जति धेरै आक्रोश, उति धेरै पैसा !
‘मैले धेरै घृणाका सन्देशहरू पाउँछु।’ सामाजिक सञ्जालमा पोस्टहरू राखेर गत वर्ष मात्रै डेढ लाख डलर कमाएकी कन्टेन्ट क्रिएटर विन्टा जिसुले भनिन्। अन्य इन्फ्लुअन्सरहरूभन्दा विन्टा कसरी फरक छिन् ? उनका पोस्टहरूमा कमेन्ट गर्ने र उनका भिडिओमा धेरै ट्राफिक ल्याउनेहरू धेरैजसो आक्रोशका कारण त्यसो गर्छन्। ‘घृणास्पद टिप्पणीका कारण मेरा प्रत्येक भिडिओमा १० औँ लाख ‘भ्यू’ आएका छन्,’ २४ वर्षिया उनले भनिन्। यी भिडिओहरूमा उनी अमेरिकाको न्यूयोर्क सिटीमा बस्ने मोडलको जीवन देखाउँछिन्। त्यसमा उनी आफू अति सुन्दर हुनु नै सबैभन्दा ठूलो समस्या भएको बताउँछिन्। त्यसमा विन्टाले एउटा पात्रको अभिनय गरिरहेको मानिसहरूले महसुस गर्दैनन् र टिप्पणी गर्छन्।
‘धेरै नराम्रा टिप्पणीहरू आउँछन्, मानिसहरूले ‘तिमी अति सुन्दर युवती होइनौँ’ वा ‘तिमीमा अति नै आत्मविश्वास देखियो, आफ्नो हैसियतमा झर’ भन्छन्,’ न्यूयोर्कबाट उनले भनिन्।
‘रेज बेइट’ हुने गरी सामग्री बनाउने अनलाइन क्रिएटरहरूको बढ्दो समूहकी विन्टा एक हिस्सा हुन्। उनीहरूको उद्देश्य सरल छ : भिडिओ ‘रेकर्ड’ गर्ने, ‘मीम’हरू बनाउने, अन्य प्रयोगकर्तालाई आक्रोशित बनाउने पोस्टहरू लेख्ने र हजारौँ, लाखौँ लाइक कमेन्ट र शेअरको मजा लिने।
‘रेज बेइटिङ’ के हो ?
यो इन्टरनेटको दुनियाँमा प्रचलित अर्को प्रवृत्ति ‘क्लिकबेइट’भन्दा फरक हो। ‘क्लिकबेइट’मा उत्सुकता जगाउने शीर्षक राखेर भिडिओ वा लेखमा पाठक र दर्शकलाई क्लिक गर्न उक्साउने काम हुन्छ। तर मस्तिष्कले नयाँ प्रविधिसँग कसरी अन्तरक्रिया गर्छ भन्ने अध्ययन गर्ने डाक्टर विलियम ब्राडीका अनुसार मानव मनोविज्ञानमा नकारात्मक सामग्री एकदमै जड बनेर बसेको हुन्छ।
‘यो त्यस्तो प्रकारको सामग्री हो जसलाई विगतमा हामीले वास्तवमै ध्यान दिनु आवश्यक थियो,’ उनी भन्छन्, ‘त्यसैले यी पूर्वाग्रहहरू हामीसँग हाम्रो सिकाइ र हामीले दिने ध्यानमा निर्मित छन्।’
जति धेरै आक्रोश, उति धेरै पैसा
प्रमुख सामाजिक सञ्जालहरूले क्रिएटरहरूलाई उनीहरूको सामग्रीका लागि धेरै पैसा दिन थाल्नु र ‘रेज बेइटिङ’ सामग्रीहरूमा पनि वृद्धि हुनु एकै पटक भएको छ। लाइक, कमेन्ट र शेअरहरूका लागि इनाम र प्रायोजित सामग्री राख्न यी क्रिएटरलाई पैसा दिने सामाजिक सञ्जालका कार्यक्रमका कारण यस्तो वृद्धि भएको मानिन्छ। ‘हामीले बिरालो देख्यौँ भने हामी ‘आहा कस्तो राम्रो’ भन्छौँ र कर्सर तल सार्दै जान्छौँ। तर हामीले कसैले केही अश्लील क्रियाकलपा गरेको देख्यौँ भने हामी त्यसमा ‘यो त एकदमै खराब’ हो भनेर टिप्पणी गर्छौँ। त्यसलाई ‘एल्गरिदम’ले उच्च गुणस्तरको ‘इन्गेज्मन्ट’ भनेर हेर्ने गरेको छ,’ मार्केटिङ पड्कास्टर एन्ड्रिआ जोन्सले भनिन्।
प्रयोगकर्ताले जति सामग्री बनाउँछन्, त्यति नै इन्गेज्मन्ट बढ्छ र उसले त्यति नै पैसा पाउँछ। ‘त्यसैले केही क्रिएटरहरूले धेरैभन्दा धेरै मानिसले आफ्ना सामग्री हेरून् भनेर जे पनि गर्छन्, चाहे ती नकारात्मक वा भड्किलो र मानिसमा आक्रोश र क्रोध जगाउने सामग्री नै किन नहोऊन्,” उनले चासो व्यक्त गर्दै भनिन्। ‘अन्ततः यसले असंलग्नतातर्फ लैजान्छ।’ यस्ता सामग्री थुप्रै तरिकामा आउँछन्। ‘रेज बेइट’मा खानाको अनौठो पाककलादेखि प्रिय गायकमाथिको हमलासम्म पर्छन्। तर यस वर्ष अमेरिकालगायत विश्वका धेरै देशमा चुनावहरू भएका कारण ‘रेज बेइटिङ’ राजनीतिमा पनि फैलिएको छ।
