सुनसरीका पाँच पालिकामा कर्फ्यूको समय थप


सुनसरी । प्रदर्शन नरोकिएपछि सुनसरीको सदरमुकाम इनरुवा लगायत पाँच पालिकामा आइतबार थप कर्फ्यू लगाइएको छ ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले हरिनगरा गाउँपालिका र अन्य स्थानमा आंशिक रुपमा कर्फ्यू लगाइएको जानकारी दिएका छन् ।

हरिनगरा गाउँपालिकामा दर्जन बढीको संख्यामा रहेको समूहले स्थानीय जीवन मेहतालाई मरनासन्न हुनेगरी कुटपिट गरेपछि अशान्त बनेको छ।

दुई समूहबीच भएको कुटपिटका कारण यहाँ सामाजिक सद्भाव भड्कन नदिन र जनताको जीउधनको सुरक्षाका लागि कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

सदरमुकाम इनरुवा नगरपालिका तथा कोशी, भोक्राहा नर्सिङ गाउँपालिका र देवानगन्जको १,३,४,५ र ६ नम्बर वडामा दिउँसो १ बजेदेखि ५ बजेसम्म कर्फ्यू लगाइएको छ ।