एसिया राइजिङ स्टार्स कपमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित


काठमाडौँ । एसिया राइजिङ स्टार्स कप क्रिकेटमा नेपालले पहिलो खेलमा लज्जास्पद हार बेहोरेको छ । शुक्रबार भएको खेलमा नेपाल भारत ‘ए’सँग ३०६ रनले पराजित भएको हो । ३३३ रनको विशाल लक्ष्य पछ्याएको नेपाल ११.३ ओभरमा २६ रनमै अलआउट भयो ।

नेपालका चार ब्याट्सम्यान शून्य रनमै आउट भए । ओपजरद्वय कुशल भुर्तेल र अर्जुन कुमाल खाता नै नखोली आउट भए भने बसिर अहमद र लोकेश बम पनि शून्य रनमै पभेलियन फर्किए ।

नेपालको इनिङ्स ध्वस्त पार्न भारतका प्रिन्स यादवले पाँच, हर्षित राणाले चार तथा शाहवाज अहमदले एक विकेट लिए । त्यसअघि कतारको दोहास्थित वेस्ट इन्ड पार्क अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको भारतले ५० ओभरमा ९ विकेटको क्षतिमा ३३२ रन जोड्यो ।