बीबीसी । संयुक्त राष्ट्रसंघको जलवायु सम्मेलन (कोप३१) मा जलवायु परिवर्तन नियन्त्रणका लागि नयाँ महत्वपूर्ण सम्झौतामा सहमति जुट्न सकेन। टर्कीमा आयोजित सम्मेलनमा जीवाश्म इन्धन र जलवायु प्रभावित गरिब मुलुकलाई वित्तीय सहयोग गर्ने विषयमा गहिरो मतभेद देखिएपछि सम्मेलन ठोस सहमतिबिना टुंगिएको हो।
शुक्रबार सम्पन्न हुनुपर्ने वार्ता सहमति खोज्ने प्रयासमा आइतबारसम्म लम्बिएको थियो। यससँगै सम्मेलन संयुक्त राष्ट्रसंघको इतिहासमा सबैभन्दा लामो जलवायु सम्मेलन बनेको छ।
तर अन्तिम सम्झौता युरोपेली संघ (ईयू), प्रशान्त क्षेत्रका टापु राष्ट्रहरू लगायतका देशलाई स्वीकार्य भएन। सम्झौतामा विश्व तापक्रम वृद्धि गराउने प्रमुख कारण मानिएको जीवाश्म इन्धनको विषयलाई प्रत्यक्ष रूपमा उल्लेख नगरिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएका छन्।
यता, तापक्रम वृद्धिका असरबाट अनुकूलन गर्न धनी देशले गरिब मुलुकलाई सहयोग गर्ने विषयमा स्पष्ट वित्तीय प्रतिबद्धता नसमेटिएको भन्दै विकासशील देशहरूले पनि सम्झौताप्रति आपत्ति जनाएका छन्।
सन् २००९ मा कोपेनहेगनमा आयोजित जलवायु सम्मेलनपछि मुख्य राजनीतिक सम्झौता यसरी संकटमा परेको यो पहिलो पटक हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले आफ्नो कार्यकालको अन्तिम कोप सम्मेलनमा नतिजाप्रति ‘गहिरो निराशा’ व्यक्त गरेका छन्।
गुटेरेसले जीवाश्म इन्धनको शक्तिशाली स्वार्थ समूहप्रति आलोचना गर्दै उनीहरूले ‘ठूला तम्बाकु कम्पनीहरूको रणनीति’ अपनाएको आरोप लगाए। विज्ञानलाई तोडमोड गर्ने, नीतिगत निर्णयमा ढिलाइ गराउने, कार्यवाही रोक्ने र ठूलो नाफा कमाउने तर त्यसको मूल्य सर्वसाधारणले चुकाउनुपर्ने अवस्था सिर्जना गरिएको उनको भनाइ थियो।
सम्मेलन सहआयोजन गरेको अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले वार्ताको असफलतालाई कठिन भू–राजनीतिक परिस्थितिको परिणाम बताएका छन्। उनले सोमबार भने, ‘यही वास्तविकता हो।’
दुई साताको वार्तापछि गत आइतबार बिहान गतिरोध तोड्ने प्रयासस्वरूप सम्झौताको नयाँ मस्यौदा प्रतिनिधिहरूसमक्ष प्रस्तुत गरिएको थियो। तर मस्यौदामा ‘जीवाश्म इन्धन’ शब्द कतै उल्लेख थिएन। कोइला, तेल र ग्यासलाई अप्रत्यक्ष रूपमा उल्लेख गर्दै सन् २०२३ को कोप–२८ मा ऊर्जा प्रणालीबाट जीवाश्म इन्धन क्रमशः हटाउँदै जाने सहमतिलाई मात्र स्मरण गरिएको थियो।
ईयूका प्रतिनिधि तथा आयरल्यान्डका मन्त्री डाराग ओब्रायनले सम्झौताप्रति ईयूको कडा असहमति जनाउँदै जलवायु परिवर्तन नियन्त्रणका लागि आवश्यक महत्वाकांक्षाको स्तरभन्दा निर्णयहरू निकै कमजोर रहेको बताए।‘जीवाश्म इन्धनको उल्लेख नै नगर्ने जलवायु सम्झौता हुनु अस्वीकार्य छ,’ उनले भने।
पनामा र मार्शल आइल्यान्ड्स लगायतका देशले पनि जलवायु परिवर्तनको तीव्रता नियन्त्रण गर्न सम्झौता पर्याप्त नभएको भन्दै आलोचना गरेका छन्। सोमबार प्रस्तुत गरिएको सम्झौताको पहिलो मस्यौदामा ‘जीवाश्म इन्धन’ शब्द छ पटक उल्लेख गरिएको थियो। तर तेल उत्पादन गर्ने देशहरूका लागि त्यो मस्यौदा स्वीकार्य भएन।
साउदी अरबका प्रतिनिधि मोहम्मद अयुबले अरब देशहरूले इमानदारीपूर्वक वार्तामा सहभागिता जनाउँदै आएको बताएका थिए। उनले ऐतिहासिक हरितगृह ग्यास उत्सर्जनमा अरब देशहरूको योगदान तुलनात्मक रूपमा कम रहेको तर्क गरे।
रुसले कोइला, तेल र ग्यासको विषयमा ‘नारा लगाउने प्रवृत्ति’ अपनाउन नहुने चेतावनी दिएको छ। जीवाश्म इन्धनबाट अत्यधिक छिटो टाढिँदा ऊर्जा अभाव र इन्धन गरिबी निम्तिन सक्ने रुसको दाबी थियो।

प्रतिक्रिया