रहस्यवाद र दर्शनशास्त्र
डा. गोविन्दशरण उपाध्याय ।
रहस्यवाद धर्मदर्शनको एउटा अंग हो । रहस्यवाद र दर्शनशास्त्रका फरकफरक धारका विषय हुन् । दर्शनशास्त्रमा तर्क महत्वपूर्ण हुन्छ भने रहस्यवादमा विश्वास, आस्था र तर्क तिनै विषयहरू समावेश हुन्छन् । प्रकृतिले हरेक मान्छेलाई स्वतन्त्र बनाएको हुँदा चिन्तन, मनन र बुझाईको पनि स्वतन्त्रता मान्छेले प्राप्त गरेको छ । आजसम्म दोस्रो व्यक्तिको अनुभूतिलाई ठ्याक्कै बुझ्ने बुझाउने कुनै माध्यमको छैन । यस अर्थमा हरेक व्यक्तिको व्यक्तिगत अनुभूति रहस्यमय नै हुन्छ ।
रहस्यवादको “कृष्णविवर“मा सबै थोक (सत्य असत्य) अटाउँछन् भने दर्शनशास्त्रले रहस्यवादको तार्कीक परीक्षा अवश्य गर्छ तर एउटा दर्शनशास्त्रीले रहस्यवादको सत्यलाई पूर्णउजागर गर्छ नै भन्न मिल्दैन ।
रहस्यवादको उत्तर रहस्यवादीसँग पनि नहुन सक्छ किनभने रहस्यवादीसँग आफ्नो अनुभूतिलाई व्यक्त गर्ने शब्द नहुन सक्छन् । त्यसैले रहस्यवाद धर्मसंँग बढी निकट छ । यसको अर्थ सबै रहस्यवादीहरू धार्मिक नै हुन्छन् भन्नु उचित हुँदैन । यदि कसैले आफ्नो अनुभूतिलाई शब्दका माध्यमबाट प्रकट गर्न सकिरहेको छैन भने क्रियाकलापका (आम मान्छेको भन्दा फरक व्यबहार प्रदर्शन) माध्यमबाट प्रकट हुनसक्छ ।
दर्शनशास्त्रले रहस्यवादको परीक्षा त गर्छ तर रहस्यवदीले बुझेको सत्यलाई सत्यापित गर्छ भन्न सकिन्न । एउटा कुरा पक्का हो ( दर्शनशास्त्रीहरूसंग रहस्यवादीले केही असहजता अनुभव गर्न सक्छ । तर एउटा रहस्यवादी दार्शनिक हुनसक्छ र एउटा दार्शनिक पनि रहस्यवादी हुन सक्छ । त्यसैले रहस्यवाद र दर्शनशास्त्रको सम्बन्ध अभिन्न छ ।