दुई वर्षपछि स्वदेश फर्किने तयारीमा हसिना, कागजात जारी गर्न आग्रह


रोयटर्स । बंगलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले भारतबाट स्वदेश फर्किने तयारीस्वरूप नयाँ राहदानी र राष्ट्रिय परिचयपत्र (एनआईडी) जारी गर्न आग्रह गरेकी छन् ।

रोयटर्सका अनुसार हसिनाले सोमबार नयाँ दिल्लीस्थित बंगलादेशी दूतावासमार्फत नयाँ राहदानी र परिचयपत्र उपलब्ध गराउन माग गरेकी हुन् । सन् २०२४ मा सत्ताच्युत भएपछि भारतमा निर्वासनमा रहेकी हसिनाले पहिलोपटक यसरी औपचारिक रूपमा कागजात माग गरेकी हुन् ।

हसिनाको यो कदमलाई आगामी डिसेम्बरमा बंगलादेश फर्किने उनको योजनाको अहिलेसम्मकै स्पष्ट संकेतका रूपमा हेरिएको छ । उनले यसअघि रोयटर्ससँगको कुराकानीमा अदालतसमक्ष आत्मसमर्पण गर्न स्वदेश फर्किने योजना रहेको बताएकी थिइन् ।

हसिनाका कानुनी प्रतिनिधि लन्डनस्थित म्याट्रिक्स चेम्बर्सले दिल्लीस्थित बंगलादेशी दूतावासकी कार्यवाहक उच्चायुक्त प्रीति रहमानलाई पत्र लेख्दै उनको पुरानो राहदानी र राष्ट्रिय परिचयपत्र अन्तरिम सरकारले रद्द गरेको उल्लेख गरेका छन् ।पत्रमा बंगलादेशी नागरिकताका आधारमा नयाँ राहदानी र परिचयपत्र जारी गर्ने प्रक्रिया शीघ्र अघि बढाउन आग्रह गरिएको छ ।

सन् २०२४ मा विद्यार्थी नेतृत्वको आन्दोलनमाथि भएको हिंसात्मक दमनमा संलग्न रहेको आरोपमा बंगलादेशको युद्ध अपराधसम्बन्धी अदालतले गत वर्ष नोभेम्बरमा हसिनालाई उनको अनुपस्थितिमै मृत्युदण्डको सजाय सुनाएको थियो । हसिनाले भने आफूविरुद्धका आरोप अस्वीकार गर्दै आएकी छन् ।

प्रधानमन्त्रीका रूपमा विभिन्न कार्यकाल गरी करिब २० वर्ष बंगलादेशको नेतृत्व गरेकी हसिनाको अवामी लिग पार्टी उनको सत्ताच्युतिपछि प्रतिबन्धमा परेको छ । पार्टीका कैयौँ नेता तथा कार्यकर्ता जेलमा छन् भने केही भारतलगायत अन्य देशमा निर्वासनमा छन् ।

हसिनाको स्वदेश फिर्तीले राजनीतिक रूपमा विभाजित बंगलादेशमा थप तनाव सिर्जना गर्न सक्ने देखिएको छ । यद्यपि, उनको फिर्तीले पछिल्लो समय तनावपूर्ण बनेको बंगलादेश र भारतबीचको सम्बन्ध सुधारमा समेत भूमिका खेल्न सक्ने आँकलन गरिएको छ ।