विश्व स्मार्टवाच बजारमा हुवावेको अग्रता कायमै, बजार हिस्सा २१ प्रतिशत नाघ्यो


काठमाडौं । हुवावेले सन् २०२६ को पहिलो छमाहीमा विश्वव्यापी स्मार्टवाच बजारमा पहिलो स्थान कायम राखेको जनाएको छ।

अन्तर्राष्ट्रिय बजार अनुसन्धान संस्था आईडीसीको त्रैमासिक वेयरेबल उपकरणसम्बन्धी पछिल्लो प्रतिवेदन (IDC Quarterly Wearable Device Tracker) लाई उदृत गर्दै कम्पनीले यस अवधिमा विश्वव्यापी स्मार्टवाच बजारमा आफ्नो हिस्सा २१ प्रतिशतभन्दा बढी रहेको जानकारी दिएको हो।

कम्पनीका अनुसार प्रविधिगत नवप्रवर्तन, नयाँ उत्पादनको विकास तथा विभिन्न उमेर समूह र जीवनशैलीका उपभोक्तालाई लक्षित स्मार्टवाचको विस्तारले विश्वव्यापी बजारमा हुवावेको उपस्थितिलाई थप सुदृढ बनाएको छ।

हुवावेले शारीरिक तन्दुरुस्ती, दौड तथा अन्य खेलकुद गतिविधिको मापनदेखि दैनिक स्वास्थ्य अनुगमनसम्मका आवश्यकता पूरा गर्ने स्मार्टवाच तथा अन्य पहिरनयोग्य विद्युतीय उपकरण विकास गर्दै आएको छ। कम्पनीले आधुनिक डिजाइनसँगै स्वास्थ्यसम्बन्धी जानकारी, खेलकुद गतिविधिको अभिलेख तथा दैनिक प्रयोगमा उपयोगी प्रविधिलाई प्राथमिकता दिएको जनाएको छ।

सन् २०२६ को पहिलो छमाहीमा हुवावेले हुवावे वाच जीटी रनर २ (HUAWEI WATCH GT Runner 2), हुवावे वाच फिट ५ सिरिज (HUAWEI WATCH FIT 5 Series) र हुवावे वाच किड्स एक्स १ सिरिज (HUAWEI WATCH KIDS X1 Series) लगायतका नयाँ उत्पादन सार्वजनिक गरेको थियो।

यी उपकरण विभिन्न प्रयोगकर्ताका आवश्यकतालाई ध्यानमा राखेर स्वास्थ्य अनुगमन, खेलकुद गतिविधिको मापन तथा दैनिक प्रयोगका लागि विकास गरिएको कम्पनीको भनाइ छ।

विश्वव्यापी बजारमा हासिल गरेको उपलब्धिसँगै हुवावेले नेपाली बजारमा पनि स्मार्टवाच तथा अन्य पहिरनयोग्य विद्युतीय उपकरणको उपलब्धता विस्तार गर्दै आएको जनाएको छ। हालै नेपालमा सार्वजनिक गरिएको हुवावे वाच फिट ५ सिरिजले कम्पनीको स्थानीय उत्पादनको दायरालाई थप फराकिलो बनाएको छ।

हुवावेले आगामी दिनमा पनि प्रविधिगत नवप्रवर्तनलाई निरन्तरता दिँदै नेपालसहित विश्वभरका उपभोक्तालाई स्वस्थ, सक्रिय र प्रविधिसँग जोडिएको जीवनशैली अपनाउन सहयोग पुर्‍याउने उपकरण विकास गर्ने प्रतिबद्धता जनाएको छ।