बालाजुस्थित प्राचीन नानक मठमा गौशाला पुनर्निर्माणको शिलान्यास


काठमाडौं । काठमाडौं महानगरपालिका–१६, बालाजुस्थित विष्णुमती नदीको किनारमा रहेको प्राचीन उदासीन विष्णुमती नानक मठ परिसरको गौशाला पुनर्निर्माणका लागि शिलान्यास गरिएको छ।

महायोगी श्री ब्रह्महरिदास महाराजको जीवित भू–समाधिस्थलसमेत रहेको मठ परिसरमा काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल, बूढानीलकण्ठ नगरपालिकाका प्रमुख, काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष, गुठी संस्थानका प्रतिनिधि, स्थानीय बासिन्दा तथा श्रद्धालु भक्तजनको उपस्थितिमा शिलान्यास गरिएको हो।

लामो समयदेखि जीर्ण अवस्थामा रहेको गौशालाको पुनर्निर्माणका लागि मठका महन्त श्री नवलकिशोर दास महाराजले पहल गरेका थिए। काठमाडौं महानगरपालिकाबाट बजेट विनियोजन भई गुठी संस्थानबाट आवश्यक अनुमति प्राप्त भएपछि पुनर्निर्माण प्रक्रिया अघि बढाइएको मठले जनाएको छ।

रैथाने गाईको संरक्षण गर्ने योजना

प्राचीनकालदेखि साधुसन्तको आश्रयस्थलका रूपमा रहेको यस मठमा गौसेवा, धार्मिक अनुष्ठान तथा वैदिक कर्मकाण्डका लागि गाई पाल्ने परम्परा रहिआएको छ। स्थानीय बासिन्दासमेत नियमित रूपमा गौशालामा दर्शनका लागि आउने गरेका छन्।
गौशालाको भौतिक अवस्था जीर्ण हुँदा गाईको उचित स्याहार तथा स्वास्थ्य व्यवस्थापनमा समस्या देखिँदै आएको थियो। पुनर्निर्माणपछि गाईका लागि सुरक्षित, स्वच्छ र व्यवस्थित आश्रयस्थल उपलब्ध हुने अपेक्षा गरिएको छ।

मठ व्यवस्थापनले गौशालामा स्थानीय प्रजातिका रैथाने गाई राख्ने योजना बनाएको छ। यसबाट रैथाने गाईको संरक्षण हुनुका साथै स्थानीय बासिन्दालाई धार्मिक तथा सांस्कृतिक कर्मका लागि आवश्यक पर्ने गोबर, गोमूत्र र पञ्चगव्य सहज रूपमा उपलब्ध हुने विश्वास गरिएको छ।

ऐतिहासिक तथा आध्यात्मिक सम्पदाको केन्द्र

काठमाडौंको घना सहरी बस्तीबीच अवस्थित उदासीन विष्णुमती नानक मठ ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक दृष्टिले महत्वपूर्ण सम्पदास्थलका रूपमा रहेको छ।

मठका अनुसार यहाँ करिब ४१९ वर्षअघि तीन सिद्ध महापुरुषले लिएको जीवित भू–समाधिस्थल, नन्देश्वर महादेव मन्दिर, प्राचीन गौशाला, तुलसी मठ, नरसिंह, पशुपति, शिव–पार्वती, भीमसेन तथा संकटमोचन सिद्ध हनुमानका मूर्तिलगायत धार्मिक सम्पदा छन्।

मठ परिसरमा करिब सात सय वर्षदेखि निरन्तर प्रज्वलित रहेको मानिने अखण्ड धुनीसमेत छ। पञ्चायन देवता तथा वैदिक ग्रन्थको मन्दिर रहेको यस परिसरमा नियमित रूपमा पूजाआजा, आरती, भजनकीर्तन तथा धार्मिक अनुष्ठान सञ्चालन हुँदै आएका छन्।

जीवित महायोग साधना परम्परा

मठमा प्राचीन ऋषिमुनिहरूले अभ्यास गर्दै आएको महायोग साधना परम्परा अझै जीवित रहेको मठ व्यवस्थापनको भनाइ छ।
मठको परम्परागत वृत्तान्तअनुसार विक्रम संवत् १४५० तिर महायोगी ब्रह्महरिदास महाराज यस स्थानमा आएर जप, ध्यान, महायोग साधना, हवन, वैदिक ग्रन्थको अध्ययन तथा यज्ञ–अनुष्ठानमा संलग्न भएका थिए। लामो समयको साधनापछि उनी समाधिसिद्ध महायोगीका रूपमा प्रसिद्ध भएको धार्मिक मान्यता छ।

योग, ध्यान, स्वरविज्ञान तथा जडीबुटीमा आधारित परम्परागत आयुर्वेदिक ज्ञानको अभ्याससँग समेत उनको नाम जोडिएको छ। उनले आफ्ना शिष्यहरूलाई महायोग साधना तथा आत्मा, परमात्मा, जीवन र जगत्सम्बन्धी आध्यात्मिक ज्ञान प्रदान गरेको मठको परम्परागत वृत्तान्तमा उल्लेख छ।

सम्पदा संरक्षण र धार्मिक पर्यटनको सम्भावना

राजधानीको केन्द्रमै रहेर पनि पर्याप्त प्रचारप्रसार र संरक्षणको अभावमा ओझेलमा परेको यस मठलाई धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक पर्यटनको महत्वपूर्ण गन्तव्यका रूपमा विकास गर्न सकिने सम्भावना छ। गौशाला पुनर्निर्माणसँगै मठ परिसरमा रहेका प्राचीन सम्पदाको अभिलेखीकरण, संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न स्थानीय तह, गुठी संस्थान र सम्बन्धित सरकारी निकायबीच दीर्घकालीन सहकार्य आवश्यक देखिन्छ।

मठको भौतिक सम्पदासँगै यहाँ प्रचलित योग साधना, वैदिक अनुष्ठान, गौसेवा तथा आध्यात्मिक ज्ञानजस्ता अभौतिक सम्पदाको संरक्षण गर्न सके नयाँ पुस्तालाई मौलिक संस्कार, संस्कृति र परम्परासँग जोड्नसमेत सहयोग पुग्नेछ। प्राचीन गौशालाको पुनर्निर्माणलाई गाईको संरक्षणमा मात्र सीमित नराखी समग्र मठ परिसरको संरक्षण, धार्मिक पर्यटन प्रवद्र्धन र जीवित आध्यात्मिक परम्पराको निरन्तरतासँग जोड्ने अवसरका रूपमा लिन सकिन्छ।