विराट मेडिकल कलेजमा एचपीईडी–कन २०२६ राष्ट्रिय सम्मेलन हुँदै


विराटनगर । विराट मेडिकल कलेजअन्तर्गतको हेल्थ प्रोफेसन्स एजुकेसन डिपार्टमेन्ट (HPEd) ले आफ्नो स्थापनाको १०औँ वार्षिकोत्सवका अवसरमा एचपीईडी–कन २०२६(HPEd-CON 2026) राष्ट्रिय सम्मेलन आयोजना गर्ने भएको छ।

सम्मेलन आगामी असोज १, २ र ३ गते तीन दिनसम्म सञ्चालन हुनेछ। सम्मेलनको मूल विषय ‘स्वास्थ्य व्यवसाय शिक्षा क्षेत्रमा नेतृत्व : नवप्रवर्तन, समावेशिता र प्रभाव’ रहेको छ ।

सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षा अन्तर्गत चिकित्सा, नर्सिङ, एलाइड हेल्थ साइन्स, फिजियोथेरापी, पब्लिक हेल्थलगायत विभिन्न स्वास्थ्यसम्बन्धी विषयको पठनपाठनमा संलग्न शिक्षक, विद्यार्थी, नीतिनिर्माता तथा राष्ट्रिय-अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागिता रहनेछ ।

सम्मेलनमा स्वास्थ्य व्यवसाय शिक्षाको वर्तमान अवस्था, आगामी दिनमा सञ्चालन गरिने तालिम, शिक्षण प्रणालीमा आवश्यक सुधार तथा नेपालको स्वास्थ्य शिक्षा प्रणालीलाई समयसापेक्ष र अन्तर्राष्ट्रिय मापदण्डअनुकूल बनाउने उपायहरू बारे प्रस्तुति, छलफल तथा समूहगत अन्तरक्रिया गरिने जनाएकाे छ ।

त्यसैगरी स्वास्थ्य क्षेत्रमा देखिएका चुनौती तथा समस्याको सम्बोधन, गुणस्तरीय तथा सुरक्षित स्वास्थ्य सेवाको सुनिश्चितता, नयाँ प्रविधिको प्रयोग, पाठ्यक्रममा नवीन अवधारणाको समावेश तथा क्षमतामा आधारित चिकित्सा शिक्षाको कार्यान्वयनका अवसर, चुनौती र प्रभावबारे समेत गहन विमर्श गरिने आयोजकले जनाएको छ।

सम्मेलनले स्वास्थ्य व्यवसाय शिक्षा र स्वास्थ्य सेवा क्षेत्रको सुधारका लागि आवश्यक नयाँ दिशा, नीतिगत आधार तथा शैक्षिक मार्गदर्शन तय गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ ।

आयोजकका अनुसार सम्मेलनमा नेपाल, भारत, श्रीलंका र बेलायत (यूके) लगायतका देशबाट ३०० भन्दा बढी वरिष्ठ स्वास्थ्य शिक्षाविद् तथा स्वास्थ्य क्षेत्रका विज्ञहरू सहभागी हुनेछन् ।