डा. गोविन्द केसीका कारण नयाँ मेडिकल कलेज खुल्न नपाएका हुन् ?



नारायण गाउँले ।
डा. गोविन्द केसीका कारण नयाँ मेडिकल कलेज खुल्न पाएनन्, हजारौँ विद्यार्थीले स्वदेशमा मेडिकल शिक्षा पढ्न पाएनन् र छिमेकी भारत या बङ्गलादेशतिर पढ्न जाँदा देशको अर्बौं रूपियाँ विदेशियो भन्ने सुन्नुभएको होला । मलाई पनि हो कि जस्तै लागेको थियो । तर रियालिटी अलग रहेछ । उनले समयमैं सुधारका लागि अथक सङ्घर्ष नगरेको भए आज मेडिकल शिक्षा काठमाडौंमा मात्रै सीमित हुने रहेछ । उनको अनवरत सङ्घर्षले काठमाडौँबाहिर स्वास्थ्य र स्वास्थ्य शिक्षामा ठूलो परिवर्तन आएको देख्न पाइयो । नत्र त काठमाडौंबाहिरका कलेज सुकेर जाने देखियो ।

छात्रवृत्तिबाहेकका कोटामा देशबाहिर मेडिकल शिक्षा पढ्न जानेहरू अत्यन्त न्यून रहेछन् । अहिले देशभित्रै मेडिसिन मात्रै होइन, इन्जिनियरिङ्ग, एग्रिकल्चर, फरेस्ट्री, साइन्स जस्ता आकर्षक र प्रवेश पाउन कठीन मानिने विषयमा समेत कोटाहरू नभरिने रहेछन् । मानविकी र वाणिज्य सङ्कायको अवस्था त नाजुक नै रहेछ । काठमाडौँ बाहिरका कतिपय कलेज र सङ्काय त बन्द हुने अवस्थामा पुगिसकेछन् । भएका विद्यार्थी जति अवसरको खोजीमा काठमाडौं केन्द्रित भएपछि बाहिर सुनसान हुँदै जाँदो रहेछ ।

मेडिकल शिक्षा चाहिँ त्यसो हुनबाट जोगिएको देखियो । केसीको सत्याग्रहपछि बनेको चिकित्सा शिक्षा आयोगले मेडिसिनका सबै विषयको परीक्षा लिने, रोलक्रम तोक्ने र त्यसै अनुसार भर्ना गर्ने काम एकीकृत रूपमा गर्ने रहेछ । फलस्वरूप देशभरि विद्यार्थी बाँडिने रहेछन् । न आफूखुशी कलेज छान्न पाइने, न कलेजले आफूखुसी भर्ना र शुल्क तोक्न पाउने । सबै काम पारदर्शी र अनुमान गर्न सकिने गरी हुँदो रहेछ । तुलनात्मक रूपमा चिकित्सा शिक्षा यतिबेला निकै सस्तो रहेछ । मेडिसिन पढ्न प्रवेश परीक्षा पास हुनै पर्ने नियमले यसको गुणस्तरलाई पनि टेवा पुग्छ होला । सिट पूरै नभरिने हुँदा पास भएपछि लगभग पढ्न पाइने रहेछ । तत्कालीन ’एसएलसी’मा टप आउने जति सबैलाई चर्को र अस्वस्थ विज्ञापन गरेर एउटै कलेजले लैजाने गरेको तपाईंलाई याद होला ।

केसीको मुख्य माग नै चिकित्सा शिक्षालाई सस्तो र गुणस्तरीय बनाउनुसँग सम्बन्धित थियो । एउटा विश्वविद्यालयले अनगिन्ती सम्बन्धन दिने काम विश्वका अन्य देशमा पनि हुँदैन । एकदम सूक्ष्म नियमन गर्न पर्ने र जनस्वास्थ्यसँग प्रत्यक्ष गाँसिएको विषयमा जथाभावी त रोकिनै पर्ने थियो । अहिले पाँचवटासम्म कलेजलाई एउटा विश्वविद्यालयले सम्बन्धन दिने र नर्सिंग पढाउन १०० बेडसम्मको आफ्नै हस्पिटल हुनुपर्ने व्यवस्था रहेछ ।

