र महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक उपवासको पर्व हो । हरेक वर्ष पवित्र रमदानमा उपवास गर्नका लागि विश्वभरिका मुस्लिमहरू आतुर रहेका हुन्छन् ।
२. हामी मुस्लिमहरूले रमदानको उपवास गरिरहेको अवस्थामा मुस्लिम धर्म नमान्ने नेपालीहरूको मनमा रमदानका विषयमा जान्न/बुझ्न र यस रमदानमा अवसरमा गरिने रोजा (उपवास)का विषयमा जान्न निकै मन लाग्नु स्वभाविक हो । नेपालमा अनेकौं धर्म, संस्कृति तथा परम्पराहरू छन् । यिनै धर्म–संस्कृति मध्ये जनसंख्याको लगभग ५% जनसंख्या मुस्लिमहरूको छ । नेपालमा मुस्लिम समुदायहरू पहाड़ तथा तराईमा फैलिएका छन् तर रमदानको पवित्र महिनामा रोजा (उपवास) गर्ने सवालमा सबै नेपाली मुसलमानहरू एकसाथ छौँ ।
३. मुस्लिम परम्पराअनुसार रामदानको पवित्र महिनामा रोजा राख्नु (उपवास) इस्लामका प्रमुख पांच नियमहरू सहादा (एक अल्लाह्मा विश्वास गर्नु) सलात (दैनिक पांच पटक प्रार्थना गर्नु) जकात (दान दिनु) साव्म (उपवास बस्नु), हज (जीवनमा एक पटक भए पनि साउदी अरवको पवित्र मक्काको तीर्थयात्रा गर्नु) पनि हो । सम्पूर्ण रामदान महिनामा हरेक मुस्लिमले दिनभारी थुकसमेत निल्नुलाई हराम (वर्जित) गरिएको छ । तर बाटोमा, रोगी अवस्थामा, बालबालिका तथा गर्भवती महिलाका लागि रोजा अनिवार्य हुँदैन । यद्यपि उपरोक्त कारणले रमदानमा रोजा राख्न नपाउनेले अन्य समयमा सोही सङ्ख्या वरावरको रोजा राखेर अल्लाहको आज्ञा पालन गर्ने आदेश पवित्र ग्रन्थ कुरानले निर्देशन दिएको छ ।
४. विश्वब्यापी अहमदीया मुस्लिमको आधिकारिक वेभसाइटकाअनुसार रमदानको महिनामा नियमपूर्वक उपवास गर्नु केवल उपवासमात्र नभएर धार्मिक, नैतिक, शारीरिक तथा सामाजिक दायित्वबोधको अभ्यास पनि यो । यो भन्दा पनि अझैं बढी अल्लाहको सेवकका रूपमा मनुष्य जातिले उहाँको आदेश निशर्त पालन गरेर उहाँप्रति भक्ति सावित गर्ने अवसर पनि हो । असलमा, रमदानका पवित्र महिनामा हरेक मुस्लिमहरूले तोकिएको समयदेखि तोकिएको समयसम्म हरेक दिन रोजा पानी पनि नपिएर उपवास गर्नु र अल्लाहको उपासना गर्दै असल तथा सत्यको अनिवार्य अभ्यास गर्ने परम्परा हो ।
५. पवित्र कुरानमा उपवासका विषयमा एसो भनिएको छ ‘हे विश्वासी हो, तिमीहरूका लागि उपवास अनिवार्य गरिएको छ जसले तिमिहरूमा धार्मिकता स्थिर रहोस् (कुरान सुराह, अल बकारा १८४) यसरी रमदानको महिनामा उपवास राख्नु भएको आफुभित्र असल, सभ्य र धार्मिकता जीवित राख्नु हो । विश्वभरिका अहमदी तथा अन्य मुस्लिमहरूले रमदानमा उपवास गरेर धार्मिकताको अभ्यास गरिरहेका हुन्छन् ।
