डिजिटल संसद्को उद्घाटन, पुराना ढड्डा पनि ‘डिजिटलाइज्ड’ गर्ने योजना


काठमाडाैं । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘डिजिटल पार्लियामेन्ट प्लेटफर्म’को परीक्षणको संयुक्त उद्घाटन गरेका छन् ।

डिजिटल पार्लियामेन्ट परियोजनाले यो कार्यक्रम सुरु गरेको हो । डिजिटल संसदको माध्यमबाट संसदीय कामकारबाहीलाई प्रविधिमैत्री, पारदर्शी, प्रभावकारी र नागरिकमैत्री बनाइने संसद् सचिवालयले जनाएको छ ।

उद्घाटन कार्यक्रममा सभामुख अर्यालले संसद्का सूचना, विधेयकका अवस्था, क्यालेन्डर, सांसदहरूको उपस्थिति, समिति तथा उपसमितिका विवरणहरूलाई एउटै प्लेटफर्ममा समेट्ने गरी नयाँ प्लेटफर्म सञ्चालनमा ल्याइएको बताए । नेपालको संसदीय इतिहासका पुराना ढड्डा तथा दस्तावेजलाई डिजिटलाइज गरी सयौँ वर्षसम्म सुरक्षित राख्ने र अध्ययन–अनुसन्धानका लागि सहज हुने उनको भनाइ छ । व्यवस्थापिका मात्र नभई कार्यपालिका, न्यायपालिका तथा तीनै तहका सरकारहरूलाई पारदर्शी, नागरिकमुखी र जनताको विश्वास जगाउने दिशामा अघि बढाउन प्रविधिको प्रयोग अपरिहार्य रहेको उनको भनाइ छ ।

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले संसद्, संसदीय समिति र सचिवालयका कामकारबाहीलाई परम्परागत कागजी ढाँचाबाट डिजिटल प्रणालीमा लगेर छिटो, पारदर्शी, प्रभावकारी र जवाफदेही बनाउन सहज हुने विश्वास व्यक्त गरे । “संसद्‌मा युवा पुस्ताको उपस्थिति बढे पनि अझै कागजी दस्तावेज पढ्ने पुरानो बानी कायमै रहेकाले सांसद र कर्मचारीहरूका लागि उच्चस्तरीय, व्यावहारिक र सहज अभिमुखीकरण आवश्यक छ,” उनले भने ।

डिजिटल पूर्वाधार, डाटा सेन्टर, नेटवर्क, साइबर सुरक्षा, ई–लेजिस्लेसन तथा संसदीय अभिलेखलाई डिजिटल आर्काइभमा सुरक्षित गर्ने विषयलाई पनि प्राथमिकताका साथ अघि बढाउनुपर्नेमा कार्यक्रममा जोड दिइएको छ । डिजिटल पार्लियामेन्टलाई प्रविधि खरिदमा मात्र सीमित नराखी नेपालको संसदीय अभ्यासलाई डिजिटल युगअनुकूल रूपान्तरण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्ने कार्यक्रमका वक्ताले बताए ।

अहिले संसद् सचिवालयले प्रयोग गरिरहेको वेबसाइटमा नै सचिवालयले सूचनाहरू राख्ने गरेको छ । सांसदहरूले बोलेको भिडीयोमै उपलब्ध हुन्छ । लिखित रूपमा भने सचिवालयको पुस्तकालयमा सुरक्षित राख्ने गरिएको छ । युट्युब च्यानलमार्फत पनि अधिवेशनको प्रत्यक्ष प्रसारण हुन्छ । अब भने अधिवेशनका गतिविधि अक्षरमा उतारेर डिजिटल माध्यमबाट दिइने छ ।