जीवनको एकमात्र उद्देश्य भनेको एउटा कार्यकर्ता भएर चितामाथि झण्डा ओढ्नुमात्रै हो त ?



नारायण गाउँले ।
यसो सोच्नुस् न,
विश्वकै गरिबमध्ये एक त थियौँ नै, केही वर्षयता हामी विश्वकै प्रदूषित शहरका बासिन्दा बनेका छौं । गरिबी हटाउन त सजिलो नहोला, सफा बन्न त सकिन्थ्यो कि ? हरेक पल, हरेक ठाउँ, हरेक गल्ली धुलाम्य छ । यति धेरै धुलो र धुवाँ हाम्रो फोक्सोसम्म छिरेको छ भन्ने लेखाजोखा छैन । तपाईंलाई थाहा छ ? हामी श्वासप्रश्वाससम्बन्धी रोग र त्यसले हुने मृत्युदरमा विश्वकै नम्बर एक पनि छौँ । सासबाट छिर्ने धुलो र धुवाँ अनि तरकारी र फलफूलबाट छिर्ने विषादिले हरेक नेपाली बालबालिकाको शरीर छियाछिया छ । यसले जनस्वास्थ्यमा निम्त्याएको सङ्कट बुझ्न मन लागे देशमा क्यान्सर, मधुमेह, दम र प्रेसरजस्ता बिरामीको डरलाग्दो वार्षिक वृद्धिदर हेरे पुग्छ । आफ्नै घरमा दिनहुँ जसो बिमार भइरहने सदस्यलाई हेरेर समस्याको जड़ के होला भन्ने कहिल्यै सोच्नुभएको छ ?

गरिब पनि हामी, फोहोरी पनि हामी, रोगी पनि हामी… र, बुद्धिहीन पनि हामी ! एउटा पनि अन्तर्राष्ट्रिय उड़ान नहुने कुनै अन्तर्राष्ट्रिय विमानस्थल कतै देख्नुभएको छ ? त्यो पनि ऋण लिएर बनाइएको होस्, शिलान्यास र उद्घाटनका नाममा करोडौं खर्च भएको होस् र उड़ानचाहिँ नहोस् ! त्यो हामीसँग छ । त्यसको साँवाब्याज तिर्न र उड़ान नहुने विमानस्थलको रेखदेख गर्न अरबौं रुपियाँ थप ऋण लिन पर्ने अवस्था छ हाम्रो । यो त एउटा उदाहरण मात्रै हो ।

जलस्रोतको दोस्रो धनी देश भनेर निबन्ध लेख्दा लेख्दै एउटा विद्यार्थीलाई प्यास लाग्यो भने शुद्ध पिउने पानी छैन न शौचालयमा पानी आउँछ । हाम्रा शहरहरूमा न पार्क छ, न कुनै सफा नदी र पोखरी छन् जहाँ एकछिन स्नान या जलविहार गर्न सकियोस् । नेपालको झन्डै एकतिहाई जनसङ्ख्या बोकेको लण्डनले मुटुमा थेम्स नदीलाई जस्ताको त्यस्तै बचाएको छ, तर हाम्रो बाग्मती ? नबनाए पनि भएको त बचाएको भए हुन्थ्यो । आज कमलपोखरीदेखि नागपोखरीसम्म नाममात्रै बाँकी छ ।

यस्तो पीड़ादायी अवस्थामा कम्तिमा हामीमा मानवता त छ नि भन्न पाइएको भए पनि हुन्थ्यो । गरिब, फोहोरी, रोगी, बुद्धिहीनसँगै हामी विवेकहीन पनि छौँ । यस्तो देशलाई पनि लुट्ने हामी कति नीच हौँला ? हामीले देश गुमाएर, सर्वश्व गुमाएर, बीसौं वर्ष जङ्गल छेउमा पानी चुहिने शिबिरमा जीवन बिताएका शरणार्थीको स्वाभिमान पनि बेचेर खाइदियौँ ।

गरिब मात्रै होइन, विवेकहीन मात्रै होइन, हामी संसारकै भ्रष्ट देश पनि हौँ । तथ्याङ्क पनि यही भन्छ र हाम्रो मनले पनि यो सही भन्छ । भ्रष्टमात्र होइन हामी अन्तर्राष्ट्रिय ठग समेत भनेर चिनियौं यसपालि । हाम्रो ठगी, हाम्रो भ्रष्टाचार देशको सीमा नाघेर बाहिरसम्म पुग्यो । देशको इज्जत र विश्वसनीयता हामीले लिलाम गर्यौं ! संयोग भनौँ या दुःखद भनौँ, बीसौँ लाख नेपाली आज देशबाहिर छन् । देशको छविले तिनलाई कस्तो अनुभूति देला ! मुटुको कुनै कुनामा कताकता केही बिझ्दैन ? रगत उम्लन्न ? जिउँदो छु भन्ने भाव उम्रन्न ? के यो जीवनको एकमात्र उद्देश्य र प्राप्ति भनेको एउटा कार्यकर्ता भएर चितामाथि झण्डा ओढ्नुमात्रै हो त ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गृह मन्त्रालयद्वारा आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको सरुवा, जयनारायण गृहमा तानिए

काठमाडौं । गृह मन्त्रालयले आठ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ ।

कुलमानलाई हटाउन खोज्दै उर्जामन्त्री खड्का, फेरि सोधे स्पष्टीकरण

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान

प्रत्येक महिनाको कम्तीमा तीन दिन श्रम अभियानमा आबद्ध हुनुपर्ने व्यवस्था गर्न नेतृत्वलाई माओवादी नेताहरुको सुझाव

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का नेताहरुले पार्टीलाई उत्पादनसँग जोड्न अध्यक्षसहित

सरकारले सार्वजनिक यातायातको भाडा बढायो, कहाँको कति ?

काठमाडौं । सरकारले सार्वजनिक सवारीसधानको भाडा बढाएको छ । यातायात व्यवस्था विभागले अन्तरप्रदेश