कम्युनिष्ट वा गैरकम्युनिष्ट जस्तो गणतान्त्रिक सरकार भएपनि राजतन्त्र पुन: आउन सक्दो रहेछ
भीम उपाध्याय ।
नेपालमा सक्रिय राजतन्त्रलाई ०४७ सालको संविधानले संवैधानिक औपचारिक अलंकारिक राष्ट्रप्रमूखको रूपमा राजतन्त्र बनाएपछि नेपालमा लोकतन्त्र पुनस्थापित भएको हो। लोकतन्त्र भनेको जनताले चुनेका ब्यक्तिले शासन गर्ने तर संसदीय लोकतन्त्रमा जनताले चुनेकाले शासन गर्ने होईन। जनताले त आआफ्ना प्रतिनिधिहरू मात्र चुन्छन् र ती प्रतिनिधिहरूले आफ्नो नेता चुनेर प्रधानमन्त्री बनाउने हो। त्यसैले प्रम भनेको जनप्रतिनिधिको प्रतिनिधि मात्र हो, समस्त मतदाता जनताको प्रतिनिधि हैन। किनभने जनताले प्रम चुनेका हुदैनन्, जनताले अप्रत्यक्ष ढंगमा सरकार प्रमूख शासक चुनेका हुन। जनताका प्रतिनिधिहरूले चाहदासम्म मात्र प्रमको पदावधी हुन्छ, प्रमको ५ वर्ष पदावधी भन्ने हुदैन। ५ वर्ष पदावधी सांसदको मात्र हो, प्रम हुन सांसद हुनैपर्ने भएकोले बढीमा ५ वर्षसम्म पदावधी हुन सक्ने मात्र हो। त्यसैले मलाई जनताले चुनेको भनेर कुनै प्रमले फुईँ लाउनु बेकार छ।
नेपालको संसदीय बहुदलीय लोकतन्त्रमा प्रमको कार्यकाल सांसदहरुको र दलको ईच्छा अनुसारको हो। दलभित्र संसदमा बहुमत रहदासम्म हो।
जनताको प्रम हुन त जनताबाटै सीधा चुनिए मात्र हो, दलीय ब्यवस्थामा प्रम दलको कार्यकर्ता वा नेतासम्म हुन सक्ने हो।
कम्युनिष्ट गणतन्त्र कम्पुचियामा पोलपोटको अन्त्यपछि सिंहानुकलाई राजा बनाएर पुन: राजतन्त्रात्मक तर प्रधानमन्त्री सर्वेसर्वा हुने मुलुक कम्बोडिया बनेको हो।
त्यसपछिका पहिलो प्रम हुनसेन पहिलेको कम्युनिष्ट पोलपोट दल र सरकारका एक प्रभावशाली सिनियर नेता नै थिए।
बेलायतमा संसदले गणतन्त्र ल्याएर राजा उल्मूलन गरी प्रम क्रमबेलले १० वर्ष शासन गरेका थिए। पछि संसदले नै राजा नभई हुदैन भन्दै फ्रान्सबाट अर्कै राजपरिवार खोजेर राजा बनाएका हुन्। अहिलेकी रानी बेलायतको ओरिजनल राजपरिवार सदस्य होईनन्, अर्कै परिवारकी राष्ट्रप्रमूख महारानी हुन्। राजा पुन: चाहियो र राजा बनाए।
शासन गर्नेमा संस्कारगत समस्या भए पछि जस्तै संवैधानिक वा कानुनी ब्यवस्था गरे पनि, जति ठूलो पद पावर दिए पनि, जो सुकै पदमा पुगे पनि उसको यथार्थ विकृति मात्र उजागर हुने मात्र हो। संस्कार घर परिवार, मातापिता, कुटुम्ब, समाज, संगी, पूर्वजको प्रतिष्ठा, शिक्षक, गुरू , विद्यालयबाट नै बसिसकेको हुन्छ। संस्कार र दिमागी खेल फरक फरक हुन्। संस्कारले मै हु भन्ने मानिसको दिमागी खेललाई प्रष्ट नंग्याईरहेको हुन्छ। बिगत जस्तो थियो आज त्यो भन्दा खराब र आज जस्तो छ भोलि त्यो भन्दा खराब हुनुका मूल कारण पूरापूर संस्कारजन्य समस्या हो। काशी जानू कुतिको बाटो भनेको ठ्याक्कै यही हो। बिगत कुसंस्कार र कुकर्मले भरिभराउ भएकालाई दयामाया गरेर पद र पावर दिनु नेपालीहरूको गैरजिम्मेवार राजनैतिक कुसंस्कार नै हो।