मान्छेले के भन्लान् भन्ने डर नमानेकै वेश
डा. अरुणा उप्रेती ।
जब म ठूला ‘सुपर मार्केट’ मा जान्छु तब लाग्छ– ‘ओहो ! मेरो जीवनमा कति धेरै मालसामान नचाहिने रहेछ, यी वस्तु नकिनेपछि मेरो पैसा बच्छ।’ त्यहाँ बेचिने १० प्रतिशत मालसामान मात्रै मेरा लागि उपयोगी हुने रहेछन्।
म अहिले ‘पठाओ’ र ‘टुटल’ पनि चढ्छु। मेरा कति परिचितलाई मन पर्दैन। उहाँहरू भन्नुहुन्छ– ‘ट्याक्सी चढ्नुपर्छ। बस चढ्दा मान्छेले के भन्लान् ?’ अझ कति जनाले त माइक्रोबस चढ्दा लोभ गरेर ‘ट्याक्सी नचढेको’ पनि भन्छन्। तर त्यसको मलाई मतलबै लाग्दैन।
मेरो घरमा ड्राइभर छैन, त्यसैले म कि माइक्रोमा वा हिँडेरै काम चलाउँछु। तर यसका कारण म गन्तव्यमा कहिल्यै कत्ति पनि ढिलो पुगेको छैन। अझ कतिपय ठाउँमा त गाडीमा आउनेहरू भन्दा समयमै पुग्छु। मलाई जरुरत नपरे पनि पैसा किन खर्च गर्नु भन्ने लाग्छ। हो, माइक्रो वा बसमा चढ्दा सहजचाहिँ हुँदैन, कतिचोटि त ठेलमठेल पनि गर्नुपर्छ । खलासीका अपशब्द पनि सहनुपर्छ, बेस्सरी आफूले कसैको खुट्टा कुल्चिइन्छ, कसैले आफ्ना खुट्टामा कुल्चिदिन्छन्, उसलाई ठेल्नुपर्छ। तर यसैले मेरो ‘स्टाटस’ कम भयो भन्ने लाग्दैन। मलाई चिनेकाले बसमा भलाकुसारी गर्छन्, रोकिएपछि ‘जाऊँ है’ भन्दै हिँड्छन्,। तर किन ‘माइक्रो बस चढेर कम स्टाटस भएकोे’ भन्दैनन् ? जसले मलाई चिन्दैन, उसलाई म जेमा चढे पनि के फरक भयो र ? बस चढ्दा ठेलमठेल गरेको देखे पनि के वास्ता ?
मेरो स्टाटस बढाउन भनेर म हिँड्न छाड्दिनँ, हिँडेर जान सकिने ठाउँमा ट्याक्सी चढेर जाँदिनँ। अरूसँग मागेर गहना लाउँदिनँ। यसले मलाई धेरै सजिलो भएको छ। विवाह भोजमा सहभागी हुँदा तथा टिभीमा अन्तर्वार्ता दिन जाँदा नयाँ लुगा लगाउनुपर्छ भन्ने तनाव हुँदैन। कतिचोटि त मिटिङबाटै भोजमा जाने गर्छु। घर गई लुगा फेरेर जाँदा त कति समय नाश हुन्छ। तर सबैको सोच यस्तो नहुन सक्छ। जसलाई जे सजिलो लाग्छ, त्यही गर्ने हो। अहिले मोबाइलसँग जोडिएर पनि ‘स्टाटस’ बन्न थालेको छ। केही महिनाअघि एक साथीले पुरानो मेरो मोबाइल नोकिया देखेर भने– ‘तपाईंले यस्तो मोबाइल प्रयोग गर्दा त तपाईंको स्टाटस कम हुन्छ नि !’
नयाँ लुगा, नयाँ मोबाइल लिएर मात्रै सुखी भइन्न भन्ने बुझे त जीवन सहज हुने थियो।