आवश्यक परे सरकारको प्रतिरोध गर्छौँः सभापति थापा


काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले व्यवस्था चल्नका लागि सरकारका जिम्मेवारी भएजस्तै विपक्षी पार्टीका पनि केही जिम्मेवारी हुने बताएका छन् ।

मंगलबार पार्टीको केन्द्रीय समिति बैठकमा सभापति थापाले कांग्रेस प्रमुख प्रतिपक्षको पार्टी भएकाले उसका पनि जिम्मेवारी हुने बताएका हुन् । उनले यो बेलामा प्रतिपक्षमा रहेका दलहरूका बीचमा गठनबन्धन गर्नुपर्ने पक्षमा कांग्रेस नरहेको बताए ।

उनले भने, ‘जहाँ सरकारसँग हातेमालो गर्नुपर्छ त्यहाँ हातेमालो गर्छौं, जहाँ सरकारलाई खबरदारी गर्नुपर्ने हो त्यहाँ खबरदारी गर्छौं, जहाँ सरकारलाई प्रश्न सोध्नुपर्ने हो त्यहाँ प्रश्न सोध्छौं ।’ उनले आवश्यक परे सरकारको प्रतिरोध गर्ने बताए ।

उनले कांग्रेस सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीभित्रको विवादमा नपस्ने बताए । उनले  २०७२ सालपछि मुलुकको राजनीति पूर्णतया सत्ता केन्द्रित भएको र १० वर्षमा दिनुपर्ने डेलिभरीमा चुक्दा भदौ २३ र २४ का घटनाहरू भएको बताए ।  उनले भदौ २३ र २४ गते भएका घटनालाई कम आँक्न नहुने निष्कर्ष निकालिएको बताए ।

उनले भने, ‘भदौ २३ मा भएको दमन र २४ गते भएको आपराधिक घटना हुन् भनेर हामीले महाधिवेशनबाट भनेका छौँ। भदौ २३ र २४ गते भएको घटनालाई अन्डरमाइण्ड गर्न हुन्न भन्ने निष्कर्ष निकालेका छौँ।’