‘बिचौलियाले भन्यो भन्दैमा करोडौँको आरोप लगाउन मिल्छ ?’


बनेपा । नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको भनाइ र सामाजिक सञ्जालमा फैलिएका अपुष्ट सूचनाका आधारमा पार्टीका नेता तथा नेतृत्वलाई बदनाम गर्न खोजिएको बताएका छन् ।नेपाली कांग्रेस काभ्रे जिल्ला कार्यसमितिले सोमबार आयोजना गरेको कार्यक्रममा शर्माले पूर्वसभापति शेरबहादुर देउवाको टिप्पणीप्रति लक्षित गर्दै प्रमाणबिना सार्वजनिक भएका आरोपलाई सत्यका रूपमा लिन नहुने बताएका हुन् ।

कुनै बिचौलियाले रकम लेनदेनबारे बोलेको भन्दै सामाजिक सञ्जालमा करोडौँ रुपैयाँको हिसाब सार्वजनिक गर्नु उचित नभएको उनको भनाइ थियो ।
‘एउटा बिचौलियाले कहीँ भन्यो अरे। त्यसैका आधारमा यति खायो रे, उति बुझायो रे, यति करोड बुझायो रे भनेर फेसबुकमा लेखेर हुन्छ ?’ शर्माले प्रश्न गरे ।

उनले सभापति गगन थापा र आफूलाई जोडेर करोडौँ रुपैयाँ बुझाएको भन्ने आरोपको आधारमाथि पनि प्रश्न उठाए । थापा मन्त्रीका रूपमा जम्मा आठ–नौ महिना जिम्मेवारीमा रहेको र आफू सांसद मात्रै भएको उल्लेख गर्दै शर्माले त्यस्ता आरोपको विश्वसनीयतामाथि प्रश्न गरेका हुन् ।

उनले भने, ‘एकपटक केवल स्वास्थ्य मन्त्री आठ–नौ महिना भएको गगन थापा र जिन्दगीमा मन्त्री कहिल्यै नबनेको, सांसद मात्रै बनेको विश्वप्रकाश शर्मा । करोडौँ–करोड बुझाउनुपर्यो भने हामी दुई भाइले बुझाउन सकौँला कि ? वर्षौंसम्म पटकपटक सत्तामा बसेका नेताहरू त उहाँहरूले बुझाउन सक्ने होइन र ?’

बिचौलियाको बयानलाई मात्रै प्रमाण मान्न नसकिने तर्क गर्दै उनले बैंक डकैतीमा पक्राउ परेको व्यक्तिले कसैको नाम लिँदैमा त्यसलाई अदालतले प्रमाणका रूपमा स्वीकार गर्छ कि गर्दैन भन्ने उदाहरणसमेत दिए ।

शर्माले कांग्रेसको विशेष महाधिवेशनदेखि १५औँ महाधिवेशनसम्मका सबै प्रक्रिया पार्टीको विधान, विधि र संविधानअनुसार सम्पन्न भएको दाबी गरे । बदलिएको राजनीतिक परिस्थिति र राष्ट्रिय आवश्यकताअनुसार पार्टीलाई नयाँ ढङ्गले अघि बढाउनुपर्ने अवस्था आएको उनको भनाइ थियो ।

उनले गगन थापाको नेतृत्वमा कांग्रेस योजनाबद्ध रूपमा अघि बढिरहेको उल्लेख गर्दै पार्टीलाई चुस्त, व्यवस्थित र बलियो बनाउन नेता तथा कार्यकर्तालाई एकजुट हुन आग्रह गरे ।