बम विस्फोट हुँदा हाँस्न सिकेकी तीनवर्षे बालिकालाई लगियो टर्की


सिरियामा बम पड्केको आवाज सुन्दा हाँस्ने एक तीनवर्षे बालिकालाई उद्धार गरी टर्कीको एउटा सुरक्षित स्थानमा लगिएको छ।

सल्वा नाम गरेकी ती बालिकाका पिताले हवाई आक्रमण हुँदा निस्किने ठूलो आवाजबाट उनी भयभीत नहून् भनेर हाँस्न सिकाएका थिए।

गत महिना भाइरल भएको एउटा भिडिओका कारण उनी चर्चामा आएकी थिइन्। त्यो भिडिओमा युद्धक विमानले बम आक्रमण गर्दा विस्फोटन भएको सुनेर उनी घरभित्र हाँसिरहेको देखिन्छ।

त्यसको एक हप्तापछि टर्कीको सरकारले ती बालिका र उनका अभिभावकलाई सीमा पार गरेर टर्की जान सहयोग गरेको बुझिएको छ। सिरियाली भूभागमा पर्ने इड्लिब प्रान्तमा विद्रोहीहरूको नियन्त्रण छ।

उक्त क्षेत्रमा टर्कीले सघाएको विद्रोही समूह र सिरियाली सेनाबीच भीषण युद्ध सुरु भएपछि गत डिसेम्बरयता झन्डै १० लाख मानिस भागेर सिरिया र टर्कीको सीमा क्षेत्र पुगेका छन्।

सल्वा र उनका पिता अब्दुल्ला मोहम्मदले हवाई आक्रमण झेल्ने अनौठो उपाय प्रयोगमा ल्याएका थिए। अब्दुल्लाले छोरीलाई विस्फोटन भएको सुन्दा हाँस्न सिकाए।

बच्चाहरूले पटका पड्काउँदा निस्किएको आवाज सुनाउँदै उनले त्यसरी पनि रमाउन सकिन्छ भनेर छोरीलाई विश्वस्त पारेका थिए।

उक्त भिडिओका कारण उनीहरूप्रति सहानुभूति बढ्यो र उनीहरूलाई त्यहाँबाट भाग्न सहयोग गर्न टर्की सरकारलाई अग्रसर बनायो।