यस्ता छन् रास्वपा केन्द्रीय समिति बैठकका ११ निर्णय


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टीका विभिन्न संगठनात्मक तथा राजनीतिक निर्णय गरेको छ। बुधबार बसेको बैठकले पार्टी सभापति रवि लामिछानेको प्रस्तावमा बालेन्द्र साहलाई सर्वसम्मत रूपमा पार्टीको वरिष्ठ नेता मनोनित गर्ने निर्णय गरेको छ।

बैठकले पार्टी विधानअनुसार पार्टी सचिवालय गठन गरेको छ। सचिवालयमा सभापतिसहित उपसभापतिद्वय डा. स्वर्णिम वाग्ले र सोबिता गौतम, महामन्त्री विपिन कुमार आचार्य तथा सहमहामन्त्रीहरू असिम शाह, हरि ढकाल र निशा डाँगी सदस्य रहनेछन् ।

बैठकले सुनसरीलगायत जिल्लामा हालै भएका घटनामा ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ भने घाइते नागरिक तथा सुरक्षाकर्मीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ।

रास्वपाले पहिलो ऐतिहासिक महाधिवेशनको विस्तृत समीक्षा गर्दै संगठनलाई थप सुदृढ बनाउन सम्पूर्ण प्रक्रियाको अध्ययन गर्ने निर्णय गरेको छ। साथै बैठक सञ्चालन, सदस्यता, जिम्मेवारी बाँडफाँट तथा विभागसम्बन्धी कार्यविधिसहितका संगठनात्मक दस्तावेज पारित गरेको छ।

बैठकले विभागीय नेतृत्वका आकांक्षी केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्यसँग स्पष्ट लक्ष्यसहित ६ महिनाको कार्ययोजना माग गर्ने निर्णय गरेको छ। सरकारमा सहभागी मन्त्रीहरूको कार्यसम्पादन प्रभावकारी बनाउन हरेक महिना कम्तीमा एक दिन पार्टी कार्यालयमा केन्द्रीय समितिसँग प्रत्यक्ष छलफल गर्ने व्यवस्था पनि गरिएको छ।

यस्तै, आगामी स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै भदौ १ गतेदेखि ’क्यान्डिडेट क्लब’ का लागि आवेदन खुला गर्ने निर्णय गरिएको छ। अन्तर्राष्ट्रिय युवा दिवस २०२६ भव्य रूपमा मनाउने तथा त्यसको संयोजकको जिम्मेवारी केन्द्रीय सदस्य कविन्द्र बुर्लाकोटीलाई दिने निर्णय पनि बैठकले गरेको छ।

बैठकले नागरिकका गुनासा सुनुवाइ र सहजीकरणका लागि सबै तहका पार्टी कार्यालयमा नियमित रूपमा जनप्रतिनिधिको उपस्थिति सुनिश्चित गर्ने संयन्त्र बनाउने निर्णय गरेको छ। साथै आत्महत्या तथा आत्मदाहजस्ता संवेदनशील घटनासम्बन्धी सामग्री सामाजिक सञ्जालमा शेयर वा प्रसारण नगर्न पार्टीका सबै सदस्यलाई निर्देशन जारी गरेको छ।