पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई अनुशासनात्मक कारबाही गर्ने गगन थापाको चेतावनी


काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालदेखि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न सरकारसँग माग गरेका छन् ।

आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘हामी तयार छौँ’ अभियानअन्तर्गत स्थानीय तहका प्रतिनिधिहरूलाई आयोजित अभिमुखीकरण कार्यक्रममा सभापति थापाले भ्रष्टाचार तथा सम्पत्ति छानबिन निष्पक्ष रूपमा अघि बढाउनुपर्ने भन्दै कांग्रेस त्यसका लागि तयार रहेको बताएका हुन् । उनले २०४६ सालपछि सार्वजनिक ओहोदामा पुगेका सबैको सम्पत्ति जाँच गर्न र रोकिएका अनुसन्धानका फाइलहरू अघि बढाउन सरकारलाई आग्रह गरे ।

कांग्रेसका कुनै सदस्य भ्रष्टाचार वा अन्य गलत गतिविधिमा संलग्न भए कारबाही हुनुपर्नेमा पार्टी स्पष्ट रहेको उनले बताए । तर, अनुसन्धानका नाममा राजनीतिक प्रतिशोध साँध्ने वा निर्दोषलाई दुःख दिने काम स्वीकार्य नहुने उनको भनाइ थियो।

सभापति थापाले अनुसन्धान प्रक्रियामा कानुनी मापदण्ड पालना गर्नुपर्नेमा जोड दिँदै सरकारका निकायहरू कानुनअनुसार सञ्चालन हुनुपर्ने बताए। उनले कांग्रेसका लागि मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टीसहित सबै दलका नेता तथा सार्वजनिक पदाधिकारीमाथि एउटै मापदण्ड लागू हुनुपर्ने बताए ।

उनले पार्टीभित्र समानान्तर गतिविधि गर्नेहरूलाई अनुशासनात्मक कारबाहीको चेतावनी दिए । पार्टी विभाजनको बाटो रोज्नेहरूले राजनीतिक रूपमा अपेक्षित लाभ नपाउने भन्दै उनले एमाले विभाजनपछि माधव नेपालको अवस्थालाई उदाहरणका रूपमा प्रस्तुत गरे। उनले भने, ‘एमाले फुट्दै गर्दा अहिले माधव नेपाल कता हुनुहुन्छ भन्दिनुहोस्। सधैँभरि फुटको कुरा एकै तरिकाले जाँदैन।’पार्टी फुटेपछि फेरि मिलेर पद प्राप्त गर्न सकिन्छ भन्ने सोचमा नपर्न पनि उनले कार्यकर्ताहरूलाई आग्रह गरे ।