टुलिपबाट हाम्रा नेताले पनि सिक्ने कि ?
नारायण गाउँले ।
यी हुन् भर्खरै वित्तमन्त्रीबाट राजीनामा दिएकी बेलायती नेतृ टुलिप सिद्दिक । बेलायतको अन्तर्राष्ट्रिय सबन्ध र नीति जे होला, यसको आन्तरिक लोकतन्त्र भने साँच्चिकै लोभलाग्दो छ । टुलिप बङ्गलादेशका संस्थापक राष्ट्रपति मुजीबुर रहमानकी नातिनी र केहीअघि सत्ताच्यूत गरिएकी प्रधानमन्त्री शेख हसीनाकी आफ्नै भतिजी हुन् । टुलिपको जन्म बेलायतमा भए पनि आमा शेख रिहाना बङ्गलादेशको सक्रिय राजनीतिमैं छन् । अझ आफ्नै दिदी शेख हसीनाको पालामा त उनी सँगसँगै विदेश भ्रमणहरूमा देखिन्थिन् ।
बेलायतमैं जन्म र शिक्षा भएकाले टुलिपलाई यहाँको राजनीतिमा भाग लिन कुनै कानुनी बाधा भएन । उनले कलिलै उमेरमा काउन्सिलर पद जितिन् र २०१५ को आम निर्वाचनमा लण्डनबाट सांसद निर्वाचित भइन् । बङ्गलादेशलगायतका दर्जनौं कमनवेल्थ देशबाट यहाँ आउनेले नागरिक नभई कनै पनि भोट हाल्न र चुनाब लड्न पाउँछन् । अझ सांसद बन्न त मतदाता नामावलीमा नाम समेत नभए पनि मिल्छ ।
लेबर दलकी उनी लामो समय छाया–मन्त्री रहेर काम गरिन् । गत सालको निर्वाचनमा लेबरले बहुमत ल्याएपछि उनी मन्त्री नै बनिन् ! उनको प्रारम्भिक शिक्षा बङ्गलादेश र बेलायतका स्कुलहरूबाट भयो भने प्रसिद्ध किङ्ग्स कलेज लण्डनबाट उनले स्नातकोत्तर गरेकी छन् ।
बङ्गलादेशमा सत्तापरिवर्तन भएसँगै उनको माइतीका सदस्यहरूमाथि भ्रष्टाचारका आरोप सघन हुन थाले । उनले लण्डनमा गिफ्ट पाएको भनिएको एउटा फ्ल्याट नै अन्ततः उनको उज्ज्वल राजनैतिक भविष्यमा ग्रहण बन्न पुग्यो । जसले त्यो फ्ल्याट गिफ्ट दिएका थिए तिनको लिङ्क शेख हसीनासँग रहेको देखियो । यद्यपि टुलिपले यो आफ्नो आमाबुबाले किनिदिएको भन्ने दाबी गरेकी थिइन् । देखिने गरी भ्रष्टाचारसँग जोडिने प्रमाण नभए पनि बेलायतमा शङ्काका सुईहरू देखिने गरी तेर्सिए भने राजनीति सकिन्छ ।
परिवार बङ्गलादेशी भए पनि उनी बेलायतमा जन्मिन् । सानोमा उता पढ़े पनि शिक्षादीक्षा बेलायतमैं भयो । यतै राजनीति गरिन् । बङ्गलादेशको राजनीतिसँग उनको प्रत्यक्ष नातो थिएन । तर उनको आमा जोडि़एकाले र सत्तासँग जोडिएको सम्पत्ति उनले उपयोग गरेको देखिएकाले यहाँ उनको विरोध भयो । छानबिनले उनलाई दोषी त मानेन तर उनले सरकारको काममा ध्यान भङ्ग हुने भन्दै आफैले राजीनामा दिइन् । कुनै चारित्रिक विवादको डिफेन्स गरेर सरकारको समय खेर फाल्न उचित नहुने अभ्यास र सोच यहाँ छ ।
बेलायतको राजनीतिमा जात, धर्म, रङ्ग, राष्ट्रियताजस्ता विभेद कम छन् तर योग्यता र हदैसम्मको स्वच्छता भने चाहिन्छ । यहाँ लकडाउनको बेला आफ्नै निवासको गार्डेनमा चार–पाँच जना भेला भएको र ड्रिङ्क पिएको निहुँमा प्रधानमन्त्री र पार्टी नै सकिएको ताजा उदाहरण छ । यसअघि प्रधानमन्त्री बनेका ऋषि शुनकले पनि कारमा सिटबेल्ट बाँध्न बिर्सेकोमा फाइन तिरेका थिए ।टुलिप शायद अब राजनीतिमा नआउलिन् । तर यहाँ राजनीति सेवा जस्तै हो । मेवा त उनको उच्च अध्ययन र क्षमताले जहाँबाट पनि पाइन्छ ।