एमाले र कांग्रेसको गठबन्धन सरकार बनाउनु जरुरी छः शेखर कोइराला
मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थिरताका लागि नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कांग्रेसको गठबन्धनमा सरकार बनाउनु जरुरी रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा बिहीबार सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै कोइरालाले मुलुकमा अहिले देखिएको अप्ठ्यारो परिस्थिति अन्त्य गरी आर्थिक विकासका लागि गठबन्धन आवश्यक रहेकोमा जोड दिए ।
उनले प्रत्येक वर्ष सङ्घीय र प्रदेशको सरकार परिवर्तनले मुलुकमा समस्या उत्पन्न हुनाले एउटा स्थिर सरकार निर्माणका लागि कांग्रेस र एमालेको बाहेक अन्य विकल्प हुन नसक्ने प्रष्ट पारे । कोइरालाले पहिलो संविधानसभा निर्वाचनमा वामपन्थी पार्टीका चार प्रधानमन्त्री नियुक्त भए पनि संविधान निर्माणका लागि कांग्रेसक नै आवश्यक परेको विगत स्मरण गरे ।
उनले कांग्रेस र एमालेको संयक्त सरकार निर्माणको पहल आफूले सुरु गरेको चर्चा गर्दै समय आएपछि कार्यान्वयन हुने विश्वाससमेत व्यक्त गरे । उनले संयुक्त सरकार निर्माणका लागि नेता, दलबीच, निर्वाचन प्रणाली कसरी सुधार गर्ने विषयमा छलफल गरी निर्णय हुने बताए ।