हामी बढी नै चीन भक्त भएका हौँ ?
केशवप्रसाद भट्टराई ।
सिक्किमको तुलनामा तिब्बतको इतिहास हजारौँ वर्ष पुरानो छ । स्वतन्त्र राष्ट्रको रूपमा तिब्बतले लामो राज्य अभ्यास गरेको इतिहास पनि छ । नेपालको सम्बन्ध पनि सिक्किमको तुलनामा तिब्बतसँग धेरै पुरानो छ नेपाल र तिब्बत दुवै झन्डै एउटै समयमा राज्य अस्तित्वमा आएका हुन् ।
नेपालले तिब्बतसँग युद्ध गरेको छ, मित्रता राखेको छ, सन्धि गरेको छ । सिक्किम ब्रिटिस र पछि भारत संरक्षित रहे जस्तै तिब्बत पनि लामो कालखण्डसम्म चीन संरक्षित राज्य रहेको हो । नेपाली राजनीति, मिडिया र वौद्धिक समुदाय सिक्किमको भारतमा भएको ( शाम, दाम, दण्ड र भेद सहितको) शान्तिपूर्ण विलयप्रति जति आलोचक र विरोधी छ, चीनले ठूलो सैन्य वल, हिंसा र रक्तपातद्वारा तिब्बतलाई आफूमा मिलाएको कुरालाई स्वाभाविक मान्दछन् र त्यसप्रति कुनै आलोचनात्मक विचार पनि राख्दैनन् । यो पनि त कुनै राजनीतिक आग्रह र कुण्ठा नै होला । कि हामी बढी नै चीन भक्त भएका हौँ ?
राजनीतिमा, मिडियामा र पेशा र वौद्धिक क्षेत्रमा कम्युनिस्टहरूको वाहुल्य बढी भएको र उनीहरूको प्रभाव बढी भएकोले हो कि ? माओवाद र सी जिन्पिङ्ग विचारधाराको सम्मोहन हो कि ?
त्यसैले चीनले सीमा मिचेको बारे एउटा प्रमुख विपक्षी दलको तर्फबाट स्थलगत प्रतिवेदन आउँदा पनि माओवाद र सी जिन्पिङ्ग विचारधाराप्रति प्रतिवद्ध सत्तारूढ दलको नेतृत्वको सरकारले त्यसबारे छानविन गराउने त कुरै छोडौं सोझै त्यस्तो सीमा नमिचिएको घोषणा गर्न पुग्यो । मित्रताको अर्थ स्वतन्त्र विचारको चेतको समर्पण र राजनीतिक दासता पनि त होइन होला । सरकारको यो व्यवहारले नेपाल सरकारप्रति मात्र होइन, मित्रराष्ट्र चीनप्रति पनि सन्देह र अविश्वास निर्माण गरेको छ ।
राष्ट्रको स्वतन्त्रता भनेको अन्तर्राष्ट्रिय मामिलामा दृष्टिकोण, नीति र विचारको स्वतन्त्रता पनि हो । कसैकाप्रति भारीका भारी आग्रह र कसैका प्रति दासतापूर्ण श्रद्धा र भक्ति स्वतन्त्र राष्ट्रको परिचय हुन सक्ला ?