जान्यो भने, यो राष्ट्रिय गौरवको आयोजना बन्न सक्छ
गौरी प्रधान ।
आज देशमा एकैचोटि शिलान्यास सम्पन्न भएका स्थानिय तहका ३९६ आधारभूत अस्पताल र प्रादेशिक तहका सरुवा रोग (रोकथाम र उपचार) अस्पतालको लागि नेपाल सरकारलाई हृदयदेखि नै धन्यवाद दिन चाहन्छु । यो नेपालको निम्ति एक ऐतिहासिक र महत्वपूर्ण गौरवको बिषय हुन पुगेको छ । देशको सामाजिक विकासको निम्ति खासगरी सरकारले अगाडि सारेका “सम्वृद्ध नेपाल, सुखी नेपाली”को लक्षको निम्ति यो र यस्तै अभियानले ठूलो योगदान पुर्याउन सक्दछ ।
वर्तमान सरकारको विकासको नारा जति राम्रो थियो, विकास सम्वन्धि बिगतको कामलाई हेर्दा, ब्यवहार मलाई त्यति चित्त बुझेको थिएन । हाम्रो जस्तो देशको निम्ति हुनुपर्ने र गर्नुपर्ने विकासको बारे सरकार “कन्फ्युज्ड” भए जस्तो लाग्थ्यो। पछिल्लो चरणमा भए गरेका स्थानिय तहका “भ्यू टावर” विकासे मोडेल र वातावरणीय प्रभाव र साँस्कृतिक संरक्षणलाई वास्ता नगरी गरेका “बुल्डोजर विकासे” मोडलबाट साह्रै दिक्क लागेको थियो । कहिले “पेट्रोल खानी” त कहिले “युरेनियम खानी”को उत्खनन् गरेर देशलाई धनी बनाउने योजना बुनेको देख्दा पनि नरमाइलो लाग्थ्यो । कैयन अर्थशास्त्रीहरुले देशलाई धनी बनाउन अगाडि सारेका प्रस्तावहरु देख्दा सुन्दा पनि हैरान हुन्थ्ये । देशको भरभराउँदो युवा पुस्तालाई बिना ठोस र दूरदृर्ष्टिको योजनामा अरबको मरुभूमीमा घचेटेको देख्दा त मन साह्रै पोल्थ्यो।
देशका खेतबारीहरु बाँझै छन् । गाउँघरमा युवाहरुको खडेरी छ । “देशमा के बस्नु, कमाउन बिदेश हिँड्नु पर्छ” भन्ने युवाहरुमा आम मानसिकता बढेको छ । एअरपोर्टमा दिनकै युवा जीवनहरु लास बनेर फर्किरहंदा, “हे भगवान!” भन्न मन लाग्थ्यो । देशका राजनैतिक नेता, कार्यकर्ता र कर्मचारीतन्त्रलाई “विकास” वा दिगो विकास के हो भन्ने बुझाउन नसक्दा झनै दिक्क दिक्क लाग्थ्यो । टिभिमा मन्त्रीज्यूहरुको बिना रसको भाषण सुन्नपर्दा कान नै बिरक्त हुन्थ्यो। यो मलाई मात्र होइन, म जस्तो सयौं र हज्जारौंलाई हुन्थ्यो होला ।
यस्तैबेला, एकदिन तत्कालिन एक जना माननीय मन्त्री (महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री पार्वत गुरुङ्ग)संग भलाकुसारी गर्ने मौका जुरेको थियो । मैले उहाँलाई सोधे, सरकारको विकास प्राथमिकता के हो भनेर? उहाँले धेरै कुरा बताउनु भो र “राष्ट्रिय गौरवका योजनाहरु”को बारेमा थप बेलिबिस्तार बताउनु भो । मैले उहाँलाई भने, “तर, के सामाजिक अभियानहरु हाम्रो देशको राष्ट्रिय गौरवको योजना हुन सक्दैनन् र?” भनेर सोधें। उहाँले भन्नू भो, त्यो भनेको के हो ? मैले जवाफमा भने, सामान्य छ, “बालबालिकाको निम्ति गुणस्तरिय शिक्षा र स्वास्थ्य”, “किशोर-किशोरीको निम्ति प्रजनन स्वास्थ्य शिक्षा (यौनशिक्षा)”, “युवाहरुको निम्ति परिणाममुखी युवा स्वरोजगार”, “बालबिबाहको निर्मुलन