केसीको अर्को माग चिकित्सा शिक्षालाई काठमाडौंमा सीमित हुन नदिई देशभर पुरÞ्याउनुपर्ने थियो । आज जुम्लामा समेत मेडिकल शिक्षा पुगेको रहेछ । भरतपुरदेखि विराटनगरसम्म राम्रा शिक्षण अस्पताल चलेका रहेछन् । १५ वर्षअघि महाराजगञ्ज शिक्षण अस्पतालले लिने ओपीडी शुल्कभन्दा अहिलेका शिक्षण अस्पतालहरूको शुल्क कम हुनु ठूलो क्रान्ति हो । मेडिकल हब बन्दै गरेको भरतपुरस्थित चितवन मेडिकल कलेजमा जम्मा एक सय रुपियाँमा ओपीडी टिकट काट्न सकिने रहेछ । यो विश्वकै सस्तोमध्येको एक हुनुपर्छ । हामीलाई एक बनाई राख्ने मियो नै नभएको यो जटिल अवस्थामा राज्यका हरेक अङ्ग र निकायप्रति हाम्रो विश्वास घटेको छ र शङ्का नै शङ्का बढेको छ । यस्तोमा मेडिकल क्षेत्रमा पनि विश्वासको सङ्कट हुने नै भयो । तर अहिले जटिलतम रोगहरूको पनि देशभित्रै उपचार हुन सक्ने गरी ठूलो फड्को मारिएको सत्य हो ।

यो उपलब्धिलाई जगेर्ना गर्दै देशका कुनाकुनासम्म यस्तो सुलभ र विस्तृत सेवा विस्तार गर्न थप के गर्न सकिन्छ भन्नेमा सरकार र दलहरूले सोचे हुने हो । यो उपलब्धि नभत्काई देशका विभिन्न शहरमा आफ्नै सुविधासम्पन्न हस्पिटल अनि पूर्वाधार रहेका र कलेज सञ्चालन गर्न चाहनेहरूलाई विधिसम्मत केकसरी राज्यले सहजीकरण गर्न सक्छ भन्नेमा ध्यान दिनु जरूरी देखिन्छ । गुणस्तर अलि गाह्रो र अप्ठेरो इश्यु हो, त्यसमा फ्रेमवर्क र उपलब्धि हासिल भएको छ । अब सङ्ख्या बढाउन खास झन्झट नहुनुपर्ने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
एसइईमा यसरी नै आउने हो ७० प्रतिशत नतिजा प्रधानमन्त्रीज्यू ?

सुमना श्रेष्ठ । प्रधानमन्त्री ज्यू, यी अबोध बालबालिकालाई स्कुल ड्रेसमा कक्षाकोठाबाट निकालेर लाइन

रामेछापमा ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी

रामेछाप।  रामेछाप जिल्लाका विभिन्न विद्यालयमा सञ्चालित ‘एक विद्यालय एक नर्स’ कार्यक्रम प्रभावकारी देखिएको

दृष्टिविहीनका लागि विद्यालय सञ्चालन गर्न मधेश सरकारले सघाउने

धनुषा। मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले दृष्टिविहीनहरूका लागि आवाससहितको विद्यालय निर्माण गरी सञ्चालन

काठमाडौँ विश्वविद्यालय र धुलिखेल अस्पतालबीच समस्या समाधान गर्न सहजीकरण समिति गठन

काठमाडौं। काठमाडौं विश्वविद्यालयको ९८ औँ सभाको सोमबारको बैठकले सो विश्वविद्यालय र धुलिखेल अस्पतालबीचको