घुमाउने पुल निर्माणः अर्थमन्त्रीको पहल, पूर्वाधारमन्त्री ‘एक्सन’मा


तनहुँ । एक दशकभन्दा लामो समयदेखि अलपत्र तनहुँ र चितवन जोड्ने घुमाउने पुल निर्माणले गति लिने भएको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको निरन्तर पहलपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साल पुल निर्माणलाई पूर्णता दिन कार्यान्वयनमा जुटेका छन्।

यसअघि निर्माण गरिएका संरचना प्राविधिक रूपमा सुरक्षित र उपयोगयोग्य भए आगामी दशैँसम्म पुल निर्माण सम्पन्न गर्ने गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको छ। विद्यमान संरचना उपयोग गर्न नमिल्ने अवस्थामा आवश्यक प्राविधिक अध्ययन, डिजाइन तथा अन्य तयारी पूरा गरी यथाशीघ्र निर्माण प्रक्रिया अघि बढाउने पूर्वाधारमन्त्री लम्सालको योजना छ।

वर्षौँदेखि राजनीतिक प्रतिबद्धता, प्राविधिक समस्या, डिजाइन परिवर्तन र ठेक्का व्यवस्थापनमा अल्झिएको आयोजनालाई वर्तमान सरकारले प्राथमिकताका साथ अघि बढाउन लागेको हो।

चार वर्षमा बन्नुपर्ने पुल १३ वर्षदेखि अलपत्र

तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने त्रिशूली नदीमाथिको घुमाउने पुल निर्माणका लागि २०७० असार २८ गते मृत सञ्जीवनी निर्माण सेवासँग ठेक्का सम्झौता भएको थियो।

निर्माण कम्पनीले नै डिजाइन तयार गरी निर्माण गर्ने ‘डिजाइन एन्ड बिल्ड’ प्रणालीअन्तर्गत १०५ मिटर लामो र फुटपाथसहित ११ मिटर चौडा पुल निर्माण गर्ने योजना थियो।

२०७४ असारसम्म निर्माण सम्पन्न गर्ने लक्ष्य राखिए पनि प्राविधिक समस्या, डिजाइन परिवर्तन र निर्माण व्यवसायीको कमजोर कार्यसम्पादनका कारण आयोजनाले गति लिन सकेन।

सुरुमा स्टिल ट्रस प्रविधिमा पुल निर्माण गर्ने सम्झौता भए पनि पछि डिजाइन परिवर्तन गरी ‘आर्क ब्रिज’ निर्माण गर्ने निर्णय गरिएको थियो। सोहीअनुसार २०७५ माघमा पुनः सम्झौता गरी २०७८ चैतसम्म निर्माण सम्पन्न गर्ने समयसीमा तोकिएको थियो।

तर, पटक–पटक म्याद थप गर्दासमेत त्रिशूली नदीका दुवै किनारमा निर्माण गरिएका अधुरा संरचनाभन्दा थप काम अघि बढ्न सकेन। अन्ततः सडक डिभिजन कार्यालय दमौलीले २०८३ वैशाख २९ गते पुरानो ठेक्का सम्झौता अन्त्य गरेको थियो।

सांसद हुँदादेखि नै अर्थमन्त्री वाग्लेको निरन्तर पहल

तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सांसद हुँदादेखि नै घुमाउने पुल निर्माण सम्पन्न गराउन निरन्तर पहल गर्दै आएका छन्।

उनले संसद्मा पटक–पटक यस विषयलाई उठाउनुका साथै सडक विभाग, सडक डिभिजन कार्यालय तथा सम्बन्धित प्राविधिक अधिकारीसँग छलफल गर्दै आएका थिए।

अर्थमन्त्रीको जिम्मेवारी सम्हालेपछि वाग्लेले पुरानो ठेक्का अन्त्य भइसकेको अवस्थामा नयाँ प्रक्रियामार्फत पुल निर्माण अघि बढाउने प्रतिबद्धता जनाउँदै पूर्वाधार विकासमन्त्री लम्सालसँग समेत समन्वय गरेका छन्।

चालु आर्थिक वर्ष २०८३/८४ मा पुल निर्माणको नयाँ प्रक्रिया अघि बढाउन एक करोड ५० लाख रुपैयाँ बजेटसमेत विनियोजन गरिएको छ।

आगामी दशैँसम्म निर्माण सम्पन्न गर्ने लक्ष्यसहित पूर्वाधारमन्त्री सक्रिय

अर्थमन्त्री वाग्लेको पहलपछि पूर्वाधार विकासमन्त्री लम्सालले आयोजनालाई थप अन्योलमा नराखी ठोस निर्णयसहित निर्माण अघि बढाउने तयारी गरेका छन्।

