के म देश, समाज बदल्न हिंडेको थिएँ ?



जेपी गुप्ता ।

हिजो कोशी नदीको घाटमा गएको थिएँ । मेरो गाउँको नजिकै छ । गैरहने नै हो, तर हिजो भने पिताजीलाई पिण्डदान गर्न गएको थिएँ । झनकट्टा हो यो ठाउँको नाम। एकाध बुढापाका पनि थिए, जो मलाई जान्दथे । मेरा राजनीतिक जीवनका बारेमा चिन्ता राख्ने मेरा अग्रजहरू थिए जसले ३, ४ चोटी निरन्तर भोट दिएर मलाई सांसद बनाएका थिए । के अब तिमी चुनाव लडन पाउँदैनौ ? कहिल्यै पनि ? यो प्रश्नले मलाई जवाफ दिन बाध्य गराएको थियो । तर, म तिनीहरूलाई झुठो कुरा भन्न सक्दिन्थे । “सक्दिन होला। पहिले भ्रष्टाचारमा दोषी ठहरिए एक चुनावमा भाग लिन नपाउने कानून थियो क्यार । पछि सबै नेताहरू, पार्टीहरू मिलेर जीवनभर नै चुनाव लड्न नपाउने, पार्टीमा लाग्न नपाउने कानून बनाए। त्यसैले हो भने ।”

उनी भारततिर त लड्न पाउँछन् त ? सोधे। “मलाई धेरै जानकारी त छैन, तर त्यहाँ दुई बर्ष भन्दा कम जेल सजाय दिईएको छ भने एक चुनाव लड्न नपाउने हो क्यार” मैले भनें । अनि तिमी जस्तो कति जना यसबाट प्रभावित छन् त ? सोधेपछि मैले भन्नै पर्यो (दुई तीन जना। अरूहरू कोही छैन हामी जस्तो । के अब अरू कोही मुद्दा चल्ने खालका छैनन् भनी सोधे, मैले केही जवाफ दिईन ।

ती मध्येका एकले सप्तरी जिल्लाको एक भएको घटना सुनाउन थाले । नजिकैको गाउँको। त्यस गाउँको प्रधानजीले चोर पाल्दथे । मन नपरेकाहरूको घरमा चोरी गर्न लाउँथे । एउटा युवाले प्रधान र चोर बीचको मिलीभगत थाहा पाएर बिरोध गरे । केटो प्रधानजीका लागि खतरा हुँदै गएको थियो, यद्यपि ठूलो खतरा त थिएन । थाना पुलिस सब मिलेकै थियो । तैपनि त्यो खतरा राखी राख्नु ठिक नहुने ठानेर जुक्ति निकाले । प्रधानजीले गाउँलेको एक घरमा चोरी गर्न लगाएर ती केटाको पछाडिको बारीमा चोरी सामानको पोका फाल्न लगाए। खोजिनीतिमा ती बिरोधी केटालाई नै चोर ठहर्याए । थाना पुलिस भयो। केटो जेल गए, रिहा भए ।

तर, गाउँमा चोरी भैरहेकै थियो। केटो भय आक्रान्त हुन्थे, हरेकजसो चोरीमा ती केटोसंग सबभन्दा पहिला सोधिखोजी हुन्थ्यो, २, ४ दिन थुनिन्थ्यो केटो । अनुसन्धानको नाममा समय सर्दथ्यो। कुरो सेलाउँथ्यो, चोरी भएपछि फेरि त्यही केटोको सामाजिक गतिविधिमा प्रतिबन्ध लगाउने गरी निर्णयहरू गरिन्थ्यो । जस्तो कि हाटबजार जान नपाउने, सदरमुकाम जान नपाउने, थानेदारसँग भेट्न नपाउने, राजबिराजका पत्रकारहरूसँग सम्पर्क साँध्न नपाउने, गाउँको एक्लो भीएचएफ फोन बुथबाट तेल्ले कसैलाई फोन गर्न नपाउने आदि इतयादि । समाजले, भद्रभलाद्मीहरूले तर्जुमा गर्ने हरेक निर्णयहरू त्यही अभागी र दागी केटोलाई हेरी लिईन्थ्यो ।

गाउँमा चोरी जारी थियो। केटोले के के नयाँ नयाँ उपक्रम गरि चोरी गर्दा रै’छन् भनी सबै प्रतिबन्ध र सजायको भागी त्यसैलाई बनाईदै गईयो ।
ओह ! घाम धेरै चर्कीसकेको थियो । सिरान बर्षेर कोशीको पानी हिले भेल भैसकेको थियो । मेरो जीऊमा बेरिएको कृयापुत्रीको सेताम्य धोती पनि आगोको लप्का छोड्न लागेको थियो ।

म उनीहरूसंगै फर्किदै थिएँ । सोच्दै थिएँ यस्तो रैथाने ज्ञान भएको गाउँ छोडेर, अनुभवहरू न बुझेर म किन राजनीतिका लागि ललायित रहेको थिएँ ? म देश, समाज बदल्न हिडेको थिएँ !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधान संशोधनबाट एमाले पछि हट्न मिल्दैनः नेता साउद

राँझा (बाँके) । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री एनपी साउदले जनतालाई शान्ति,

विश्वकप खेल्ने नेपाली महिला क्रिकेट टोलीको बिदाइ

काठमाडौं । आइसीसी यू–१९ महिला विश्वकप क्रिकेट खेल्न मलेसिया जाने नेपाली टोलीको बिदाइ

संसद्लाई संसद्जस्तै रहन दिऔँ

-डा. शोभाकर पराजुली नेपालले संसदीय संरचना र संसद्को सर्वोच्चतासहितको शासकीय प्रणाली अपनाएको छ

नीतिगत रूपले हामी संविधान संशोधनको विपक्षमा होइन : संचारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले संविधान संशोधनको कुरामा कुनै तलमाथि