काठमाडौँ । अस्ट्रेलियाका प्रख्यात क्रिकेटर डेभिड वार्नरले काठमान्डु गोर्खाजबाट नेपाल प्रिमियर लिग (एनपीएल) खेल्ने भएका छन् । गोर्खाजले सामाजिक सञ्जाल फेसबुकमार्फत् तेस्रो संस्करणको एनपीएलका लागि वार्नरलाई अनुबन्ध गरिएको जनाएको छ ।
अष्ट्रेलियाले जितेको दुुई वटा एकदिवसीय विश्वकप टोलीमा वार्नर सदस्य थिए । त्यसैगरी उनी टी२० विश्वकप विजेता अष्ट्रेलियन टोलीका पनि सदस्य हुन् । उनले अष्ट्रेलियाबाट सन् २०१५ र २०२३ को ओडीआई विश्वकप तथा सन् २०२१ को टी२० विश्वकप जितेका थिए ।
वार्नर अस्ट्रेलियाका लागि टेस्ट, ओडीआई र टी२० तीनवटै फर्म्याटमा शतक बनाउने खेलाडी पनि हुन् । उनी एनपीएल खेल्न आउने हालसम्मकै ठूला विदेशी खेलाडी हुने भएका छन् ।
उनले आईपीएल, अस्ट्रेलियाको बीबीएलसँगै पाकिस्तानको पीएसएल, इंग्ल्यान्डको द हन्ड्रेड, अमेरिकी मेजर लिग, बंगलादेशको बीपीएल, क्यारेबियन सीपीएल लगायत फ्रेन्चाइज लिग खेलेका छन् ।

प्रतिक्रिया