महिला कबड्डी टोलीले भारतमा अभ्यास गर्ने


काठमाडौँ । नेपाली महिला कबड्डी टोलीले २० औँ एसियाली खेलकुदको तयारी भारतमै गर्ने भएको छ । एसियाडको पुरुष कबड्डी टोली पनि हाल भारतमै प्रशिक्षणरत छ ।

नेपाली महिला कबड्डी टोलीले भारतको हरियाणास्थित भाइब्रेन्ट इन्टरनेसनल स्कुल एन्ड कबड्डी एकेडेमीमा एक महिना अभ्यास गर्ने छ । त्यसपछि टोलीले भारतकै जयपुर र उत्तर प्रदेशमा अभ्यास खेल खेल्नुका साथै अभ्यासलाई निरन्तरता दिने छ ।

आगामी असोज २ गते टोली भारतबाटै एसियाली खेलकुदमा सहभागी हुन जापान जाने कार्यक्रम रहेको छ । एसियाली खेलकुद आगामी असोज ३ गतेदेखि सुरु हुनेछ । महिला टोलीमा मानमती विष्ट (कप्तान), जयन्ती बडू, रविना चौधरी, मेनुका राजवंशी, मीना नेपाली, खिममाया खत्री, गङ्गा घिमिरे, सिर्जनाकुमारी थारु, नानुमाया पराजुली, विनिता पण्डित क्षेत्री र आस्मा यादव रहेका छन् ।

खिममायाको भने २० औँ एसियाड ‘डेब्यु’ अन्तरराष्ट्रिय प्रतियोगिता हुनेछ । टोलीकी अर्की सदस्य अनुजा कुलुङ राई भने प्राविधिक कारण (मेडिकल) २० औँ एसियाडमा सहभागी नहुने भएकी छिन् । उनको स्थानमा कुन खेलाडीलाई राख्ने भन्ने विषयमा चाँडै निर्णय गर्नेअखिल नेपाल कबड्डी सङ्घका महासचिव अरविन्दकुमार झाले बताए ।

मुख्य प्रशिक्षकमा पार्वती राई, प्रशिक्षकमा लोकबहादुर विष्ट र व्यवस्थापकमा शरद् दर्शनधारी रहेका छन् । महिला कबड्डीमा आठ राष्ट्रको सहभागिता रहने छ । समूह ‘बी’ मा रहेको नेपालले श्रीलङ्का, थाइल्यान्ड र चाइनिज ताइपेईंसँग खेल्ने छ । ताइपेईं गत संस्करणको उपविजेता हो । फाइनलमा ताइपेईं भारतसँग एक अङ्कको अन्तरले पराजित भएको थियो । समूह ‘ए’ मा इरान, जापान, बङ्गलादेश र भारत छन् ।

एसियाली खेलकुदमा महिला टोलीको यो दोस्रो सहभागिता हो । यसअघि महिला टोलीले चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा पहिलोपटक सहभागिता जनाएको थियो । त्यसबेला टोलीले ऐतिहासिक कास्य पदक प्राप्त गरेको थियो ।

हाङझाव एसियाडमा पदक जितेकामध्ये छ खेलाडी अहिलेको टोलीमा छन् । मानमति, जयन्ती, रविना, मेनुका, गङ्गा र सिर्जना पदक जितेका टोलीका सदस्य हुन् । हाङझाव एसियाडमा पनि पार्वती नै मुख्य प्रशिक्षक थिइन् । महिला कबड्डी टोलीले इरानमा भएको एसियाली कबड्डी प्रतियोगिता तथा चीनमा भएको एसियाली बिच खेलकुदमा कास्य जितेको थियो ।

महिला टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव रामचरित्र मेहता, कबड्डी सङ्घकी अध्यक्ष तुलसी थापा र राष्ट्रिय टिम तयारीका निर्देशक दीपक विष्टले बुधबार आयोजित एक कार्यक्रमबीच सफलताको शुभकामना दिँदै बिदाइ गरे ।