सियोल। दक्षिण कोरियाले आफ्नो हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेका रूसी सैन्य विमानलाई हटाउन मङ्गलबार लडाकू विमान परिचालन गरेको जनाएको छ । रूसी विमानले कोरियाली प्रायद्वीप र जापानबीचको समुद्री क्षेत्रमा रहेको हवाई रक्षा क्षेत्रमा प्रवेश गरे पनि देशको क्षेत्रीय हवाई सीमा भने उल्लङ्घन नगरेको सेनाले स्पष्ट पारेको छ ।
उल्लेउङ टापुको हवाई क्षेत्र नजिक रूसी विमान उडेपछि सरकारले स्थानीय बासिन्दालाई सुरक्षित स्थानमा जान निर्देशन दिएको थियो । तर, विमान जोखिम क्षेत्रबाट बाहिरिएपछि तीन मिनेटमै उक्त निर्देशन फिर्ता लिइएको थियो । घटनाबाट टापुमा कुनै ठूलो अवरोध नभएको अधिकारीहरूले बताएका छन् ।
सेनाका प्रवक्ता जाङ डो–युङले रूसी विमानले यस वर्ष पटक–पटक हवाई रक्षा पहिचान क्षेत्रमा प्रवेश गरेको बताउँदै पछिल्लो घटनाबारे मस्कोसँग विरोध जनाउने तयारी भइरहेको जानकारी दिए । यसपटक कति विमान प्रवेश गरेका थिए भन्ने भने सेनाले खुलाएको छैन ।
हवाई रक्षा पहिचान क्षेत्र देशको वास्तविक क्षेत्रीय हवाई सीमाभन्दा बाहिरसम्म फैलिएको हुन्छ । यसले विदेशी विमानको पहिचान र निगरानी गरी आवश्यक प्रतिकार्यका लागि सेनालाई समय उपलब्ध गराउँछ ।
यसअघि सन् २०१९ मा पनि रूसी ए–५० प्रारम्भिक चेतावनी विमानले दक्षिण कोरियाको क्षेत्रीय हवाई सीमा उल्लङ्घन गरेको आरोपमा दक्षिण कोरियाली लडाकू विमानले डोक्डो टापु नजिक चेतावनी गोली चलाएका थिए । मस्कोले भने त्यसबेला आरोप अस्वीकार गरेको थियो ।
मङ्गलबारको घटना दक्षिण कोरियाले एक साताअघि पनि रूसी विमान हटाउन लडाकू जेट परिचालन गरेको घटनापछि भएको हो । यसैबीच, जापानले पनि आफ्नो दक्षिणपश्चिमी तट नजिक दुई शङ्कास्पद रूसी विमान देखिएको भन्दै मस्कोसँग विरोध जनाएको थियो ।

प्रतिक्रिया