गगनलाई ‘सभापति स्वीकार गरेर’ पूर्णबहादुरको फेसबुक पोस्ट, कांग्रेस विभागनको डिलमा पुगेको दाबी


काठमाडाैँ । नेपाली कांग्रेसका पूर्वउपसभापति पूर्णबहादुर खड्काले ‘कुनै चमत्कार नभए’ पार्टी विभाजनको डिलमा पुगेको बताएका छन् ।

सामाजिक सञ्जाल फेसबुकमा आइतबार उनले लेखेका छन्, ‘अब यदि कुनै चमत्कार भएन भने नेपाली कांग्रेस पार्टी विभाजनको अन्तिम डिलमा पुगेको अवस्था छ !’

पार्टीभित्र दुई पक्षले १५औँ महाधिवेशन तोकेर समानान्तर गतिविधि गरिरहँदा पछिल्लो समय खड्का भने कतै खुलेका थिएनन् । तर सुरुमा उनी देउवा समूहमा नै थिए । चुनदेवीमा देउवा समूहको छुट्टै कार्यालय उनैले उद्घाटन गरेका थिए । देउवा पक्षका धेरै नेता १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई समायोजना गरिएपछि केन्द्रीय समिति बैठकमा भाग लिन सानेपा गएका थिए ।

नेता खड्काले सम्भावित पार्टी विभाजनलाई रोक्न अन्तिम प्रयास गरिरहेको जानकारी गराएका छन् । उनले पुनरावलोकन मागसहित आफू अदालत गएको हुँदा र अदाललते मुद्दा विचाराधिन अवस्थामा राखिरहेकोले महाधिवेशनको प्रक्रिया सहभागी नभएको बताएका छन् ।

कांग्रेसको विशेष महाधिवेशन हुँदा खड्का कार्यवाहक सभापति थिए । तर उनले महाधिवेशनमा भाग लिएनन् । उनको समूहले गगन थापालाई सभापति अस्वीकार गर्दै आएको थियो । तर यसपटक खड्काले फेसबुक पोस्टमार्फत थापालाई सभापति स्वीकार गरेका छन् ।

‘निर्वाचन आयोगले अपनाएको प्रक्रिया र डिभिजन बेन्चको निर्णयमा त्रुटि देखाउँदै मुद्दा पुनरावलोकन गर्ने गरी हामीलाई निस्सा दियो र सो मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधिन अवस्थामा रहेको छ,’ खड्काले भनेका छन्, ‘यस्तो अवस्थामा सभापति गगन थापाको नेतृत्वमा प्रारम्भ भएको कांग्रेसको महाधिवेशनमा भाग लिनु चरम अनैतिक काम हुने मेरो विश्वासको कारणले म महाधिवशनमा सहभागी नभएको व्यहोरा सम्बन्धित सबैमा प्रष्ट पार्न चहान्छु ।’

महाधिवेशनको कार्यहरू रोक्न माग गर्दै अदालतमा निवेदन दर्ता गरे पनि कार्यतालिका रोक्न अदालतले आदेश नदिएको हुँदा दुई वटा महाधिवेशन हुने अवस्था आएको उनले उल्लेख गरेका छन् । अदालतमा विचाराधीन पुनरावलोकनको मुद्दालाई गम्भीरता रूपमा लिएर अग्राधिकारमा राख्ने प्रबन्ध गर्न उनले सर्वोच्च समक्ष आग्रह पनि गरेका छन् ।