काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले विपत्तिपछि राहत, उद्धार तथा पुनःस्थापनाको कामलाई व्यवस्थित र पारदर्शी बनाउन उच्चस्तरीय संसदीय समिति गठन गर्नुपर्ने बताएका छन्।
मंगलबार सिंहदरबारस्थित सभामुखको कार्यालयमा सभामुख डीपी अर्यालसँग भेटवार्ता गर्दै आङदेम्बेले समसामयिक राजनीतिक विषय तथा प्रतिनिधिसभाका गतिविधिबारे छलफल गरेका हुन्।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले विपत्तिका बेला प्रभावित नागरिकलाई राज्यको अनुभूति दिलाउन संसदीय उच्चस्तरीय समिति आवश्यक रहेको बताए।
उनले भने, ‘पहिला सर्वदलीय बैठक सत्तापक्षका सभापतिज्यूले आह्वान गरेको सर्वदलीय बैठक थियो। र त्यो बैठक पछाडि विपत्तिमा सर्वदलीय ढङ्गबाट अनुगमन गर्ने, निर्देशन गर्ने, पारदर्शितालाई कायम राखेर व्यवस्थापनलाई थप व्यवस्थित गर्ने र पुनस्र्थापनाको पाटोमा साह्रै गम्भीरता र संवेदनशीलताका साथ पीडितहरूले राज्य रहेकै महसुस गर्न सकोस् भनेर परिकल्पना गरिएको थियो एउटा संसदीय उच्चस्तरीय समिति।’
सर्वदलीय बैठकमा समिति गठन गर्ने विषय उठेको र सत्तापक्षका सभापतिले संसद्को रोस्ट्रमबाट समेत त्यसलाई उल्लेख गरेको भन्दै उनले १७–१८ दिन बितिसक्दा पनि समिति गठन नभएको बताए।
उनले विपत्तिमा सहयोग गर्ने व्यक्ति तथा संस्थाबाट प्राप्त राहत र सहयोगको सदुपयोग भइरहेको छ भन्ने विषयमा समेत राज्यले स्पष्ट पार्नुपर्ने बताए।
आङदेम्बेले संसदीय उच्चस्तरीय समिति सरकारको विरोधका लागि नभई सरकारलाई थप व्यवस्थित र जिम्मेवार बनाउनका लागि आवश्यक रहेको स्पष्ट पारे।

प्रतिक्रिया