दशैं, रक्सी र मासु
डा. गोविन्दशरण उपाध्याय ।
मन पर्ने नपर्ने विषय तपाईंको हुर्काइ र बुझाईसँग सम्बन्धित हुन्छ र मन पनि हुर्काई र बुझाईबाट नै निर्मित हुन्छ । मनलाई कुन कुरा मन पर्छ र कुन कुरा मन पर्दैन ? यो एउटा रहस्यमय विषय हो र अनुभवकर्ताको ज्ञानसंग सम्बन्धित विषय हो । धेरैजसो मनको कुराहरू बुद्धि र विवेकले थिचेर तह लगाइन्छ भन्ने अनुसन्धान पनि भएका छन् । खासगरी आहार, रमाइलोपन, सुखप्राप्ति र यौनसुखका सवालमा मान्छेको बुद्धिले मनका चाहनाहरूलाई थिचेर राखेको हुन्छ भन्नेहरू छन् ।
दशैंको आसपास टेलिभिजन र युट्युवहरूमा आएका धेरै भिडियोहरूमा “दशैं भनेको नै मासु र रक्सी खाएर मोज गर्नु हो“ भन्ने किसिमका पूर्वाग्रहहरू देखिन्छन्, मानौं रक्सी र मासु नभए दशैं नै आउन्न ! यस्तै अतिवादी भिडियोहरूले नयाँपुस्ताहरूलाई रक्सीप्रति सकारात्मक “मन“को अभिमत निर्माण गर्छ । हरेक पसलमा सजिलै किन्न पाइने रक्सी नै यदि दशैं हो भन्ने “जड्याहा“हरू बढ्दैजाँदा परिवार र सरकारले खुसी हुनुपर्ने होइन र ? त्यस्तै देवी मन्दिरमा जथाभावी पशुहत्या गरेर जीब्रोको स्वाद मेटाउन “देवी भक्ति“ पनि मनले निर्माण गरेको जाल नै हो ।
रक्सी र मासुप्रति अति आशक्त मन सिकाइ र बुझाईको परिणाम हो भने यी प्रति अनासक्त पनि हुर्काई र बुझाईकै परिणाम हो । विश्वका ७६५ मान्छेहरू मांसाहारी छन् । हिन्दू, मुस्लिम र यहुदीहरूले देवीदेवता, अल्लाह र यहोवाका नाममा वलिदान गर्छन् । तर सत्य त के हो एउटा जीवको लागि उसको जीवन जति महत्वपूर्ण अरू केही हुँदैन । मान्छेले १०० वर्षको पूर्णायु बाँच्न पाउनुपर्छ भने कुखुराले पनि ३ वर्षको उसको आयु पूरा बाँच्न पाउनुनै पर्छ । प्रकृतिले सबैको आयु तोकेको छ र त्यो आयु उसको अधिकार हो ।
मुखबाट आरम्भ हुने मनको चाहना मेट्न कुनै पनि जीवलाई उसको पूर्णायु खोस्नु अनैतिक, पाप र तार्किक दृष्टिकोणले “मान्छे केन्द्रित“ चिन्तन हो । बुद्धि र विवेकको स्वार्थी प्रयोग हो । यदि कसैले पूर्णायु प्राप्त गरिसकेका (मृत)को आहार बनाउँछ भने मेरो कुनै शिकायत छैन । मान्छेलाई गाडेपछि किराले खाएर सिद्ध्याउने नै हुन् । जसले जुन तर्क दिए पनि प्रकृतिले एउटा जीवलाई शरीरसंग प्रदान गरेको पूर्णायु उसको अधिकार हो । जीब्रोसँग जोडिएको मनको उत्तर अस्वीकार्य छ । यदि प्रकृतिका जीवहरूले प्राप्त गरेको पूर्णायुसंग हामी असहमत छौँ भने मान्छेले पूर्णायु र शतायुको ढोंग नगरे हुन्छ ।
मनको गतिमा हिड्नेहरूले मनन् गर्नुपर्छ भने बुद्धि लगाएर मनको चाहनाका पक्षमा प्राकृतिक व्यबस्थाको उल्लंघन गर्नेरगराउनेहरूले तथाकथित मानवताको खोल उतारेर पशुयुगमा फर्के हुन्छ जहाँ मार्न र मर्न स्वतन्त्रता प्राप्त छ । पशुअधिकार वा मानवअधिकार दूवै चेतनाको अभाव छ । कार्लमाक्र्सले भनेझैं “त्यो आदिम समाजमा प्रकृतिको शासन हुन्छ भन्ने वा पशुको होइन “ त्यहाँ मन हुँदैन भोक हुन्छ, तीर्खा हुन्छ र शरीरको शक्ति हुन्छ ।
मन प्रजातान्त्रिक हुन सक्छ तर सत्य र हुँदैन । सत्य सधैं तर्कमा आधारित र कठोर नै हुन्छ । मनमा भरोसा गर्नेहरू र मनका चाहना (खराव)का पक्षमा अभिमत बनाउन बुद्धिको प्रयोग गर्नेहरू प्रकृतिका नियमहरूका सवालमा असत्यका व्यापारी हुन् । मासु, रक्सी खानु निजीपन हो तर निजीपनलाई प्राकृतिक नियम मान्नु र अरूमा थोपर्ने प्रयत्न गर्नु पुनः बुद्धिको असंगत प्रयोग हो, ढोंग हो । धेरैजसो ढोंगीहरू प्रजातान्त्रिक हुन्छन् ।