अभियान, महिला सीप र सशक्तिकरण अभियान, अपाङ्गता भएका ब्यक्तिहरुको सशक्तिकरण अभियान”, इत्यादि । उहाँले भन्नू भो यो त असाध्य खर्चालु हुन्न र ? मैले भने “हुन्छ, तर यो दिगो विकासको निम्ति हुने दिर्घकालिन लगानी हो ।” यो फलफुलको निम्ति गरेको बृक्षारोपण जस्तै हो । एकपल्टको लगानी, जीवनभरीको निम्ति सुरक्षा । यो कुरालाई एकदुई वटा कार्यक्रममा उहाँ संगसंगै उभिँदा, मैले सार्वजनिक रुपमा नै उठाए, पैरवी गरें । देशमा सामाजिक बिषय “राष्ट्रिय गौरवको योजना” किन हुन सकदैन ?” भनेर ।
यसपाली (२०७७), उहाँको अध्यक्षतामा आयोजित सामाजिक सेवा दिवसको सन्दर्भमा ” सामाजिक क्षेत्र” लाई “राष्ट्रिय गौरवको बिषय” बनाऔं” भनेर जब मूल राष्ट्रिय नारा तय भयो । म खुशीले गदगद भंए । सामाजिक सेवा दिवश मनाउन आयोजित भव्य भर्चुअल कार्यक्रममा मन्त्री पार्वत गुरुङ्गलाई सो कामको निम्ति हार्दिक धन्यवाद भएँदिएँ ।
यस लेखमा सो कुरा उठाउनुको अर्थ हो, नेपाल सरकारले आज शिलान्यास गरेका ३९६ आधारभूत अस्पतालहरु र ७ प्रादेशिक अस्पतालहरु मेरो लागि वास्तवमै “राष्ट्रिय गौरवको आयोजना” हुन् । लगानीको दृष्टिकोणले यो ठूलो छ। तर, यसले समाज विकास र जन सशक्तीकरणको निम्ति असाध्य ठूलो योगदान दिने छ, भन्ने मेरो धारणा छ । यसले देशमा विद्यमान विभेद, शोषण र गरिबिलाई हटाउन ठूलो मद्धत गर्नेछ ।
तर अस्पतालहरु भनेका भौतिक भवनहरु मात्रै होइनन् ।त्यसको निम्ति डाक्टर, नर्स र अन्य सहयोगी जनशक्तिको उतिकै आवश्यकता पर्दछ । औषधि र औजारहरुको पनि आवश्यकता पर्दछ । अस्पतालको निम्ति भवनहरु मात्रै उभेर पुग्दैन । साथसाथमा, अन्य धेरै कुराहरुको आवश्यकता पर्दछ । मुख्य कुरा त जनताको विश्वास र भरोसा हो । त्यसबारेमा त सरकारले सोचेकै होला ।
तर गम्भीर कुरा के हो भने सरकारले शुरु गरेको प्रस्तुत परियोजना लोकप्रिय राजनैतिक अभियान मात्र हो कि वास्तवमा नै राष्ट्रिय गौरवको अभिभारा हो ? अब यो कुरा एकबर्ष भित्रभित्रै सरकारले प्रमाणित गरेर देखाउन सक्नु पर्दछ । अन्यथा, यसैले सरकारको भएको साख पनि खत्तम पार्न पनि सक्छ। त्यसैले, म के आशा र भरोसा गर्दछु भने, बिगतको अनुभवहरुबाट शिक्षा लिएर सरकारको यो विशाल परियोजनाले भ्रष्टाचार, ढिलासुस्ति र अब्यवस्थालाई निमन्त्रणा गर्ने छैन बरु नियन्त्रण गर्ने छ भनेर । आशा गरौं, यो परियोजना आज एकैसाथ शिलान्यास भए जस्तै एक बर्ष भित्र नै यो संचालनको निम्ति एकैसाथ उद्घाटन हुनेछ। त्यसो भएमा सरकार जनताको बिच अझै लोकप्रिय र दिगो हुनेछ। आशा गरौं, सरकारले नागरिकलाई यसपाली कुनैपनि हालतमा पनि निराशा बनाउने छैन।
सरकारको यो नमूनायुक्त कामलाई सबैले सहयोग गरौं ! यसलाई समयमै सम्पन्न गर्न गराउन सद्भाव र दवाव संगसंगै प्रदान गरौं । यसले “जनस्वास्थ्यको माध्यम जन सशक्तीकरण” भन्ने कुरालाई स्थापित गर्न पनि सहयोग गर्नेछ।