शेखर कोइरालाले भने- म मध्यमार्गी हुँ, विभाजनबाट रोमाञ्चित हुन सक्दिनँ


काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पार्टीभित्रको मध्यमार्गी नेता भएको बताएका छन् । आफू मध्यमार्गी भूमिकामा नै लागिरहने भन्दै उनले दुवै पक्षलाई महाधिवेशन रोकेर छलफलमा बस्न पनि उनले अनुरोध गरेका छन् ।

बिहीबार एक अपिल जारी गर्दै नेता कोइरालाले आफू पार्टी विभागनबाट रोमाञ्चित हुन नसक्ने बताएका छन् । कोइरालाले पार्टी विभाजनतिर अघि बढेपछि आफू कसैप्रति आरोप प्रत्यारोप गर्न नचाहने बताएका छन्।

उनले भनेका छन्, ‘म को ठिक, को बेठिक, भनेर वकालत कसरी गर्न सक्छु ? कांग्रेस हुँ भन्ने तर आफ्नै साथीभाइ माथि असुरक्षा, अपमान र घृणा पैदा गरेर निर्माण गरिने कांग्रेसको महल माथि म बस्न सक्दिन ।’

मध्यमार्ग कठिन मार्ग भएको र यही मार्ग सत्यको बाटो पनि भएको उनको दाबी छ । ‘यही मार्ग कांग्रेसको मार्ग हो र यही मार्ग कांग्रेसको जीवन दर्शन हो । म आरोपित भएर, भइरहेको पनि छु, कांग्रेस र देशको लोकतन्त्र सफल भएको हेर्ने कांग्रेस सिपाही हुँ ।’

आज एक अपिल जारी गर्दै पार्टीलाई एकताबद्ध बनाउने प्रयत्न सफल हुने विश्वास व्यक्त गरे। उनले भने, ‘हाम्रो विवेक मरेको छ भन्ने कुरामा म किमार्थ विश्वास गर्दिन । हामी उठ्छौँ जुट्छौँ र जित्छौँ, यही भरोसा र विश्वासबाट साधारण भन्दा साधारण कांग्रेस पनि असाधारण र राष्ट्र निर्माणमा जुट्न सक्छ । यस अभियानमा म गाउँ टोलदेखि केन्द्र हुँदै विदेशसम्म बस्ने साथीहरूलाई पार्टीलाई एकताबद्ध राख्न दृढ सङ्कल्पका साथ यस अभियानमा जुट्न हार्दिक अनुरोध गर्दछु ।’

कांग्रेस एकता र राष्ट्र निर्माणको अभियानलाई फरकरुपमा बुझ्न नसक्ने भन्दै संवाद लिएर कांग्रेस एकताको लागि लाग्ने उनले उल्लेख गरेका छन् ।