नेपाल सुपर लिगमा चितवनलाई तीन शुन्यले हराउँदै धनगढी शीर्ष स्थानमा


काटमाडौं । एफसी चितवनलाई तीन शुन्यको फराकिलो अन्तरले हराउँदै धनगढी एफसी नेपाल सुपर लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वर स्थित दशरथ रंगशालामा सम्पन्न खेलमा धनगढी एफसले एफसी चितवनमाथि ३–० को सानदार जित निकालेको हो । धनगढीको जितमा निशान लिम्बु, ओलावाले ओलाडिपो आफिज र बुद्ध बल तामाङले गोल गरे । पहिलो हाफमा दवावमा खेलेको धनगढीले दोस्रो हाफमा सुधारिएको खेल पस्कदै तीन गोल गर्न सफल भएको थियो ।

जितपछि धनगढीले चार खेलमा सात अंक बनाउदै लिगको शीर्ष स्थानमा उक्लिएको छ । चितवनको भने तीन खेलमा पहिलो हार ब्यहोरेको छ । उसले यसअघिका दुई खेलमा बराबरी खेलेको थियो ।

नेपाल स्पोर्टस म्यानेजमेन्टले आयोजना तथा अखिल नेपाल फुटबल संघको प्राविधिक सहयोगमा हुने एनएसएलमा ७ शहरका ७ टोलीको सहभागिता रहेको छ । राउण्ड रोबिनको आधारमा हुने लिग १ जेठसम्म सञ्चालन हुनेछ । एनएसएलमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, धनगढी एफसी, पोखरा थन्डर्स र बुटवल लुम्बिनी एफसी रहेका छन् ।