ललितपुर । विश्व मुटु दिवस २०२६ को अवसरमा ललितपुर महानगरपालिका–२८, हरिसिद्धिमा आयोजित एकदिने निःशुल्क मुटु स्वास्थ्य शिविरबाट २८० जनाले स्वास्थ्य सेवा लिएका छन्।
नेपाल हार्ट फाउन्डेसन ललितपुर जिल्ला शाखा, हार्ट क्लब नेपाल केन्द्र तथा ललितपुर जिल्ला शाखा, ललितपुर महानगरपालिका–२८ र हरिसिद्धि स्वास्थ्य चौकीको सहकार्यमा असोज ३ गते शिविर सञ्चालन गरिएको हो।
शिविरमा वरिष्ठ मुटुरोग विशेषज्ञसहित ६ जना चिकित्सकको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरेको थियो। सहभागीहरूको मुटुको विद्युतीय गतिविधि परीक्षण (ईसीजी), रगतमा बोसोको मात्रा परीक्षण (लिपिड प्रोफाइल), रक्तचाप तथा रगतमा चिनीको मात्रा जाँच गरिएको थियो।
विशेषगरी ज्येष्ठ नागरिक, दीर्घरोगी तथा नियमित स्वास्थ्य परीक्षणको पहुँचमा कठिनाइ भएका स्थानीय बासिन्दालाई लक्षित गरी शिविर सञ्चालन गरिएको आयोजकले जनाएको छ। सहभागीहरूले आफ्नै घरदैलोमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य परीक्षण र आवश्यक परामर्श प्राप्त गरेका थिए।
शिविर सञ्चालनका लागि चिकित्सकसँगै ईसीजी, रक्तचाप, लिपिड प्रोफाइल तथा रगतमा चिनीको मात्रा परीक्षण गर्ने छुट्टाछुट्टै टोली परिचालन गरिएको थियो। नाम दर्ता, सेवाग्राही व्यवस्थापन तथा अन्य प्राविधिक कार्यमा पनि स्वयंसेवक खटिएका थिए।
कार्यक्रममा वडा कार्यालय, हरिसिद्धि स्वास्थ्य चौकी, नेपाल हार्ट फाउन्डेसन र हार्ट क्लब नेपालका पदाधिकारी तथा सदस्यहरूको सहभागिता थियो। स्वास्थ्य चौकीसँग आबद्ध १६ जना महिला स्वास्थ्य स्वयंसेविकासहित विभिन्न संस्थाका स्वयंसेवकले शिविर व्यवस्थापनमा सहयोग गरेका थिए।
आयोजकका अनुसार शिविरमा सहभागी ज्येष्ठ नागरिक तथा दीर्घरोगीले घरनजिकै निःशुल्क परीक्षण र विशेषज्ञ परामर्श प्राप्त गर्न पाएकोमा खुसी व्यक्त गरेका थिए।
कार्यक्रम सम्पन्न भएपछि आयोजक संस्थाहरूले शिविरमा खटिएका चिकित्सक, स्वास्थ्यकर्मी, स्वयंसेवक तथा व्यवस्थापनमा सहयोग गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्। वडा कार्यालयले शिविरका लागि स्थान, खाना, खाजा तथा अन्य व्यवस्थापकीय सहयोग उपलब्ध गराएको थियो।
कार्यक्रममा ललितपुर महानगरपालिका–२८ का वडाध्यक्ष वीरेन्द्र महर्जन, हरिसिद्धि स्वास्थ्य चौकीकी इन्चार्ज विमला केसी, नेपाल हार्ट फाउन्डेसन ललितपुर जिल्ला शाखाका सभापति डा. लछी सिंह, हार्ट क्लब नेपाल केन्द्रका अध्यक्ष निर्मल प्रधानाङ्ग र हार्ट क्लब नेपाल ललितपुर जिल्ला शाखाका सभापति बालकृष्ण तुलाघरलगायतको सहभागिता थियो।
मुटुरोगको जोखिम पहिचान, नियमित स्वास्थ्य परीक्षण र समयमै चिकित्सकीय परामर्शको महत्त्वबारे जनचेतना अभिवृद्धि गर्न यस्ता समुदायस्तरीय स्वास्थ्य शिविर उपयोगी हुने आयोजकले जनाएको छ।

प्रतिक्रिया