सिंगापुर । एआई क्षेत्रमा लगानीसम्बन्धी चिन्ताले गत साता प्रविधि तथा चिप्स कम्पनीका शेयरमा भारी गिरावट आएपछि सोमबार अमेरिकी शेयर बजारका फ्युचर्समा सुधार देखिएको छ । यता, एसियाली बजारमा आएको गिरावट रोक्न विभिन्न देशका अधिकारीहरू सक्रिय भएका छन् ।
एआई उपकरण सञ्चालनका लागि डाटा सेन्टर निर्माणमा ऋणसहित ठूलो रकम खर्च भइरहेको भए पनि त्यसबाट पर्याप्त प्रतिफल प्राप्त हुने र लगानी तथा ऋणको औचित्य पुष्टि हुने विषयमा लगानीकर्ताले प्रश्न उठाउन थालेका छन् । यही चिन्ताले एआईसँग सम्बन्धित कम्पनीहरूको शेयर मूल्यमा दबाब परेको हो ।
गत साता नास्डाक सूचक १० प्रतिशत घटेको थियो । यो मार्च २०२० मा कोरोना महामारीका कारण बजारमा त्रास फैलिएको समयपछिको सबैभन्दा ठूलो साप्ताहिक गिरावट हो । ताइवानको प्रमुख शेयर सूचक पनि सन् १९९० यताकै ठूलो गिरावटमा परेको थियो । ताइवान विश्वका प्रमुख उन्नत चिप निर्माता कम्पनीहरूको केन्द्र तथा एआई आपूर्ति शृङ्खलाको महत्वपूर्ण हिस्सा हो ।
सोमबार प्रारम्भिक कारोबारमा ल्बकमबत्र १०० फ्युचर्स करिब तीन प्रतिशत र क्७ए ५०० फ्युचर्स दुई प्रतिशत बढेका थिए । ताइवानको शेयर बजार स्थिर देखिएको थियो भने दक्षिण कोरियाको शेयर बजार करिब चार प्रतिशत घटेर १० महिनायताकै न्यून स्तरमा पुगेपछि पुनः केही समर्थन पाएको थियो ।
दक्षिण कोरियाका अर्थमन्त्रीले सोमबार बजार स्थिरीकरण कोष सम्भावनाबारे पत्रकार सम्मेलन गर्ने कार्यक्रम रहेको छ । उक्त सम्भावित कदमले बजारमा थप गिरावट रोक्न सहयोग गरिरहेको बताइएको छ । सिड्नीस्थित विल्सन एसेट म्यानेजमेन्टका पोर्टफोलियो रणनीतिकार डेमियन बोयले बजारको अवस्थाप्रति सावधानी अपनाउनुपर्ने बताएका छन् ।
उनका अनुसार आफूले निगरानी गर्ने विभिन्न मनोभाव सूचकहरूले गत साता अमेरिकी बजार तीन कारोबार दिन ‘आतंक’ को अवस्थामा रहेको देखाएका थिए । यस्तो अवस्था कहिलेकाहीँ गिरावटको अन्तिम चरणको संकेत हुन सक्छ, तर यस पटक बजारको दिशा परिवर्तन गर्न पर्याप्त गति नहुन सक्ने उनले बताए ।
‘केन्द्रीय बैंकहरूको नीतिमा परिवर्तन नभए जोखिम लिन लगानीकर्ताको मनोभावमा आएको त्रासलाई स्थायी सुधारमा बदल्ने कुनै उत्प्रेरक हुँदैन,’ उनले भने । यसले लगानीकर्तालाई अझ अनिश्चित र सतर्क बनाएको उनको भनाइ छ ।सोमबार जापानी बजार सार्वजनिक बिदाका कारण बन्द रहे पनि फ्युचर्सले बिक्रीको दबाब संकेत गरेका थिए । हङकङ र चीनका बजार पनि केही महिनायताकै न्यून स्तरमा झरेका थिए ।
विगत केही वर्षदेखि एआई क्षेत्रमा भइरहेको लगानीले स्विच तथा केबल निर्माता कम्पनीदेखि विद्युत् उत्पादन कम्पनीसम्मका विभिन्न शेयरलाई उचाल्दै आएको थियो । तर पछिल्ला महिनाहरूमा बढ्दो ब्याजदरका कारण ती क्षेत्रका शेयरहरू पनि दबाबमा परेका छन् ।

प्रतिक्रिया