‘पार्वती’ मा दिदीभाइको माया


काठमाडौँ । भदौ १२ देखि प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘पार्वती’ को टिजर सार्वजनिक भएको छ । दिदीभाइको माया तथा अटिजमलाई केन्द्रमा राखेर बनाइएको चलचित्रको टिजरमा पात्रको नाम तथा सम्बन्ध खुलाइएको छ।

टिजरको पहिलो झलकमा बाल कलाकार अशोक दर्जी (किरण)ले अभिनेत्री नीता ढुगांना (पार्वती)लाई ‘दिदी तिमीलाई सबैभन्दा बढी माया कसको लाग्छ। पावर्तीको उत्तर हरेक पटक एउटै हुन्छ, ’किरण’। त्यो संवाद तथा दृश्यले चलचित्रमा दिदीभाइको मायामा समेटिएको संकेत गर्छ। टिजरमा ‘पार्वती’ लाई अटिजमको समस्या भएको देखिन्छ ।

‘पार्वती’लाई स्वयं अभिनेत्री नीताले निर्देशन गरेकी छन्, भने मुख्य भूमिकामा उनी र अशोक छन्। दीपाश्री निरौला, सिरु विष्ट, राधिका कँडेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतका कलाकारको अभिनय रहेको छ ।

शिवम् अधिकारीले पटकथा तयार पारेको यस चलचित्रमा सुदीप बरालको छायांकन र रामजी लामिछानेको नृत्य निर्देशन छ। नीता फिल्म्सको प्रस्तुतिमा निर्माण भएको चलचित्रका निर्माता हरिहर अधिकारी हुन् भने कार्यकारी निर्माता तथा प्रोडक्सन म्यानेजर शंकर पाण्डे हुन्।