स्थानीयले मेलम्चीका गाडी र कर्मचारीलाई कार्यलय पस्न रोके, संसद्मा ध्यानाकर्षण


काठमाडौं । मेलम्चीका स्थानीयले खानेपानी आयोजनाका गाडी र कर्मचारीलाई कार्यलय पस्न रोकेर आन्दोलन थालेका छन् । मेलम्ची खानेपानी पीडित भेन्डर संघर्ष समितिले आन्दोलन थालेका हुन् ।

नेकपा सांसद युवराज दुलालले प्रतिनिधि सभाको शून्य समयमा बोल्दै भेन्डर्स संघर्ष समितिले सरकारबाट पाउनु पर्ने रकम तुरुन्त उपलब्ध गराउन माग गर्दै आन्दोलन थालेको जानकारी दिए । यस्ता आन्दोलनबाट आयोजनालाई निरन्तरता दिन समस्या हुने पनि उनले बताए ।

यसअघि पनि मेलम्ची बाढी पीडित संघर्ष समितिले पनि पटक पटक आन्दोलन गर्दै आएको थियो । सरकारले संघर्ष समितिहरुसँग करिब दर्जन पटक सहमति भए पनि कार्यान्वयन नभएको दुलालले बताए । उनले भने, “मेलम्ची बाढी र खानेपानीबाट पीडित बाढी प्रभावित संघर्ष समिति र भेन्डर्स संघर्ष समितिले यसअघि पनि एक दर्जन पटक आन्दोलन र सरकारसँग सहमति भएका छन् । तर कार्यान्वयन भएको छैन ।”

बाढी प्रभावितले नदीले क्षति पुर्याएको संरचना र सडक पुनर्निर्माणको माग राखेको दुलालको भनाइ छ । पीडितका माग नसुन्दा फेरि पानी पथान्तरण बन्द गर्नुपर्ने र आफूहरुले अवरोध भएको हेर्नु पर्ने अवस्था आउन नदिन उनले सचेत गराए । “पीडितको पक्षमा लाग्दा पानी बन्द गरेको समर्थन गर्नुपर्ने र नलाग्दा पीडित पीडितै भइरहने अवस्था हुन्छ,” उनले भने ।

उनले सरकारसमक्ष दुई वटा माग गरे । मेलम्चीबाट हेलम्बुसम्मको सडक र मेलम्चीबाट पाँचपोखरी जाने सडक अविलम्ब बहुवर्षीय ठेक्का गराउन माग गरेका छन्।

उनले मेलम्ची र इन्द्रावतीको तटीय क्षेत्र संरक्षणको माग पनि गरे । लोकल भेन्डर्सलाई बोलाएर सहमति गर्न पनि उनले माग गरे ।