चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा थप एक शव फेला, मृतकको संख्या पाँच पुग्यो


काठमाडौं । रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र बुधबार थप एकजनाको शव फेला परेको छ । खोज तथा उद्धारमा खटिएको टोलीले सुरुङभित्रबाट शव फेला पारेको हो । चिलिमे जलविद्युत् आयोजनाको सुरुङमा थप एक शव फेला, मृतकको संख्या पाँच पुग्यो ।

यससँगै चिलिमे आयोजनाको सुरुङभित्र फेला परेका शवको संख्या पाँच पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका संरचनामा ठूलो क्षति पुर्‍याएको थियो । बाढीपछि चिलिमेसहितका आयोजनामा कार्यरत केही कामदार तथा कर्मचारी सम्पर्कविहीन छन् ।

सुरुङभित्र मानिसहरू फसेको आशंकामा नेपाली सेना, सशस्त्र प्रहरी तथा आयोजनाका प्राविधिकसहितको संयुक्त टोलीले खोज तथा उद्धार जारी राखेको छ । सुरुङमा बाक्लो लेदो तथा भग्नावशेष भरिएका कारण उद्धार कार्य चुनौतीपूर्ण बनेको छ ।

चिलिमे आयोजनामा उद्धार टोली र उपकरण पुर्‍याउन पहुँचमार्ग निर्माण तथा लेदो हटाउने कामसमेत अघि बढाइएको थियो । पछिल्लो समय नेपाली तथा विदेशी विशेषज्ञसहितको संयुक्त टोलीले सुरुङ क्षेत्रमा खोजीलाई तीव्रता दिएको छ ।

भोटेकोशी बाढीबाट रसुवा र नुवाकोटका विभिन्न जलविद्युत् आयोजनाका सुरुङ, विद्युतगृह, पहुँचमार्ग तथा अन्य संरचनामा क्षति पुगेको छ । प्रभावित आयोजनामा बेपत्ता कामदार तथा कर्मचारीको खोजी कार्य अझै जारी छ ।