कांग्रेस केन्द्रीय समिति बैठकमा देउवा पक्षीय नेताको लर्को


काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा देउवा पक्षीय धेरै नेता पनि सहभागी भएका छन् । कांग्रेस संस्थापन पक्षले अहिलेको केन्द्रीय समितिमा १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यलाई पनि समावेश गर्ने निर्णय गरेपछि कतिपय देउवा पक्षीय नेताहरु पनि बैठकमा सहभागी भएका छन् ।

कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुन चाहने १४औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका सदस्यका लागि अहिलेको केन्द्रीय समितिमा समायोजन गर्ने निर्णय गरेपछि पहिलो बैठक बसेको हो ।

हालसम्म देउवा समूहका भनेर चिनिएका महालक्ष्मी उपाध्यक्ष डिना, मीनबहादुर विश्वकर्मा, देवेन्द्रराज कँडेल, राजीवविक्रम शाह, ज्ञानेन्द्रबहादुर कार्की, मदनकृष्ण श्रेष्ठ, रामहरि खतिवडा सानेपा पुगेका छन् । महालक्ष्मी उपाध्याय डिना निवर्तमान सहमहामन्त्री हुन् ।

त्यस्तै, राधा घले, नैनसिंह महर, गोविन्द भट्टराई, जिपछिरिङ लामा, इश्वरी न्यौपाने, सरस्वती तिवारी, शान्ति विक परियार, गणेश लामा सानेपा पुगेका छन् । शेखर कोइराला पक्षकी किरण यादव पनि सानेपामा छिन् । प्रदेश सभापति तथा बागमतीका पूर्व मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ पनि सानेपा पुगेका छन्।

नेता मीनबहादुर विश्वकर्माले अहिले ५१ जना नेताहरू आएको जानकारी दिए । थप नेताहरू पनि आउने उनको भनाइ थियो । ‘हामी केन्द्रीय कार्यालय आएका छौं, १५औं महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनका लागि सबै तहबाट पहल गरौं भन्ने हाम्रो अपिल छ,’ उनले भने।