प्रभाव
ब्राडीले गरेको पर्यवेक्षणअनुसार ‘चुनावका बेला यसमा उछाल आएको छ किनभने राजनीतिक समूहलाई परिचालन गरेर मत खसाल्न वा कुनै कदम चाल्नका लागि यो प्रभावकारी माध्यम हो।’ नीतिका हिसाबले अमेरिकी चुनाव हलुका भएको बरु अपमानमा केन्द्रित भएको उनले उल्लेख गर्दै भने, ‘चुनाव ‘ट्रम्प यो कारणले भयानक छन्’ वा ‘ह्यारिस यो कारणले भयानक छिन्’ भन्नेमा अति केन्द्रित थियो।’
बीबीसीकी सामाजिक सञ्जाल अनुसन्धान संवाददाता मरिआना स्प्रिङले एक अध्ययनका क्रममा एक्समा भएका केही प्रयोगकर्तालाई सामाजिक सञ्जालले मिथ्या सूचना, एआई-निर्मित तस्बिर र निराधार षड्यन्त्रको सिद्धान्तजस्ता सामग्री शेअर गरेबापत ‘हजारौँ डलर’ दिएको पाएकी छन्।
यो प्रवृत्ति अध्ययन गरिरहेका केही भने अत्यधिक नकारात्मक सामग्रीले औसत मानिसलाई त्यस्तो ‘हेर्नै छोड्ने’ बनाइ दिन सक्ने बताउँछन्। ‘जुन बेला पनि त्यस्तो भावना भइरहँदा त्यो निकै थकान गराउने हुन सक्छ,’ यूनिभर्सिटी अफ मिशिगनका सञ्चार तथा सञ्चारमाध्यमका सहप्राध्यापक एरिअल हेजल भन्छन्।
‘उनीहरूले समाचार हेर्न छोडेका छन् र हामीले विश्वभरि नै ‘न्यूज अभोइडेन्स’ अर्थात् समाचारबाट टाढै रहने प्रवृत्ति देखिरहेका छौँ।’ इन्टरनेट नचलाउँदा पनि आक्रोशलाई सामन्यीकरण गरिएको र उनीहरूले देखेको संसारमा गुम्दो विश्वासप्रति अरूले पनि चिन्ता गरेको पाइन्छ।
‘एल्गरिदमले अपमान वृद्धि गर्छ, यसले मानिसलाई यो सामान्य हो भन्ने सोच्ने बनाउँछ,’ सामाजिक मनोवैज्ञानिक डाक्टर विलिअम ब्राडीले भने।
उनले थपे, ‘हामीलाई एक्सजस्तो सामाजिक सञ्जालबाट के थाहा भयो भने राजनीतिक रूपमा अतिवादी सामग्रीहरू प्रयोगकर्ताको एकदमै सानो गुटले बनाउँछ, तर एल्गरिदमले भने त्यो ठूलो बाहुल्यले गरेको जस्तो वृद्धि गरिदिन सक्छ।’
सामाजिक सञ्जालको प्रतिक्रिया
बीबीसीले सामाजिक सञ्जालहरूलाई उनीहरूको साइटमा हुने ‘रेज बेइट’बारे बुझ्न सम्पर्क गरेको थियो तर उनीहरू कसैले पनि प्रतिक्रिया जनाएनन्। सन् २०२४ को अक्टोबरमा मेटाका कार्यकारी एडम मोसेरीले ‘इन्गेज्मन्ट-बेइटमा भएको वृद्धि’ बारे थ्रेड्समा पोस्ट गर्दै ‘हामीहरू यसलाई नियन्त्रण गर्न काम गरिरहेका छौँ’ भनेका थिए।
प्रतिद्वन्द्वी इलोन मस्कको सामाजिक सञ्जाल एक्सले भने आफ्नो क्रिएटर ‘रेभन्यू शेअरिङ प्रोग्र्याम’मा भएको परिवर्तन घोषणा गरेको थियो। उक्त कार्यक्रमअन्तर्गत एक्सका प्रिमियम प्रयोगकर्ताहरूले ‘लाइक’, ‘रिप्लाई’ र ‘रिपोस्ट’ मा हुने इन्गेज्मन्टको आधारमा क्रिएटरले त्यसबापक रकम पाउने घोषणा गरिएको थियो।
टिकटक र यूट्यूबले प्रयोगकर्ताहरूलाई आफ्ना पोस्ट र प्रायोजित सामग्री शेअर गरेर पैसा कमाउन अनुमति दिन्छन्। तर त्यसका लागि केही नियमहरू छन्। मिथ्या सूचना राखे यसले उनीहरूको कमाइ निरर्थक बनाइदिन वा प्रोफाइल नै निलम्बित गरिदिन सक्छ।
एक्समा भने त्यस्तो मिथ्या सूचनाबारे कुनै निर्देशिका छैन। विन्टा जिसुको न्यूयोर्क सिटीमा रहेको आवास फर्किँदा त्यसपछिको कुराकानी अमेरिकी चुनावअगाडिको संवाद राजनीतितर्फ मोडियो। ‘हो, म राजनीतिक कारणका लागि ‘रेज बेइट’ गर्ने मानिसहरूसँग सहमत छैन,’ कन्टेन्ट क्रिएटरले भनिन्। ‘यदि उनीहरूले बुझाउन वा सूचित गर्न प्रयोग गरिरहेका छन् भने ठिकै छ। तर यदि मिथ्या सूचना फैलाउनका लागि उनीहरूले प्रयोग गरिरहेको भए म त्यसमा पटक्कै सहमत छैन। ‘यो अब मजाक होइन।’
साम ग्रुएट र मेगन लटन
बीबीसी ।