यसरी पर्यो विहादिको नाम
डा. गोविन्दशरण उपाध्याय ।
विगत १० वर्षदेखि विहादीको नाम कसरी पर्यो होला भनेर चिन्तन गरें । धेरै अग्रजहरूसंग मोबाइल फोनमा कुराकानी भयो उहाँहरूले आ–आफ्ना विचार, इतिहास र सुनेका कुराहरू बताउनु भयो । यो सबैपछि विहादीको नामको गाँठो फुकेजस्तो लाग्यो । रानीपानी र बराचौरको संयुक्त नाम (अहिलेको गापामा बाच्छा, शालीग्राम, उराम पोखरा, उहाकी ठाटी जोडिएका छन् तर अस्तिसम्म यी विहादी थिएनन्) विहादीको गाँठो खोल्ने छु । विहादी पर्वत जिल्लाको दक्षिणी भेकको एउटा ठूलो गाउँपालिका हो र यसको मुख्यालय वहाकीमा रहेको तर विगतमा विहादी भनेर केवल रानीपानी र बराचौरलाई बुझ्ने गरिन्थ्यो ।
संस्कृतमा विहा शब्दको अर्थ स्वर्ग हुन्छ । विहादि शब्द मूलतः विहामा आदि प्रत्यय लागेर निर्मित भएको हो भन्ने मेरो निचोड हो । विहा भनेर प्राचीन ऋषिरूले यस ठाउँको नामाकरण गरे किनभने यो ठाउँ साच्चिकै स्वर्गझैं छ । फाँटहरूबाट प्रष्ट हिमालहरू देखिने उत्तरतिर, फेरि भगवान् शालीग्रामको प्राप्ति पनि गण्डकीबाट हुने र बाच्छाको पहाडले सिधैं चीसो हावा पनि रोक्ने (उपत्यका न धेरै गर्मी हुने नधेरै जाडो हुने) भएको हुँदा स्वर्गझैं लाग्यो र यो बाटो हिंडेर गलेश्वर, मुक्तिनाथ, दामोदरकुण्ड जाने ऋषिमुनिहरूले “विहा“ भने र पछिल्लायदिहरूले विहाआदि ठाउँ भएर मुक्तिनाथ पुगिन्छ भन्ने प्रसंगमा विहादि भन्न थाले ।
विहादीले सिङ्गो नेपालको विशेषता बोक्छ । सवैभन्दा तत्लो ठाउँमा कालिगण्डकी गङ्गा बगिरहेकी छिन् र सबै भन्दा माथि भोर्लेको उंचाई छ । रानीपानी र बराचौरको फाँटमा प्रसस्त उब्जनी हुन्छ । बाच्छावटसँग जोडिएको विशाल जङ्गलले विहादीलाई प्रकृतिसंग जोड्छ । ठाउँठाउँका गुफा (सितलगुफाआदि)ले ऋषिमुनिहरूको तपस्याको थलो इंगित गर्छन् । उच्चतम भागको भोर्ले र निम्नभागमा बग्ने गण्डकी तथा फाँटहरूको उजाउभूमिले यो ठाउँलाई विहा अर्थात् स्वर्गझैं बनाउँछ ।
दोस्रो कुरा, स्वामी प्रपन्नाचार्यले पर्वतको तल्लोभागलाई “उत्तरको कासी“ भनेका छन् किनभने गण्डकीको सांस्कृतिक र धार्मिक पवित्रताका कारण मुक्तिनाथ तथा दामोदर कुण्ड जाने, पुलहा (गलेश्वर) क्षेत्रमा तपस्या गर्ने (भरत तथा ऋषभ)ले यो सम्पूर्ण क्षेत्रलाई विहादी भनेको हो किनभने देवघाटदेखि गण्डकक्षेत्र आरम्भ हुन्छ तर रानीपानी र बराचौरजस्तो प्राकृतिक रूपमा मिलेको ठाउँ अर्को छैन तेसैले यो ठाउँसंग आदि जद्दा “विहादी“ बनेको हो । अर्थात् गुल्मी, बाग्लुङ समेतका भूभागलाई समेत सम्मान गर्दा “विहादी“ नामकरण हुने तर्क उचित नै नै लाग्छ ।
विहादीको नाम कसरी रह्यो होला भन्ने क्रममा मैले गुरुङ, थकाली र मगरहरूका रैथाने शब्दमा “विहादी“ शब्दको अर्थ खोज्ने प्रयत्न गरें । ती भाषाहरूमा “डी“ शब्द छ तर दि अन्त्य हुने शब्द रहेन छन् । विहादी जस्तै दि जोडिएका गाउँहरू कुणादि, गुणादि, चकौंदि, अर्मादि (कहीं यो ठाउँ संस्कृत व्याकरण पढाउने गुरूहरूको वासस्थल त थिएन ?) छन् तर यिनको मगर, गुरुङ र थकाली बोलिचालिमा कुनै अर्थ लाग्दैन । त्यसैले यो क्षेत्र विहादि अर्थात् स्वर्गझैं भएकोले विहा हो र आसपासका क्षेत्रहरू पनि सुन्दर भएको हुँदा विहादि बन्न पुगेको हुनुपर्छ ।
सबैभन्दा रमाइलो तत्थ्य त के भने पाणिनी सूत्रमा विहाको प्रयोग भएको छ । पर्वत प्राचीनकालदेखिनै पण्डितहरूको निवास थलो हो । ज्योतिष र व्याकरणका लागि पर्वत प्रसिद्ध छ । अहिले सरकारले विहादी गाउँपालिका बनाएको छ जसमा बाच्छा, वराचौर, रानीपानी, उराम, शालीग्राम र उहाकी थाँती पुराना गाविसहरूलाई जोडिएको छ । मलाई लाग्छ, विहा अर्थात् स्वर्गझैं भन्ने प्राचीन ऋषिले गरेको ठाउँको नामाकरण अझैं फैलिएको छ ।
विहादिमा अनेकौं जीवन्त तीर्थ छन् । ऋषिमुनिहरूका साधना स्थल छन् । प्राचीन गुरुकुलका आचार्यहरूले निर्मित गरेका पवित्र विद्यालयहरू छन् र गिरी, पुरी सन्यासीहरूको वासस्थल छ । गिरिपुरीसन्यासी थरको उपलब्धताले प्राचीनकालदेखि नै यो ठाउँ त्यागी, सन्यासी तथा आचार्यहरूको साधनास्थल हो भन्ने प्रमाणित हुन्छ भने मगरगुरुङआदिको न्यूनउपस्थितिले यो क्षेत्रमा बाहुनक्षेत्रीआदि समुदायको निवासस्थल रहेको प्रमाणित गर्छ । बाहुनक्षेत्री तथा गिरिपुरीसन्यासीहरूले यो ठाउँको नामकरण उनीहरूकै सांस्कृतिक भाषा संस्कृतमा “विहा“ भनेर जुराए भन्ने तत्थ्यमा शंका गर्ने ठाउँ रहन्न ।
नोटः यो वाहेक कसैसंग अन्य जानकारीहरू छन् भने जोड्दै जाउँ । यो नै नामकरण खोज्ने अन्तिम विकल्प होइन ।