यसअघि निर्माण गरिएका पिलर तथा अन्य संरचनाको प्राविधिक अवस्था परीक्षण गरी तिनको उपयोगिता यकिन गर्नु अहिलेको प्राथमिकता हो।

विद्यमान संरचनाले प्राविधिक मापदण्ड पूरा गर्ने अवस्थामा तिनै संरचना उपयोग गरी आगामी दशैँसम्म पुल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। यदि ती संरचना उपयोग गर्न नमिल्ने अवस्था देखिए आवश्यक प्राविधिक अध्ययन, नयाँ डिजाइन, लागत अनुमान तथा ठेक्का प्रक्रिया यथाशीघ्र अघि बढाइनेछ।

लामो समयदेखि अलपत्र आयोजनालाई थप आश्वासनमा सीमित नराखी उपलब्ध प्राविधिक विकल्पका आधारमा निर्माण अघि बढाउने गरी पूर्वाधारमन्त्री लम्साल कार्यान्वयनमा उत्रिएका हुन्।

यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तनहुँका जिल्ला सचिव अनिल श्रेष्ठले पनि पुल निर्माण प्रक्रियालाई गति दिन सडक डिभिजन कार्यालय दमौलीका प्रमुख राजीव श्रेष्ठसँग विस्तृत छलफल तथा समन्वय गरेका छन्।

स्थानीयको वर्षौँदेखिको प्रतीक्षा

घुमाउने पुल निर्माणको माग गर्दै स्थानीय बासिन्दाले वर्षौँदेखि दबाबमूलक कार्यक्रम सञ्चालन गर्दै आएका छन्। हरेक निर्वाचनमा प्रमुख चुनावी एजेन्डा बन्ने गरेको पुल निर्माणले गति नलिएपछि स्थानीयमा निराशा बढ्दै गएको थियो।

गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका क्रममा समेत स्थानीयले पुल निर्माणको सुनिश्चितता माग्दै ‘नो भोट’ अभियान चलाएका थिए। उम्मेदवारहरूले निर्माणस्थलमै पुगेर लिखित प्रतिबद्धता जनाएपछि स्थानीय मतदान गर्न तयार भएका थिए।

पछिल्लो समय पनि पुल निर्माण संघर्ष समितिले आश्वासनभन्दा ठोस निर्माण प्रक्रिया सुरु गर्न सरकारलाई दबाब दिँदै आएको छ।

गण्डकी प्रदेशलाई तराईसँग जोड्ने महत्वपूर्ण पूर्वाधार

घुमाउने पुल तनहुँ र चितवनका स्थानीय बासिन्दाको आवागमनसँग मात्र सम्बन्धित आयोजना होइन। बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल गण्डकी प्रदेशलाई चितवन हुँदै तराईसँग जोड्ने महत्वपूर्ण वैकल्पिक यातायात पूर्वाधारसमेत हो।

पुल निर्माण सम्पन्न भई बुद्धसिंह मार्ग व्यवस्थित रूपमा सञ्चालनमा आए मुग्लिन हुँदै दमौली पुग्ने विद्यमान मार्गको तुलनामा यात्रा दूरी करिब २३–२४ किलोमिटर छोटिनेछ।

यसबाट यात्रा समय र यातायात खर्च घट्नुका साथै कृषि उपजको बजारीकरण, व्यापारिक गतिविधि, पर्यटन प्रवद्र्धन तथा स्थानीय आर्थिक विकासमा समेत महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिबद्धतालाई परिणाममा बदल्ने अवसर

विगतमा सांसदका रूपमा घुमाउने पुल निर्माणका लागि आवाज उठाउँदै आएका डा. स्वर्णिम वाग्ले अहिले अर्थ मन्त्रालयको नेतृत्वमा छन् भने इन्जिनियरिङ पृष्ठभूमिका सुनिल लम्साल पूर्वाधार विकास मन्त्रालयको नेतृत्वमा छन्।

अर्थमन्त्रीको पहल र पूर्वाधारमन्त्रीको कार्यान्वयनमुखी सक्रियताले वर्षौँदेखि अलपत्र आयोजनालाई पूर्णता दिने अपेक्षा बढाएको छ।

घुमाउने पुल निर्माण सम्पन्न हुनु स्थानीय बासिन्दाको वर्षौँदेखिको माग सम्बोधन हुनु मात्र नभई लामो समयदेखि अलपत्र सार्वजनिक पूर्वाधारलाई वर्तमान सरकारले कसरी परिणाममुखी ढंगबाट सम्पन्न गर्छ भन्ने उदाहरणसमेत बन्न सक्ने रास्वपा तनहुँका सचिव अनिल श्रेष्ठले बताए ।