६. हिन्दुहरूमा उपवासका रूपमा, यहुदीमा :यमकिपुर”का रुपमा, बौद्धहरूमा पनि उपवासका रूपमा तथा विश्वको सबैभन्दा ठूलो इसाई धर्ममा पनि इस्टरको अघिल्लो दिन उपवास गर्ने परम्परा देखिन्छ । यसको अर्थ के हो भने ईश्वरले विश्वभरिका धार्मिकहरूलाई उपवास गरेर ईश्वरको आदेश मान्ने र आफुभित्र रहेको असल चरित्रलाई बलियो बनाउने परम्परा रहेछ । हिन्दुहरूले हरेक पन्ध्र दिनमा एकादशीमा उपवास गर्छन् भने मुस्लिमहरूले हरेक वर्ष रमदानको महिनामा उपवास गर्छौं ।रमदानमा उपवास बस्नु अल्लाहको आदेश पालन गर्नु हो ।
७. रमदानको उपवासका विषयमा अहमदिया मुस्लिम समुदायका प्रथम धर्मगुरू हजरत मिर्जा गुलाम अहमदले आफ्नो पुस्तक इस्लामी दर्शनमा लेख्नुभएको छ ‘उपवास गर्नु भनेको केवल भोको र तिर्खाएर बस्नुमात्र होइन । उपवासको बास्तविक उपलब्धि केवल अभ्यास गरेरमात्र अनुभव गर्न सकिन्छ । मानवीय प्रकृतिनै हो जसले जति थोरै खान्छ तेतिनै उसको आध्यात्मिक शक्ति बढी हुन्छ, दृष्टिकोण सफा हुन्छ । उपवास गर्नेले हरेक क्षण विचार गर्नुपर्छ कि उ केवल भोको बसिरहेको होइन । उसले संसारिक जीवनमा ईश्वरको आदेश पालन गरेको हो र उप्रति समर्पण गरेको हो । इस्लामका संस्थापकले समेत बडो सावधानीपूर्वक मन र जीवनको शुद्धिका लागि र अल्लाहको प्रसन्नताका लागि उपवास गर्नु हुन्थ्यो भन्ने तत्थ्य उहाँको जीवनीबाट जान्न सकिन्छ ।
८. अरवी भाषामा रमदानको अर्थ ‘अत्याधिक तातो’भन्ने हुन्छ । यसको निहितार्थ हो – उपवासका कारणले तीर्खाले खरिनु, उपवासको पवित्र आचरणले पापहरू जल्नु र विश्वका स्रजक ईश्वरप्रति अत्याधिक उत्सुकता हुन सक्छन् । कुरानकाअनुसार ‘रामदानको पवित्र महिनामा मनुष्यजातिको कल्याण र मार्गदर्शनका लागि ईश्वरले कुरान पठाउनु भएको हो (कुरान अल बकारा १८६) ‘ त्यसैले पनि मानव जातिका लागि यो ज्यादै महत्वपूर्ण र पवित्र छ । साथै कुरानले भन्छ “जव रमदानको महिना आउँछ तेस बखत स्वर्गका द्वारहरू खुल्छन् र नर्कका द्वारहरू बन्द गरिन्छन् र सैतानलाई सिक्रीमा बाँधेर राखिन्छ । (सहिस अल बुखरी) तेसैले हरेक मुस्लिमले रमदान महिमामा उपवास गर्नुपर्छ ।
९. रमदानको पवित्र महिनामा मुस्लिमहरूले टहजूद, तारावीह, सुहुर, इफ्तार, दार ए कुरान, इतिकाफआदि क्रियाकलाप गरिन्छन् । यो महिनाको अन्त्यमा इद उल फितरको पवित्र प्रार्थना गरेर एकआपसमा सद्भाव साटासाट गरिन्छ भने अन्य धर्मावलम्बिलाई भोजआदिमा समावेश गरेर अल्लाहको संदेशका विषयमा जानकारी दिइन्छ ्र हाम्रो अहमदिया मुस्लिम समुदायले हाम्रा सर्बोच्च गुरू खलिफा मिर्जा मसरूर अहमदको निर्देशन, मार्गदर्शन तथा इस्लामका संस्थापक श्रीमोहम्मद साहेवको इच्छा र आदेशको पालन गर्दै विश्वमा शान्ति, सद्भाव तथा मानवताको लागि सत्कर्मं गर्ने प्रतिज्ञा गर्छौं ।