काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जुगल हिमाल चढ्ने नेपाल र दक्षिण कोरियाका दश पर्वतारोहीलाई विदाइ गरेका छन् । शनिबार जुगल हिमाल चढ्न जाने आरोहीलाई प्रधानमन्त्रील्े सफलताका लागि शुभकामना दिँदै ‘नेपाल कोरिया फ्रेन्डसिप एक्सपिडिसन २०२४’ मा सहभागीलाई नेपाल र कोरियाको झण्डा हस्तान्तरण गरी विदाइ गरेका हुन् ।
१५ वैशाखसम्म नेपालका तीन र दक्षिण कोरियाका सात पर्वतारोहीले जुगल हिमाल आरोहण यात्रा तय गर्नेछन् । नेपाल र कोरियाबीच दौत्य सम्बन्ध स्थापना भएको ५० वर्ष पूरा भएको अवसरमा आरोहण गर्न लागिएको हो ।
जुगल काठमाडौँबाट सबैभन्दा नजिक पर्ने हिमालसमेत हो । विसं २०७९ चैत २८ गतेको सरकारले सिन्धुपाल्चोकस्थित जुगल हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको थियो । जुगल हिमाल क्षेत्रका पाँच वटा हिमाल आरोहणका लागि खुला गरिएको छ ।
आरोहण टोलीमा कोरियाली विख्यात आरोही तथा नेपालका मानार्थ नागरिक अमहोङ गिलले नेतृत्व गर्नेछन् भने नेपालको तर्फबाट कीर्तिमानी आरोही तथा सङ्घका प्रथम उपाध्यक्ष दावा याङ्जुम शेर्पाले नेतृत्व गर्ने जनाइएको छ ।
यो टोलीले १३ वैशाख २०८१ मा चुचुरो चढी काठमाडौं फर्कने योजना बनाएको छ । यो आरोहणलाई नेपाल सरकार, पर्यटन बोर्डले समेत सहयोग गर्ने जनाइएको छ । यसअघि सरकारले उक्त हिमाल आरोहणमा लाग्ने रोयल्टी दस्तुर मिनाहा गरेको थियो ।



प्रतिक्रिया