त्रिशूली–१ को सुरुङबाट निकालिएका २४ शव भएनन् सनाखत, प्रहरीले निकाल्यो सार्वजनिक सूचना


काठमाडौं । रसुवाको भोटेकोसी हुँदै त्रिशूली नदीमा आएको बाढीबाट त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङमा मृत्युु भएका २४ जनाको शव प्रहरीले निकाले पनि सनाखत हुन सकेको छैन । ती शव प्रहरीले निकालेर नुवाकोट ल्याएको छ।

शव सनाखत नभएपछि सम्पर्कमा आएर सनाखत गरिदिन हराएका व्यक्तिका परिवारजन र आफन्तलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटले सार्वजनिक आह्वान गरेको छ । नुवाकोट प्रहरीका प्रवक्ता डीएसपी इकवाल हवारीले निकालेको सूचनामा आफन्त र परिवारजनलाई शव राखिएको नुवाकोटको विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय, खम्बाक्याम्प परिसरमा आउन भनिएको छ ।

रसुवाको आमाछोदिङ्गो गाउँपालिका–१ हाकुस्थित २१६ मेगावाट क्षमताको त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट असोज १ र २ गते गरी २४ वटा शव निकालिएको थियो । ती शव असोज ३ गते नेपाली सेनाको हेलिकप्टरमार्फत विदुर नगरपालिका–६ स्थित केन्द्रीय कारागार कार्यालय परिसरमा ल्याइएको हो ।

बाढीपछि लामो समयदेखि सम्पर्कविहीन रहेका आफन्तको शव हुनसक्ने भएकाले पहिचानका लागि परिवारजनलाई आवश्यक सहयोग गर्न अनुरोध गरिएको डीएसपी हवारीले बताए । शवको सनाखत तथा आवश्यक समन्वयका लागि नुवाकोट प्रहरीले प्रहरी निरीक्षक आशिष साहलाई सम्पर्क व्यक्ति तोकेको छ ।