आगोको ठेगाना
चुल्ठोमा सिउरिएर आगोको ठेगाना
निकै अप्ठेरो बाटो हुँदै
म हिँडेकी छु आफैँलाई खोज्न
थाहा छैन
कति नजिक छ
वा कति टाढा छ
त्यो आगोको देश ?
आमाको गुन्युको न्यानो छोडेर
दौडिरहेकी मलाई यत्ति थाहा छ
गाउँमा आमाहरू
पहेँलो आकाश हेरेर समय निल्छन्
भोकको आगोमा सखरखण्ड पोल्छन्
अनुहारको घाम पछ्यौराले ढाक्छन्
एक हातले फरिया पक्रन्छन्
अर्कोले पृथ्वी घुमाउँछन्
छोरीहरू बाबुको कमिज पक्रेर जिद्दी गर्छन्
एउटा रोटीका लागि
र, सिंगै जीवन
सम्झौताको सिरेटो ओढेर
काँपिरहन्छन्
आइमाई हुनु भनेको,
पँधेरोमा जम्नु मात्र होइन
सधैँ त्याग्नु मात्र होइन
घाँसको डोकोमा अल्झिनु मात्र होइन
दुःखका भारीहरूमा बल्झिनु मात्र होइन
भान्सामा पाक्नु मात्र होइन
देवी–देवता भाक्नु मात्र होइन
चुरासँगै बज्नु मात्र होइन
दुखेर शीतसँगै खस्नु मात्र होइन
जिन्दगीलाई हार्नु मात्र होइन
सम्बन्धको डुंगा खियाउनु मात्र होइन
धर्ती हुनु मात्र पनि होइन
आमाले भनेकी छिन्–
आइमाई हुनु भनेको त,
साहसको घोडामा काठी ठोक्नु पनि हो
पिठ्युँमा युग बोक्नु पनि हो
निर्भयको रथ हाँक्नु पनि हो
बन्धनको तगारो नाघ्नु पनि हो
आक्रोशको सीमारेखा कोर्नु पनि हो
विचारको आगो चोर्नु पनि हो
विभेदको पर्खाल फोर्नु पनि हो
चुल्ठोमा सिउरिएर आगोको ठेगाना
निकै अप्ठेरो बाटो हुँदै
म हिँडेकी छु आफैँलाई खोज्न…।