गणितज्ञ राधानाथ सिकदरले सगरमाथा नै नआइकन कसरी नापे उचाइ ?
विश्व पौडेल ।
गणितज्ञ राधानाथ सिकदरले सगरमाथा नै नआईकन सगरमाथाको उचाइ मिलाएर त्यो नै संसारको सबैभन्दा अग्लो चुचुरो हो भनेकोमा म निकै पहिलेदेखि अचम्म मान्थें । नेपालमा भर्खर कोतपर्व भएको र एउटा पनि स्कुल नभएको त्यो जमानामा भारतमा बसेर कसरी त्यस्तो ठ्याक्कै पत्ता लगाए होलान् भन्ने सोच्थें । म सर्भेयर वा गणितज्ञ नभएकोले त्यो कत्तिको महत्वपूर्ण काम हो भन्ने मैले खुट्याउनसक्ने कुरा थिएन । तर अचम्म लाग्थ्यो ।
जर्ज एभरेस्टले सगरमाथा कहिल्यै देखेका थिएनन् । सन् १८५२ मा सगरमाथा सबैभन्दा अग्लो चुचुरो हो भनेर पत्ता लाग्दा उनी सर्भेयर जनरल पनि थिएनन् । अंग्रेजहरुले नेपालको आफ्नै नाम छ कि भनेर सोधेका थिए तर जवाफ पाएनन् भनिन्छ । हामीले स्थानीयलाई सोधेर नाम पठाएको भए त्यो चुचुराको नाम एभरेस्ट पनि रहन्नथ्यो होला । नेपाली भाषामा धेरैपछि बाबुराम आचार्यले सगरमाथा भन्ने नाम दिएका हुन् । हामीले पनि त्यसरी नयाँँ संस्कृत नाम दिनुभन्दा स्थानीय शेर्पाहरुले प्रयोग गर्ने गरेको नाम नै दिएको भए हुन्थ्यो ।