बर्दिबास । सरकारले बर्दिबास मेडिकल कलेज पूर्वाधार निर्माण आयोजना खारेज गर्ने निर्णय गरेपछि चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसी सत्याग्रहका लागि बर्दिबास पुगेका छन्।
मेडिकल कलेज आयोजना खारेज गर्ने सरकारी निर्णयको विरोध गर्दै दबाब दिन डा. केसीले बर्दिबास पुगेर स्थलगत अवलोकनपछि पुनः सत्याग्रहमा बस्ने निर्णय गरेका हुन्।
बर्दिबास मेडिकल कलेज स्थापना गर्ने योजना विभिन्न सरकारका कार्यकालमा अघि बढाइए पनि निर्माण प्रक्रिया अघि बढ्न नसक्दा आयोजना लामो समयदेखि अन्योलमा थियो। राजनीतिक दल, उद्योगी, व्यवसायी तथा स्थानीय समाजसेवीहरूले आयोजना कार्यान्वयनका लागि निरन्तर पहल गर्दै आएका थिए। तर, वर्तमान सरकारले आयोजना खारेज गर्ने निर्णय गरेपछि स्थानीयस्तरमा विरोध सुरु भएको थियो।
यसैबीच, आज बिहान डा. केसीसँग नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी जिल्ला इन्चार्ज प्रकाशहरी पोखरेलले भेटघाट तथा छलफल गरेका छन्। छलफलमा पार्टीका मधेस प्रदेश समिति सदस्य चुडामणि पोखरेल पनि सहभागी थिए।
बर्दिबास मेडिकल कलेज स्थापनाका लागि विभिन्न समयमा पहल, संवाद र छलफल गर्दै आएका प्रकाशहरी पोखरेलसँगको भेटमा डा. केसी बर्दिबास कुनै राजनीतिक दल, संस्था वा व्यक्तिको औपचारिक निमन्त्रणामा नभई आफ्नै पहलमा आएको जानकारी दिइएको छ।
२०७४ सालमा तत्कालीन शिक्षामन्त्री गिरिराजमणि पोखरेलको कार्यकालमा बर्दिबास मेडिकल कलेज स्थापनाको प्रक्रिया अघि बढाइएको थियो। त्यसक्रममा उपाध्यक्ष नियुक्त भएका डा. श्रीकृष्ण गिरी र डा. गोविन्द केसीबीच पनि मेडिकल कलेजको विषयमा पटकपटक संवाद र छलफल भएको थियो।
सरकारले आयोजना खारेज गर्ने निर्णय गरेपछि डा. केसीले स्थलगत अवलोकन गरी मेडिकल कलेज स्थापना अभियानको पक्षमा पुनः सत्याग्रह गर्ने निर्णय गरेका हुन्।

प्रतिक्रिया